काठमाडौं, ८ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री पद सम्हालेको दुई दिन पछि नै जनताको मन जित्ने काम गरेका छन् । उनले दुर्गम जिल्लामा उपचारको अभावमा छटपटिएकी एक महिलाको उद्दार गरेका छन् ।

भीरबाट लडेर गम्भीर घाइते भएकी बाजुरास्थित दुर्गम गाउँ गौमुलकी धर्म रोकायालाई उपचारका लागि काठमाडौ ल्याउन प्रधानमन्त्री केपी ओलीले जहाजको बन्दोबस्त गरेका छन् ।

गत फागुन ३ गते भीरबाट लडेर घाइते भएकी रोकायको उपचारका लागि स्थानियको सहयोगमा नेपालगन्ज पुर्याइएको थियो । उनको त्यहाँका चिकित्सकले प्रारम्भिक उपचार पछि थप उपचार सम्भव नभएको भन्दै काठमाण्डौ रेफर गरिदिए ।

आर्थिक अवस्था कमजोर भएका रोकाय परिवार थप उपचारका लागि काठमाण्डौ लैजान नसकेर समस्यामा परेका थिए ।  स्थानिय एमालेका नेता कार्यकर्तालाई सो कुराको जानकारी भएको भएपनि आर्थिक बन्दोबस्त हुन सकेको थिएन ।

बाजुर निवासी एमाले पोलिटब्युरो सदस्य कर्णबहादुर थापाले रोकायको उपचारका लागि आफुहरुले केही गर्न नसकेको जानकारी प्रधानमन्त्री ओलीलाई गराए । जानकारी पाए लगत्तै प्रधानमन्त्री ओलीले बिरामी रोकायालाई तत्काल काठमाडौं ल्याउन निर्देशन दिदैं जहाजको प्रबन्ध गरीदिएका हुन् ।

तपाईको प्रतिक्रिया