नेपालगन्ज । धावनमार्ग कालोपत्रे गरिने भएपछि सोमबार देखि नेपालगञ्ज विमान स्थलबाट हुने सन्धयाकालिन सेवा रोकिएको छ । नागरिक उडड्यन प्राधिकरण कार्यालय नेपालगन्जका प्रमुख प्रतापबावु तिवारीका अनुसार, दिउँसो ३ बजेदेखि साँझ ६ बजेसम्म उडान र अवतरण दुवै रोकेर काम सुरु गरिएको छ । धावनमार्गमा समस्या आउनुअघि नै कालोपत्रे गर्नुपर्ने मापदण्ड रहेको तिवारीले बताए ।

१५ गते सोमबार देखि फाल्गुन २० गते सम्म धावन मार्ग मर्मत कार्य गर्नुपर्ने भएकाले सन्ध्याकालीन विमान सेवा बन्द रहने भएको हो । धावन मार्ग कालोपत्रे गरिने भएपछि दैनिक ९ घण्टामात्रै विमानस्थल खुला रहने भएको छ । ५÷७ बर्षको अवधिमा धावनमार्ग कालोपत्रे गर्नुपर्ने नियमित कार्य अन्तर्गत् यो पटक ३५ दिन लगाएर कालोपत्रे गरिन लागिएको छ ।

बाक्लो हुस्सुका कारण विहानी उडान नियमित नभइरहेका बेला सोमबार देखि सन्ध्याकालिन सेवा रोकिएपछि हवाइ यात्रुलाई भने मर्का परेको छ । नेपालगन्जको राझा विमानस्थलबाट काठमाडौं, कर्णालीका पहाडी जिल्लाहरुमा डेढ दर्जनबढि उडान हुने गरेको छ । सामान्य अवस्थामा विमानस्थल चौबिसै घण्टा खुला रहने तिवारीले बताए ।

तपाईको प्रतिक्रिया