काठमाडौं, १८ माघ । निर्वाचनमा झण्डै जमानत जफत भएका नेपाली कांग्रेसका नेताहरू नेतृत्वको आलोचना गरेर सडकमै उत्रिएका छन् । उनीहरूलाई एनजिओले उकासेर कांग्रेस नेतृत्वको विरोध गर्न लगाएका हुन् । यूनाइटेड पोष्ट साप्ताहिकले समाचार छापेको छ ।

भक्तपुर जिल्लामा कांग्रेसबाट प्रतिनिधि सभामा टिकट पाएर एमालेका युवा नेता महेश बस्नेतसँग भारी मतअन्तरले पराजित भएका नेता दमननाथ ढुंगानाको उक्साहटमा केन्द्रीय सदस्य चन्द्र भण्डारी र धनराज गुरुङले सडकमा उत्रिएर नेतृत्वको आलोचना गरेका हुन् । पश्चिमा राष्ट्रहरूको स्वार्थमा काम गर्दै आएका ढुंगानाले भण्डारी र गुरुङलाई प्रयोग गर्न थालेका छन् ।

उनै दमननाथ ढुंगाना अध्यक्ष रहेको कृष्णप्रसाद भट्टराई प्रतिष्ठानको ब्यानरमा भण्डारी र गुरुङले मंगलबार नयाँ बानेश्वरको सडकमा बसेर जुत्तामा पालिस गरे ।

उनीहरूले पूर्वमन्त्री राजेन्द्र खरेलको जुत्तामा पालिस लगाएर कांग्रेस नेतृत्वको विरोध गरेका हुन् । यो प्रतिष्ठानमा कांग्रेसबाट अस्वीकृत भइसकेका होमनाथ दाहाल उपाध्यक्ष छन् भने विनोदकुमार भट्टराई महासचिव छन् ।

‘राजनीतिक सुद्धीकरण अभियान’ नाम दिइएको जुत्ता पालिसको हल्काफुल्का कार्यक्रमको सामाजिक सञ्जालमा एनजिओकर्मीहरूले समर्थन जनाए पनि कांग्रेसप्रति शुभेच्छा राख्नेहरूले विरोध गरेका छन् ।

कृष्णप्रसाद भट्टराई प्रतिष्ठानका पदाधिकारीहरूको सुझावमा केही दिन अगाडि ललितपुरको बाडेगाउँमा अवस्थित आश्रममा आयोजित भट्टराईको कार्यक्रममा कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवासहितका नेताहरूलाई अपमान गरिएको थियो । सो कार्यक्रममा एमालेका अध्यक्ष केपी ओलीलाई प्रमुख अतिथि बनाइएको थियो ।

निर्वाचनमा टिकट नपाएको रिस कांग्रेस नेतृत्वसँग केन्द्रीय सदस्य गुरुङले विभिन्न फोरममार्फत फेर्दै आएका छन् । सार्वजनिक लेखा समितिको सदस्य रहेका बेला गुरुङले अकुत सम्पत्ति कमाएको आरोप छ ।

गुरुङको विवादास्पद छविकै कारण टिकट नदिएको एक नेताले बताए । अर्का केन्द्रीय सदस्य भण्डारी पराजित नेता हुन् । आफ्नो कार्यकालभरि कुनै पनि उल्लेख्य काम गर्न नसकेका भण्डारीले आफू पराजित हुनुमा कांग्रेस नेतृत्व रहेको आरोप लगाउँदै आएका छन् ।

त्यसैगरी नेता ढुंगाना सधै एनजिओ र विखण्डनकारी सिके राउत जस्ता नेताहरूको बचाउमा हिँडे । कांग्रेसले टिकट दियो । तर, जित्न सकेनन् ।

बरु असन्तुष्ट समूहलाई उचालेर कांग्रेसलाई कमजोर बनाउन ढुंगाना लागेका छन् । ढुंगाना, गुरुङ र भण्डारीको गतिविधिले कांग्रेसलाई फाइदाभन्दा पनि बेफाइदा भइरहेको नेताहरूको भनाई छ ।

तपाईको प्रतिक्रिया