रत्ननगर, चितवन, ५ फागुन – बोटे, माझी र मुसहरको नाम गोहीलाई दिइयो भन्दा अचम्म नमान्नुहोला । घडियाल गोहीको अस्तित्व जोगाइराख्ने प्रयासस्वरुप यसरी नामकरण गरिएको हो । उनीहरुको नाम जोडेर प्राकृतिक बासस्थान (राप्ती नदी)मा पहिलो पटक गोही छाड्ने काम भएको छ । यसको मुख्य उद्देश्य गोही संरक्षण यी समुदायको सहभागिता अभिवृद्धि गर्नु हो ।

यसअघि कहिल्यै पनि गोही छाड्दा बोटे, मुसहर, माझीलाई समुदाय सहभागी गराइएको थिएन । मन्त्री, नेता वा सरकारी अधिकारीको रोहवरमा गोही छाडिन्थ्यो । तर शुक्रबार भने फरक गतिविधिका साथ सिमान्तकृत समुदायलाई केन्द्रबिन्दुमा राखेर चिह्न लगाई २४ वटा घडियाल गोहीलाई राप्ती नदीमा छाडिएको छ ।

राष्ट्रिय प्रकृति संरक्षण कोष चितवन र जेडएसएल नेपालको सहयोगमा भएको उक्त कार्यक्रममा बोटे, मुसहरले समेत गोही समाएर नदीमा छाडे । जहाँ महिलासमेत सहभागी थिए । विगतमा नदीमा माछा मार्न राखिएका जालमा अड्किएर गोही मरेका उदाहरण छन् । त्यसैले यो नयाँ प्रयोगस्वरुप जिम्मेवार बनाई संरक्षणमा चेतना दिन उनीहरुको नाममा गोही छाडिएको चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत तथा प्रजनन केन्द्रका प्रमुख वेदबहादुर खड्काले जानकारी दिनुभयो ।

जल र जंगलमा आश्रित हुँदै आएका ती समुदायलाई गोही संरक्षणप्रति जिम्मेवारी बोध गराउन पहिलो प्रयोगस्वरुप उनीहरुकै नाममा यसरी प्राकृतिक बासस्थानमा गोही छाडिएको हो । विश्वमै अति–संकटासन्न अवस्थामा पुगेको छ घडियाल गोही । त्यस प्रजातिको संरक्षण चुनौती बन्दै गएको छ । केही वर्षअघिसम्म नेपालका ठूला नदीमा पाइने घडियाल गोही चितवन र बर्दियामा मात्र सीमित हुन पुगेको छ । अहिलेसम्म निकुञ्जमा पालिएका एक हजारभन्दा बढी गोही छाडिए पनि नदीमा गोही नगण्य छन् । निकुञ्जमा गोही प्रजनन केन्द्र नहुँदो हो त नेपालमा यो प्रजाति लोप भइसक्ने थियो । नदीमा गोहीको संख्या घट्दो क्रममा रहेकाले संख्या बढाउन यसरी पालिएका गोही नदीमा छाड्ने गरिएको निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत नुरेन्द्र अर्यालले जानकारी दिनुभयो ।

एक हजारभन्दा बढी गोही नदीमा छाडिए पनि पछिल्लो अनुगमनमा नेपालका नदीमा घडियाल गोहीको संख्या १९८ गणना गरिएको छ । निकुञ्जको गोही प्रजनन केन्द्रमा हुर्काएर नदीमा छाड्ने गरिए पनि करिब १० प्रतिशत मात्रै बाँच्ने गरेको छ । पछिल्लो पटक बर्दियामा समेत गोही प्रजनन हुन थालेको छ । प्रदूषित पानी, माछाको अभाव तथा बगेर भारत पुग्ने लगायतका कारण पनि गोही लोप हुँदै गएको पाइन्छ । यस पटक छाडिएका गोही करिब ६ देखि ७ वर्षको छ । यसअघि फागुन २ गते पनि उक्त नदीमा २४ वटा गोही छाडिएको थियो ।

गोही नदीमा छाड्दै क्षेत्रीय वन निर्देशक शिवकुमार वाग्लेले पानीमा गोही पाउनु सफा पानीको सूचक भएको र पारिस्थितिक प्रणालीमा यसको उपस्थितिको ठूलो महत्व रहेको उल्लेख गर्नुभयो ।

निकुञ्ज आसपास पानीमा आश्रित समुदाय बोटे, माझी, मुसहरलाई समेत सहभागी गराएर उनीहरुकै नाममा गोहीलाई नदीमा छाडिँदा ती समुदायमा संरक्षणप्रति चासो बढ्ने आशा राखिएको अर्यालले बताउनुभयो । राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका संरक्षण अधिकृत सन्तोष भट्टराई समुदायसँगको सहकार्यमा विगतदेखि नै संरक्षण कार्यक्रम अघि बढाइँदै आइएको सन्दर्भमा अहिले बोटे, माझी, मुसहरलाई सहभागी गराउँदा कार्यक्रम थप प्रभावकारी हुने बताउनुहुन्छ ।

निकुञ्जका सहायक संरक्षण अधिकृत तथा प्रजनन केन्द्रका प्रमुख खड्काका अनुसार हाल प्रजनन केन्द्रमा ५९५ गोही रहेका छन् । यो वर्ष करिब १०० गोही प्राकृतिक बासस्थानमा छाड्ने योजना छ ।

तपाईको प्रतिक्रिया