परदेश बाट झोलाभरी सामान बरियाले बाधेर ल्याउने हाम्रो रहर हैन,महोदय बाध्यता हो। दुईथान पुरानाे मोबाइल,दुई बोतल रक्सी,केहि नयाँ पुराना लुगा,२२इन्चको टिभि र घरपरिवार साथीभाइलाई ल्याइदिएको उपहारले हामीले परदेशमा आर्जेको सम्पत्तिको धाक लगाउन खोजेका हाेईनाैं।कोशेली,माया,आत्मीयता, सदभाब र प्रेम दर्शाउन खोजेका हौँ।हामी जाबोसंग धाक लगाउन सक्ने त्यत्रो क्षमता कहाँ हुन्छ र,जो आफू स्वयम आफू रहेका हुदैनौ,तर सत्यता के हाे भने सिङ्गो देश हामीले परदेशमा बगाएको पसिनामा बगीरहेकाे छ।

हामी जाबोले ल्याउने दुईचार हजारका सामानलाई भन्सारमा रोक्दा,कडाइ गर्दा ३३केजि सुन तस्करी ,रक्तचन्दन, दुर्लभ बन्यजन्तुको चोरीसिकारी गर्ने र हात्ती छिराउनेहरु कानुनको दायरामा आउछन भने होस महोदय हामी नाङ्गै आउला।एकसरो जिउमा धागो,एक रत्ती सुन,एकथान टिभी हत्केलामा नझुन्ड्याइकन आफ्नै देशबाट लगाएर गएका जुत्ताले आफ्नो पबित्र भुमिमा पाईला टेकौला। आफ्नो कर्मभुमिको चिनो,सम्झना,उपहार ल्याउनु गलत हो भने भैगो हामीलाई ल्याउनु छैन।

यदि हामीले कर्मभूमिबाट सानातिना सामान ल्याउनु गलत हो भने हप्ता दश दिनका लागि बिदेश भ्रमणमा जाने चोर, दलाल,निकम्मा,भिभिआईपी भन्नेहरु हामीलाई लुट्दै घडी,चस्मा,जुत्ता,अन्डरवेयर,मोबाइल,दारु अनि घरमा रहेकी आफ्नी श्रीमतीका लागि ब्रा र छोराछोरीका लागी खेलौना सम्मेत किन्न लगाउछन र ल्याउछन। राष्ट्रको ढुकुटी र हामीलाई सम्मेत रित्याउने यी महामानबहरुले ल्याएको यत्तिका सामान जफत हुन्छ कि हुदैन? के हुन्थ्याे होला सानालाई ऎन ठुलालाई चयन त हो । ठिक छ लोकतन्त्र भनेकै यहि रहेछ।हामी बबुरालाई के थाहा?३३केजि सुन छिरेको नदेख्ने महोदयहरुले मेरो एक केजि घ्यू,अचार,दालमोठ,टिभी, क्यामेरा,मह र फाटेका लुगा देखे।त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा हात्ती छिराउन सकिन्छ,भन्दै हिड्ने महाराजहरु अझैं देशमा जिउदै छन। कत्ती त छिराए पनि होलान।यस्तोसम्म न सरकारले देख्यो न सराेकार वालाले तर अहिले हाम्रो फाटापुराना मालसामान खोसेर त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल मा लिलाम गरेको देख्दा ती हात्ती छिराउनेहरुले सरकार र सरोकारवालालाई कुरिकुरी गर्दाहुन।निकम्मा सरकार मजदुर वर्ग माथीको दादागिरीलाई नयाँ युग ठान्छ। आफ्नो धोती खुस्किएको थाहा छैन।

देश फर्किदा पसिनाको अत्तर छर्केर ल्याएको सामान सरकारले भन्सार कडाइको नाटक गरेर आँखा लाउछ। हामीले कसैलाई लुटेर,खोसेर र च्यातेर ल्याएका हाेईनाैं। दिनरात गरेको मेहनत,रगत,पसिना, तिर्खा,भोक, प्यास,दुखकष्ट सब सहेर आर्जिएका हौँ ।तसर्थ सरकार के कुरा हेक्का रहोस् भने तैले लिलाम गर्दैमा हाम्रा भौतिक बस्तु त लिलाम होलान् । तर ती बस्तुमा हाम्रा पसिनाको गन्ध आइरहने छ।जसलाई राज्यकोषले पचाउन सक्ने छैन। यति सामान आर्जिन हामी पलपल मरेर बाँचेका हुन्छौं । त्यसमा हाम्रा बाआमाका आशिर्वाद,प्यारिका प्रेम,छोराछोरीका सम्झना,साथीभाइको आत्मियता छ। यत्ती मात्रै हैन राष्ट्र र राष्ट्रियता पनि यहि भित्र छ। त्यो जो कसैले कहिल्यै लिलाम गर्न सक्दैन।

हामी भित्र पिडाको मुस्लो,दुखको महासागर,मायाको भोक,प्यासको ज्वालामुखी छ। जे छ सबै सहेर बसेका छौ,सकेजत्ती बुद्धि र बिबेकले भ्याएसम्म देशलाई नाफा हुने काम गरेका छौँ। तर महोदयको यो हर्कतले असैह्य भएपछि कोलाहल गर्नु परेको हो। जसले हाम्रो सन्तुष्टिको सास हराएको छ। हामी जिउदा लास भयौं । अन्यथा हामी आजसम्म चुपचाप बसेका ,सुतेका,निधाएका थियौँ। परदेशमा कति अपाङ्ग भए,केहिले मानसिकता गुमाए, कत्ती दाजुभाइ आज पनि विभिन्न देशमा जेल भित्र छन। कत्ती त झोलाभरी सपना बोकेर जानेहरू राताे बाकसमा देश फिरे खाेई महोदय हाम्रालागि यहाँ सरकार देखिएको? कि सरकार भन्सारमा, गरिबीमा,निमुखाहरुमा,शोषित र दमन गर्न मिल्ने ठाउँमा मात्रै छ?लेखक-भोजराज घोडासैनी सुर्खेत हाल दक्षिण कोरिया

तपाईको प्रतिक्रिया