मणि दाहाल-नेपालको पहिलो भूउपग्रह ‘नेपाली स्याट वान’ आगामी बैशाख ४ मा अन्तरिक्षमा प्रक्षेपण हुने भएको छ। अमेरिका, भर्जिनिया, वल्लोप्स द्वीपस्थित प्रक्षेपण केन्द्रबाट नेपालकाे पहिलो नानो भूउपग्रह प्रक्षेपण गर्न लागिएको हो। जापानमा अध्ययन गरिरहेका विद्यार्थी आभाष मास्केले ‘नेपाली स्याट वान’ नानो स्याटलाइट निर्माण गरेका हुन्।

‘हाम्रो प्रतिक्षाको समय सकिएको छ। अर्बिटल एटिकेले स्याटलाइट प्रक्षेपण गर्ने मिति जानकारी गराएको छ। अप्रिल १७ (बैशाख ४) का दिन नेपाली स्याटलाइट अन्तरिक्ष केन्द्रका लागि प्रक्षेपण गरिने तय भएको छ,’ जापानबाट मास्केले नेपालखबरसँग भने।नेपालको सूर्य चन्द्र झण्डा अंकित सो भूउपग्रह प्रक्षेपणका खर्च नेपाल सरकारले ब्यहोरेको छ। त्यसका लागि नेपाल सरकारले २ करोड रुपैया खर्च गरेको छ। अमेरिकामा निजी कम्पनी अर्बिटल एटिकेको सिग्नस एनजी इलाभेन मिसनबाट नेपालको पहिलो नानो स्याटलाइट प्रक्षेपण हुनेछ। अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र (आइएसएस)का कार्गो लिएर जाने एन्टारेस रकेटले नेपालसँगै श्रीलंकाको ‘रावण वान’ र जापानको युगुइसीमा नानो स्याटलाइट अन्तरिक्षमा प्रक्षेपण गर्नेछ। त्यसको करिब एक महिनापछि अन्तरिक्ष केन्द्रबाट पृथ्वी कक्षमा यो भूउपग्रह छोडिनेछ।१० सेन्टिमिटर लामो, १० सेन्टिमिटर चौडा र १० सेन्टिमिटर अग्लो भूउपग्रह मानिसका हातमा अटाउँछ। यो १ किलो ३३० ग्रामको छ।

नेपाल वान भूउपग्रह पृथ्वीका सतहभन्दा चार सय किलोमिटरमाथि अन्तरिक्षमा रहनेछ। प्रत्येक ९० मिनेटमा पृथ्वीका एक चक्कर चलाउने यो भूउपग्रहले दैनिक १६ पटक पृथ्वीका परिक्रमा गर्नेछ। त्योमध्ये दैनिक चार पटक नेपालको आकाशमा आइपुग्नेछ। जापानस्थित क्युशु इन्स्टिच्युट अफ टेक्नोलोजी(क्युटेक)मा भूउपग्रह प्रविधिमा विद्यावारिधी गदै मास्केले क्युटेकको बर्ड्स परियोजना अन्तर्गत छात्रवृत्तिमा नानो भूउपग्रह निर्माण गरेका हुन्। जापानले आफ्नो छुट्टै अन्तरिक्ष अनुसन्धान कार्यक्रम नभएका देशहरुलाई सहयोग गर्न ज्वाइन्ट ग्लोबल मल्टिनेसनल बर्डस् स्याटलाइट परियोजना सञ्चालन गर्दै आएको छ।जापान एरोस्पेस एक्लोरेसन एजेन्सी (जाक्सा) ले गत बिहीबार नेपाली भूउपग्रहको स्ट्यान्डर्ड, सेफ्टी र फिट टेस्ट गरेको थियो। जाक्साको सुकुबा स्पेश सेन्टरमा भएको परीक्षण सफल भएको छ।

चन्द्र सूर्य अंकित पहिलो नेपाली भूउपग्रह ‘नेपाल स्याट–वान’को ‘हार्डवेयर’ परीक्षण सफल भएको छ। जापानस्थित क्युशु इन्स्टिच्युट अफ टेक्नोलोजी (क्युटेक)को प्रयोगशालामा ‘भाइब्रेसन’ र ‘भ्याकुम’ परीक्षण सफल भएको हो।यो सफलताले आगामी वैशाखमा आफ्नै पहिलो नानो भूउपग्रह प्रक्षेपण गर्ने नेपालको योजना सफलता नजिक पुगेको छ। श्रोत नेपाल खबर

तपाईको प्रतिक्रिया