तम्घास-खाम्सेपानी-नयाँगाउँ-नादी-सुर्यटारी सडक जिल्लाको क्षेत्रीय तथा पर्यटकीय महत्वको बहुवर्षीय सडक हो । गत असार ३ गते बज्रगुरु कन्स्ट्रक्सन प्रालिले यो सडक निर्माणको जिम्मा पायो ।

सडकको कुल लागत ३२ करोड चार लाख सात हजार नौ सय ७२ रुपैयाँ हो । बज्रगुरु कन्स्ट्रक्सन प्रालीले झण्डै साढे तीन करोडको काम सकेर तम्घास सिमलटारी प्युठान सडक आयोजना गुल्मीमा बिल भरपाई पेश गरेको छ ।

यो जिल्लाका बहुवर्षीय सडकमध्ये सबैभन्दा बढी बजेट भएको सडक भएको तम्घास सिमलटारी प्युठान सडक आयोजनाले जनाएको छ ।

साढे तीन करोडको काम सम्पन्न गरेको यो निर्माण कम्पनीले अहिलेसम्म एक रुपैयाँ नलिएको सडक आयोजनाका सहायक लेखापाल लालमणी भण्डारीले बताए ।

त्यस्तै, खज्र्याङ-चारपाला-गौडाकोट-जुभुङ्ग-मजुवा-शान्तिपुर सडक निर्माणको लागि ११ करोड ७३ लाख २६ हजार चार सय ५२ को ठक्का सम्झौता भएको छ ।

निर्माणको जिम्मा पाएको आशिष हरि हरि पन्थ जेभीले अहिलेसम्म एक करोड ५० लाख रुपैयाँबराबरको काम सकेको छ । तर, एक रुपैयाँ अहिलेसम्म भुक्तानी पाएको छैन ।

त्यस्तै, राक्से-पौदी अमराई-कल्यार-इस्मा रजस्थल-फुलबारी सडकको अवस्था पनि उस्तै छ । यो सडक कुल छ करोड ४३ लाख तीन हजार नौ सय १६ रुपैयाँमा रामेछाप शेर्पा कन्स्ट्रक्सनले निर्माणको जिम्मा लिएको छ ।

अहिलेसम्म साढे दुई करोडको काम गरेपनि सम्झौता अनुसारको एउटा बिल पनि भुक्तानी नभएको निर्माण कम्पनीका संचालक वीरेन्द्र भुसालले बताए ।

रामेछाप शेर्पा कन्स्ट्रक्सनले अर्को झण्डै १० करोडको रातडाँडा-मुसिकोट-पौदी अमराई-नेटा दर्लिङ्ग-ह्वाङदी सडक निर्माणको काम पनि गरिरहेको छ ।

भुसालका अनुसार त्यो सडकको पनि दुई करोड रुपैयाँबराबरको काम सकिए पनि भुक्तानी भएको छैन ।

६७ सडकको ४४ करोड भुक्तानी बाँकी क्षेत्रीय तथा बहुवर्षीय पर्यटकीय महत्वका १५ वटा सडकको एक रुपैयाँ पनि भुक्तानी भएको छैन भने ५२ वटा अन्य शहरी सडकहरुको अवस्था पनि उस्तै रहेको छ ।

यी सडक हेर्ने सरकारी निकाय तम्घास सिमलटारी प्युठान सड्क आयोजना हो । आयोजनाका अनुसार बहुवर्षीय र अन्य शहरी सडक गरी झण्डै ४५ करोड रकम निर्माण कम्पनीहरुलाई भुक्तान गर्न बाँकी छ ।

विभिन्न समयमा टेन्डर भएर कामको आधारमा ४४ करोड ७२ लाख आठ हजार नौ सय ७२ रुपैयाँ निर्माण कम्पनीलाई दिन बाँकी रहेको तम्घास सिमलटारी प्युठान सडक आयोजनाका प्रमुख सुजन अधिकारीले जानकारी दिए ।

काम सम्पन्न गरेका निर्माण व्यावसायीहरूले प्रति कम्पनी दुई लाखदेखि तीन करोड रुपैयाँसम्म भुक्तानी लिनुपर्ने छ ।

‘धेरै निर्माण व्यावसायीहरुले काम सम्पन्न गरेर भुक्तानी मागेका छन्,’ आयोजना प्रमुख अधिकारीले भने, ‘मन्त्रालयबाट रकम नआउँदा भुक्तानी दिन मुस्किल परेको छ ।’

निर्वाचनको कारण राज्यसँग पनि रकम नभएको हुनसक्ने बताउँदै अधिकारीले पुस मसान्तसम्मको संकलित राजस्वबाट केही रकम भए पनि आउने आशा व्यक्त गरे ।

