धुलिखेल – प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशको राजधानी विधि, नीति र संविधानसम्मत तोकिने बताउनुभएको छ । धुलिखेल नगरपालिकाको ३२ औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले प्रदेशको राजधानी तोक्न हतार नभएको बताउनुभयो ।

उहाँले जुन कामको लागि भनेर अस्थायी मुकाम तोकिएको छ, त्यो कामको शुरुवातसमेत नभएको बताउनुभयो । त्यसको लागि कुनै दिन आउने र त्यही क्रममा विधि, नीति र संविधानले दिएको अधिकार प्रयोग गरेर राजधानी तोकिने उहाँको भनाइ छ ।

मुख्यमन्त्री पौडेलले स्थानीय निकायको अधिकारको लागि २० वर्षसम्म स्थानीय स्वायत्त शासन र सरकारको पक्षमा गरेको आन्दोलनको उपलब्धिस्वरुप नगरपालिकाहरु सरकारका रुपमा स्थापित भएको बताउनुभयो ।

मुख्यमन्त्री भइसकेपछिको पहिलो औपचारिक कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री पौडेलले प्रदेश सरकार कस्तो हुने भन्ने कुरा आफूलाई नै थाहा नभएको बताउनुभएको छ । “पहिलोपटक प्रदेश सरकार गठन भएकाले यसको मोडेल कस्तो हुने भन्ने नै थाहा नभएकाले त्यस बारेमा धेरै कुरा गरेर भ्रम सिर्जना गर्न चाहन्न”– पौडेलले भन्नुभयो । उहाँले धेरै कुरा बोल्नेभन्दा पनि काम गरेर देखाउने बताउनुभयो ।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य गंगाबहादुर तामाङ र गोकुल बाँस्कोटाले संघीयता व्यवस्थापन गर्दै कार्यान्वयनको प्रक्रियामा रहेको उल्लेख गर्दै ३ नं प्रदेशको राजधानी काभ्रे बनाउन आग्रह गर्नुभयो ।

जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका प्रमुख उद्धव केसीले प्रदेशको राजधानी बनाउन समन्वय समिति भौतिक संरचनाको व्यवस्थापनका लागि तयार रहेको बताउनुभयो ।

काठमाडौँ विश्वविद्यालयका उपकुलपति प्रा डा रामकण्ठ माकजु श्रेष्ठले सांसदले सक्ने कामको बारेमा मात्रै बोल्न आग्रह गर्नुभयो ।

धुलिखेल नगरपालिकाका प्रमुख अशोक कुमार व्याञ्जुले काभ्रेपलाञ्चोक जिल्ला तथा धुलिखेल क्षेत्रलाई प्रदेशको राजधानीको विषयमा मुख्यमन्त्रीको प्रतिबद्धता रहनुपर्ने बताउनुभयो ।

सो अवसरमा नगरप्रमुख व्याञ्जुले नगरपालिकाको जिम्मेवारी सम्हालेपछि गरेको प्रगति र भावी योजना सुनाउनुभएको थियो । सो क्रममा उहाँले नगरले कार्यसम्पन्न गरेका विविध विषयका ३८ वटा कार्य, घोषणा गरिएको नौबँुदे कार्य तथा नगरपालिकाले गर्ने काममा द्विपक्षीय सम्बन्ध विस्तारका लागि गरिने २१ वटा बुँदा प्रस्तुत गर्नुभएको छ ।

सो अवसरमा नगरपालिकाभित्रका विभिन्न क्षेत्रमा योगदान पु¥याएको भन्दै नगरपालिकाका पूर्वप्रमुख बेलप्रसाद श्रेष्ठ र हास्यकलाकार हरिवंश आचार्यलगायत ३३ व्यक्तित्व तथा संघसंस्थालाई सम्मान गरिएको थियो ।

धुलिखेल नगरपालिकाले नगरको विकासका लागि नीतिगत, योजनाबद्ध विकासका योजना घोषणा गरेको छ । जसमा नगरलाई ‘स्मार्ट सिटी’का रुपमा विकास गर्ने, धुलिखेललाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने, पाँच वर्षभित्रमा धुलिखेल नगरवासीलाई स्वच्छ खानेपानी पु¥याउने, फोहोरमैलाको दिगो व्यवस्थापन गर्ने तथा भू–उपयोग नीति तथा भवन आचारसंहिता निर्माण गरी कडाई गर्नेलगायत योजना अघि सारेको नगरप्रमुख व्याञ्जुले बताउनुभयो ।

त्यस्तै नगरले विद्युतीय प्रणालीबाट सामाजिक सुरक्षा भत्ता वितरण शुरु गरेको जनाएको छ । त्यसका साथै सन् २०१८ सम्ममा बालमैत्री नगर बनाउनका लागि आधारभूत सर्भेक्षणको काम प्रारम्भ गर्नुका साथै भूकम्पपछिको पुनःनिर्माणलगायत काम भइरहेको जनाइएको छ ।

तपाईको प्रतिक्रिया