आफ्ना दाँत सेता र चम्किला होउन् भनेर कसले चाहन्न र ? विभिन्न ब्राण्डका टुथपेस्ट प्रयोग गर्ने देखि डेन्चर व्हाइटनरको प्रयोग गर्ने देखि दन्त चिकित्सकसँग परामर्शसम्म । हामी के के गर्न पछि पर्दैनौ दाँत सेता पार्न । कतिपय अवस्थामा सेता र चम्किला दाँतहरूका लागि बनेको भनेर विज्ञापन गरिएको टुथपेस्टले दिनमा दुई पटक ब्रस गर्दा गर्दै पनि दाँतको पहेँलोपन यथास्थितिमै रहिराख्यो भने खल्लो लग्नु स्वाभाविक हो ।

बुझ्नु पर्ने कुरा के छ भने हाम्रा दाँतहरूमा हुने सेतोपनको प्रमुख कारण सरसफाई नभई दाँतको बाहिरी पत्रमा रहेको इनामेलका कारण हुन्छ । कुनै अवस्थामा यो कम हुन थालेपछि दाँतको सेतोपन पनि घट्ने र पहेँलोपन बढ्ने हुन्छ ।

हुन त दाँतको पहेँलोपना अति सामान्य अवस्था हो । र दाँतहरूलाई सेतै राख्ने उपायहरू पनि छन् । हो, त्यसका लागि हामीले आफ्ना केही बानीहरूको पुनरावलोकन गर्नुपर्ने भने हुन्छ नै ।

हेरौं आखिर के हुन् त हाम्रा यस्ता बानीहरू जसले हाम्रा दाँतहरू सेता र चम्किला हुनबाट रोक्दछ्न्-

माउथवासको अत्यधिक प्रयोग => धेरैलाई लाग्न सक्छ माउथवासले दाँत सेता पार्ला भनेर तर यो एउटा भ्रम मात्र हो । कतिपय माउथवासहरूमा एसिडको मात्रा तोकिएभन्दा बढी हुन्छ जसले दाँतको प्राकृतिक आवरणलाई क्षति पुऱ्याउने हुन्छ । वास्तवमा विभिन्न प्रकारको खानाले पनि केही मात्रामा एसिड निर्माण गर्दछ जसलाई मुखभित्र रहेको ऱ्यालले सन्तुलित पारिदिन्छ । वैज्ञानिक भाषामा यसलाई pH सन्तुलन गर्नु भनिन्छ । सामान्यतया माउथवास किन्दा हामी त्यसको pH लेभलमा ध्यान दिन्नौं । कतिपय माउथवासको pH लेभल बढी अम्लीय या एसिडिक भयो भने त्यसले दाँतको बाहिरी पत्रलाई नोक्सान पुऱ्याउँछ र दाँत पहेँला हुन्छन् ।

अधिक कफी सेवन => कफी राम्रो पी पदार्थ हो । झन् जाडोमा कफी पिउनुको त मज्जा नै फरक ! तर यसले पनि दाँत पहेँलो पार्दछ । खासमा दुई समयको कफीबीच पर्याप्त समयान्तर आवश्यक छ ।

अम्लीय तरकारी, फलफुल र अन्य पेय => सुन्तला, भुइँकटहर, गोलभेंडा, स्याउ खानु स्वास्थ्यका लागि साह्रै राम्रो हो तर यस्ता फलफुल र तरकारीहरू पनि दाँतको पहेँलोपनाको लागि जिम्मेवार हुन्छन् भन्ने थाहा पाए हामी झस्किनु स्वाभाविक नै हो । त्यति मात्र हैन पेप्सीकोला, कोक जस्ता पेय पदार्थहरूको अत्यधिक सेवनको पनि दुष्परिणाम हो दाँतको पहेँलोपना । यसको अर्थ फलफुल सेवन गर्ने नै हैन भन्ने होइन । बरु यस्ता फलफुल, तरकारी खाएपछि केही पानी भने पिउनु नै पर्छ ।

धुम्रपान =>

धुम्रपानले ओठ मात्रै कालो पार्ने हैन दाँतहरू पनि पहेँला बनाइदिन्छ । अर्थात् जति बढी चुरोट त्यति पहेँला दाँत !

धेरै बेरसम्म ब्रस गर्नु => खुबै मेहेनत गरेर ब्रस गर्नेहरूले पनि सावधान हुनु जरुरी छ । बढी ब्रस गरेर दाँत सेता हुन्नन् यो बुझ्नु आवश्यक छ । किन भने जति मन लगाएर घोटी-घोटी हामी दाँत माझ्ने गर्दछौं त्यति ब्रसको घर्षणले दाँतको बाहिरी पत्रमा क्षति पुगिरहेको हुन्छ । र, यसको परिणाम हुन्छ पहेँला दाँत ।

तपाईको प्रतिक्रिया