राज्यले निर्माण व्यावसायीसँग सम्झौता गरेर काममा लगाएपछि बजेटनै कटौती गरेर निराश बनाएको अधिकारी बताए ।

‘राज्यले नै सम्झौता गरेर काम लगाएपछि बजेटको व्यावस्था हुनुपर्छ,’ उनले भने, ‘बिडम्बना अहिलेको बजेटमै बजेट शीर्षक छुटेको छ । जसका कारण अर्थ मन्त्रालयले बजेट पठाउन सकेको छैन ।’

सबै सडकका काम रोकिने खतरा समयमै रकम नआउँदा पूरा हुने अवस्थामा रहेका आयोजनाहरु पनि केही रोकिएका छन् । केही समयनै यो अवस्था रहे सबै रोकिने भएका छन् ।

साइन कन्स्ट्रक्सन प्रालि अनाम नगरले जिल्लाका तीनवटा अन्य शहरी सडकको काम गरिरहेको छ । प्रालिका संचालक चुरा खत्रीले अबको केही दिनमा आयोजनाले रकम भुक्तान नगरे सबै काम रोकिने बताए ।

‘असार मसान्तपछि एक सुको पाइएको छैन, घर खेत हुने अवस्था आयो,’ उनले भने, ‘सय कडा पाँच रुपैयाँका दरले क्रृण खोजेर काम गरेका छौँ ।’

अहिले मेसिन, पेट्रोल पम्प, राशन र कामदारलाई पैसा तिर्न अत्यन्तै गाह्रो भएको उनले गुनासो गरे । आफूहरूको प्रतीक्षा धेरै भएकाले कार्यालयमै आएर ताला लगाउने चेतावनी दिए ।

धेरै ठाउँका सडकमा काम गरिरहेका कामदारहरू पनि ठेकेदारले पैसा दिन नसकेपछि छोड्नुपर्ने अवस्थामा पुगेका छन । तम्घास सिमलटारी सडकखण्डमा काम गरिरहेका भीमबहादुर पुनले लामो समयदेखि काम गरेको पैसा नपाउँदा घरखर्च चलाउन मुस्किल परेको बताए ।

‘अब काम गर्ने अवस्था नै छैन । भएको सबै लगानी भैसक्यो,’ निर्माण व्यावसायी वीरेन्द्र भुसालले भने, ‘कामदारले घर घेर्ने अवस्था आएको छ ।’

उनले दिउँसोभरी काम गरेर बिहान बेलुका गुजरा चलाउने कामदारहरूलाई एकदमै समस्या भएको बताए ।नयाँ पत्रिकामा खबर छ ।

राज्यसँग निर्माण व्यवसायीको गुनासो गत असारदेखि झण्डै साढे ६ महिनाको व्यावसायीहरूले रकम पाउन सकेका छैनन । राज्यसँगको विश्वासमा लगानी गरे पनि काम सकेको लामो समयसम्म पैसा नपाउँदा काम गर्ने कि छोड्ने भन्ने अन्योल रहेको निर्माण व्यावसायीहरू बताउँछन् ।

‘अहिलेसम्म बजेट शून्य छ, तीन/चार करोडको काम गरिसकियो,’ निर्माण व्यवसायी संघ गुल्मीका अध्यक्ष नारायण पोखरेलले भने, ‘निर्माण व्यवसायीहरुलाई काम गर्न निकै गाह्रो परेको छ ।’

पोखरेलले अहिलेसम्म राज्यले क्षेत्रीय तथा पर्यटकीय महत्वका र अन्य शहरी सडका लागि बजेटको कुनै व्यावस्था नगरेकाले निर्माण व्यवसायीहरुले कति दिनसम्म लगानी गर्ने भन्नेबारे टुंगो नै नभएको बताए ।

निर्माण व्यावसायीले काम सम्पन्न गरेको १५ दिनमा भुक्तानी पाउनुपर्ने व्यवस्था भए पनि लामो समयदेखि आफूले झण्डै तीन करोड पाउन नसकेको श्रेष्ट कन्स्ट्रक्सनका संचालक हरिकुमार श्रेष्ठले बताए ।

पटक–पटक आयोजनाको ध्यानाकर्षण गराए पनि अर्थ मन्त्रालयले नै बजेट नपठाएको जवाफ आयोजनाले दिने गरेको निर्माण व्यावसायी श्रेष्ठले बताए ।

‘राज्यले नै काम गराएर पैसा नदिँदा अब कसरी काम गर्ने ?,’ उनले प्रश्न गरे, ‘यो अवस्थामा कसरी विश्वास हुन्छ ?’

तपाईको प्रतिक्रिया