काठमाडौं -नेपालका १७ वर्षीय युवा क्रिकेटर सन्दीप लामिछाने विश्वकै सबैभन्दा ठूलो र महँगो क्रिकेट लिग प्रतियोगिता इन्डियन प्रिमियर लिग (आइपिएल)मा आबद्ध भएपछि भारतीय समाचार संस्थाहरूमा समेत सनसनी मच्चिरहेको छ । लगातार भारतीय मिडियाले सन्दीपबारे कुनै न कुनै समाचार सम्प्रेषण गरिरहेका छन् । आइपिएल अक्सनको अन्तिम दिन दिल्ली डेयरडेभिल्सले सन्दीपलाई २० लाख भारुमा किनेपछिको माहोल अहिलेसम्म सकिएको छैन ।

भारतीय मिडियाले अस्ट्रेलियाका विश्व च्याम्पियन माइकल क्लार्ककै सहयोगमा सन्दीप आइपिएलसम्म पुगेको जनाएका छन् । यसैबीच, भारतको चर्चित पत्रिका टाइम्स अफ इन्डिया सन्दीपबारे थप रहस्य जानकारी लिन युएई पुगेको छ । आइसिसी डिभिजन–२ लिगको तयारीका लागि नेपाली टोली अहिले युएईमा छ । नेपाली टोलीसँगै युएईमा रहेका सन्दीपसँग टाइम्स अफ इन्डियाले कुराकानी गरेको छ । टाइम्स अफ इन्डियासँग सन्दीपले यस्तो भनेका छन् स्

हङकङमा पहिलो भेट मेरो क्रिकेट करिअरमा अस्ट्रेलियन विश्व च्याम्पियन माइकल क्लार्कले धेरै सहयोग गर्नुभएको छ । मैले उहाँलाई पहिलोपटक हङकङमा भेटेको थिएँ । हङकङमा बलिङ गरिरहँदा उहाँले मलाई देख्नुभएको थियो । हङकङ सिक्सेज क्रिकेट प्रतियोगिता चलिरहँदा म बलिङमा व्यस्त थिएँ । त्यहीवेला म उनको आँखामा परेँ । क्लार्क एकदम दयालु र सहयोगी मनका हुनुहुन्छ । उहाँलाई मैले सधैँ आत्मीय साथी र दाजुका रूपमा लिने गरेको छु । यतिवेला म क्लार्कको आँखाको नानी हुँ । अन्तर्राष्ट्रियस्तरमा मेरो क्रिकेट माथि पुर्‍याउनमा उहाँको देन भनिसाध्यै छैन । एक क्रिकेटर र व्यक्तिगत रूपमा उहाँको सधैँ सम्मान गर्छु ।

सुर्बसको अविस्मरणीय क्षण क्लार्ककै निमन्त्रणामा म अस्ट्रेलियामा सञ्चालन भइरहेको वेस्टर्न सुर्बस क्रिकेट क्लबमा आबद्ध भएँ । सोर्बसमा क्लार्कसँगै ब्याटिङ र बलिङ गरेको क्षण अहिलेसम्मकै अविस्मरणीय छ । युवाअवस्थामै विश्व च्याम्पियन क्रिकेटरसँग उठबस गर्नु सामान्य होइन । सुर्बसमा मैले जति दिन बिताएँ, ती दिन जीवनभर सम्झनामा आइरहनेछन् । युवा खेलाडीलाई एक्सपोजर प्रदान गर्न र हौलसा दिनमा क्लार्क निकै अगाडि हुनुहुन्छ ।

नेपाली प्रशिक्षकबाट सिकेँ सबैले मलाई भन्ने गर्छन्, ‘तिम्रो लेगबे्रेक निकै राम्रो छ, यस पक्षमा विकास गर्नुपर्छ । १७ वर्षको केटोको लेगब्रेक बलिङ उत्कृष्ट हुनुमा प्रशिक्षक राजु खड्काकै देन हो । चितवनमा प्रशिक्षण गर्दा राजु ९दाइ०ले मलाई लेगब्रेकबारे धेरै कुरा सिकाउनुभएको थियो । उहाँले मेरो प्रत्येक गल्ती सच्याउँदै जानुभयो । मेरो लेगब्रेक बलिङ यो स्तरसम्म पुग्नुका पछाडि राजु दाइको धेरै मिहिनेत छ ।

आइपिएलमा पर्ने ढुक्क आइपिएलको अक्सन सुरु भएपछि दिल्लीले ममाथि बोली लगाएको थियो । त्यसवेला म ढुक्कका साथ बसेको थिएँ । दिल्लीका प्रशिक्षक रिकी पोन्टिङ पनि मेरो बलिङबाट प्रभावित भएको सुनेको थिएँ । अर्को पक्ष भनेको आत्मविश्वास नभएका खेलाडी माथिल्लो स्तरसम्म पुग्न सक्दैनन् । ममा धेरै नै आत्मविश्वास थियो, त्यसैकारण आइपिएलमा आबद्ध भएको हुँ । दिल्लीले मलाई लिँदा एउटा सुनौलो अध्याय सुरु भएको सम्झेँ ।

नेपालमा एउटा मात्र रंगशाला हो, नेपालमा एउटा मात्र अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला छ । त्यसका बाबजुद हामी नेपाली क्रिकेटर माथिल्लो लेभलमै प्रतिस्पर्धा गरिरहेका छौँ । हामी नेपाली क्रिकेटर राष्ट्रको नाम अन्तर्राष्ट्रिय क्षेत्रमा राख्नका लागि खेल्छौँ । कोही पनि खेलाडी व्यक्तिगत स्वार्थ र नाम कमाउनका लागि खेल्दैनौँ । म आज दिल्लीसँग आबद्ध छु । कारण एउटै छ, नेपाली राष्ट्रिय क्रिकेट टोलीले अन्तर्राष्ट्रिय क्रिकेटमा राम्रो प्रदर्शन गरेका कारण म दिल्लीमा आबद्ध हुन पाएको हुँ । यदि नेपालले अन्तर्राष्ट्रिय क्रिकेटमा राम्रो प्रदर्शन र नतिजा ननिकालेको भए आज म आइपिएलको खेलाडी हुने थिइन होला ।नयाँ पत्रिकाले छापेको छ ।

सचिन र वार्नबाट प्रभावित बाल्यकालमा मलाई सचिन तेन्दुलकर र सेन वार्न अति नै मन परेका थिए । मेरो नजरमा यी दुई क्रिकेटर अहिलेसम्मकै उत्कृष्ट खेलाडी हुन् । मैले कहिले पनि सचिन र वार्नका खेल गुमाइन । टेलिभिजनमा उनीहरूको खेल सधैँ हेर्ने गर्थें । लाइभ हेर्न नपाउँदा म उनीहरूको खेल रेकर्डको माध्यमबाट पनि हेर्थें ।

तपाईको प्रतिक्रिया