श्री के.पि. शर्मा ओली प्रधानमन्त्री बालुवाटार, काठमाडौ- नेपाल प्रधानमन्त्री ज्यु, बिदेश उपचार गराउन गएपछिका दिनहरुमा तपाईंको स्वास्थ्य स्थिती त ठिकै छ भन्ने सुनेको छु । मेरो चाहिँ के भनौं प्रधानमन्त्री ज्यु, भर्खरै बहिनी गुमाएको छु । समयमा उपचार नपाएर मेरो बहिनिले आफ्नो कोखको दुधे बालक छोडेर गइहाली ।

अचेल उसको दुधे बालकले आमा खोजिरहेको छ । हामीले उसलाई कुन शब्दले जवाफ दिने हो ? अचेल यहि सोचमा डुबिरहेको छु । हामीले भनेका छौँ, तिम्रो आमा बजार गएकी छिन्, तिमिलाई चक्लेट ल्याइदिन्छ । उ हरेक पल दैलोको काप समाएर चक्लेट लिन गएकी उसको आमाको बाटो हेरिरहेको छ । यतिखेर उसको त्यो मायालु अनुहार हेरेर आँखा नरसाउने सायदै कोहि छिमेकी होला ।

मैले तपाईंलाई पत्र लेखिरहेको छु, यस मानेमा कि तपाईं यो मुलुकको सवैभन्दा शक्तिशाली कम्युनिष्ट प्रधानमन्त्री हुनुहुन्छ र मैले तपाईंवाट केही अपेक्षा गरेको छु । मेरो अपेक्षा यो हो कि तपाईंको पाँच बर्षको कार्यकालपछि मलाई यो लागोस कि, केपि शर्मा ओली दस बर्ष अगाडी यो देशको शक्तिशाली प्रधानमन्त्री किन भएन ? कमसेकम मेरो बहिनिले उपचार नपाएर ज्यान गुमाउने त थिएन ! प्रधानमन्त्री ज्यु, हामी जस्तो निम्न आर्थिक हैसियत भएका मान्छेहरुले उपचारको लागि हेलिकप्टर चार्टर गर्न सक्दैनौं । बुलेट ट्रेनले रुकुम देखि काठमाडौसम्म केही घण्टाकै यात्रा गरे काफी हुन्थ्यो त्यो पनि सस्तो भाडामा । तर मेरो बहिनिलाई ६ दिन लगाएर काठमाडौ पुरायौं । बाटोमै ६ दिन लाग्यो । त्यसैले उ बाचेन । डाक्टरले भनेका थिए, समयमै अस्पताल ल्याएको भए बाच्ने थिइ ।

प्रधानमन्त्री ज्यु, समयमै अस्पताल लगिएकै हो तर वाटो पर्‍यो फेरो । हाम्रो दुर्भाग्य भनौं ।

बितेको पाँच बर्षमा मेरो परिवारमा मात्रै तीन पटक यस्तो घटनाहरु दोहरीन पुगे । तिनै पटक हप्ता दिन लगाएर बिरामीहरुलाई अस्पताल पुर्याएका छौँ । मेरो परिवारको चेतना स्तर कम्तिमा पनि मान्छे बिरामी भएपछि अस्पताल लगिहाल्नुपर्छ भन्नेसम्म बिकाश भएको छ । धेरैलाई अझै अस्पताल र डाक्टरमा भरोसा लाग्दैन ।

यस्तै यस्तै घटनाका सिकार हुनेहरु यो देशमा लाखौंको संख्यामा होलान् । तर मैले आशा गरेको, अबको तपाईंको पाँच बर्षको कार्यकालपछी यी दृश्यहरुमा केही फेरबदल आएको हेर्नू हो । पुर्ब पश्चिम बुलेट ट्रेन, हावावाट बिजुली, राष्ट्रिय झण्डावाहक पानी जहाज, नेपालको आफ्नै तेल खानी । शहरका हरेक नगरहरुमा ग्यासका पाइप लाइनहरु पुगोस् ।

पोखराको एउटा आमसभामा मैले तपाईंको एउटा प्रतिबद्धता सुनेको थिएँ । `खानकै लागि जनताहरुले काम गर्नु पर्दैन । खुवाउने काम सरकारको हो । धनी बन्नको लागि मात्र काम गर्नुपर्छ ।´ प्रधानमन्त्री ज्यु, काम नगरी खान पाइने यो कुन समाजवादमा उल्लेख छ ? मैले सुनेको समाजावादमा चाहिँ `योग्यता अनुसारको काम र आबस्यक्ता अनुसारको बितरण´ भन्ने थियो । सायद, नयाँ ओलीवादको सिद्धान्त प्रतिपादन भयो कि नेपालमा !

पृथीछक बुढाको बहिनीलाई काठमाडौं उपचार गर्न लाँदैको दृश्य

मुनामदनमा महाकवि लक्ष्मीप्रसाद देवकोटाले लेख्नुभएको हरफहरु अहिले झल्झली सम्झिरहेको छु । `हातको मैला सुनको थैला के गर्नु धनले, साग र सिस्नु खाएको बेश आनन्दी मनले ।´ यदि घरमै साग र सिस्नु खान पाइन्छ भने यो तातो बालुवामा कुन युवा आउँथ्यो र ? प्रधानमन्त्री ज्यु, म धनि बन्नकै लागि देश छोडेको होइन । पापी पेटको छाक तार्नकै लागि हो । खान लाउनकै लागि हो ।

तपाईंले भने जस्तै, काम नगरी खान खोजेको पनि होइन । म काम नगरी खाने मान्छे होइन । म आफ्नै देशमा काम गर्न चाहन्छु । मेरो परिवारसंग समय बिताउन चाहन्छु ।

हरेक बिहानी मेरो छोरीको अबोध शब्द मेरो कानमा गुन्जिरहन्छ, `बाबा ! हजुर कहिले घर फर्किनु हुन्छ ?´ प्रधानमन्त्री ज्यु, मैले के जवाफ दिऔं ? पाँच बर्षपछि भनौं ? यो पाँच बर्ष भित्र आफ्नै घरमा केही इलम गर्न सकिने बाताबरण बनाईदिनुहोस । यदि तपाईंले बातावरण मिलाईदिनु भयो भने जतनाको बिस्तारामै सरकारले खानेकुरा पुराइदिने करसत गरिरहनु पर्दैन भन्छु । यसो भयो भने हाम्रो बाबू आमालाई हामी आफै पाल्न सक्छौं, वृद्ध भत्ताको पनि आबस्यक्ता हुनेछैन ।

वृद्ध भत्ता त दिनुहुन्छ तर प्रधानमन्त्री ज्यु, दस महिना गर्भमा हुर्काएका सन्तानहरु बिदेशमा सन्चो बिसन्चो के भए ? खाए खाएनन्, सुते सुतेनन् ? तपाईंले दिएको वृद्ध भत्ताले किनेको मकैको च्याख्ला र चामलको भात कसरी घाँटीमा छिराउन सक्लान् ? उनिहरुलाई बुढेसकालमा वृद्ध भत्ता होइन, काखको सन्तान चाहिएको छ । तपाईंको पाँच बर्षमा यिनै कामहरुलाई प्राथमिकता दिनुहुन्छ भन्ने अपेक्षा लिएको छु । आजलाई बिदा ।

पृथीछक बुढा मगर स्थायी घर : पुथाउत्तरगङ्गा – ३ रन्मा `रुकुम पूर्व´ हाल : दुबई यो लेख सान्धर्भिक लागेर हामीले पोस्ट पाटि डटकमबाट साभार गरेका हौ

तपाईको प्रतिक्रिया