अमेरिकाले उत्तर कोरियामाथि अहिलेसम्मकै कडा नाकाबन्दी लगाउने घोषणा गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार सो घोषणा गरेका हुन् । उत्तर कोरिया र दक्षिण कोरियाबीच सम्बन्ध सुधार भइरहेका वेला ट्रम्पले सो घोषणा गरेका हुन् । अमेरिकी घोषणाको उत्तर कोरियाले विरोध गरेको छ । प्योङयाङले अहिले पनि आफ्नो आणविक कार्यक्रमलाई जारी राखेकाले ताजा नाकाबन्दी लगाउनुपरेको अमेरिकी अधिकारीहरूले जनाएका छन् ।

५० पानीजहाज कम्पनीविरुद्ध लक्षित सो नाकाबन्दी उत्तर कोरियाका ५० भन्दा बढी पानीजहाज कम्पनीहरूविरुद्ध लक्षित हुने अमेरिकाले जनाएको छ । उत्तर कोरियासँगै अमेरिकाले चीन र ताइवानका पानीजहाज कम्पनीविरुद्ध पनि नाकाबन्दी लगाएको छ । अमेरिकी राष्ट्र«पति डोनाल्ड ट्रम्पकी छोरी इभान्का ट्रम्प दक्षिण कोरिया पुगेको केही घन्टाभित्रै उत्तरमाथि नयाँ नाकाबन्दीको घोषणा गरिएको हो । दक्षिण कोरियाको राजधानी सिउल पुगेको केही घन्टापछि इभान्काले उत्तरविरुद्ध कडा दबाब दिन आह्वान गरेकी थिइन् । दक्षिण कोरियामा जारी हिउँदे ओलम्पिक समापन समारोहमा भाग लिन इभान्का शनिबार सिउल पुगेकी थिइन् । सो ओलिम्पिकको उद्घाटन समारोहमा अमेरिकी उपराष्ट्र«पति माइक पेन्स सहभागी भएका थिए ।

उत्तरमाथि थप दबाब उत्तर कोरियाको आणविक कार्यक्रमको विरोधमा अमेरिका र अन्तर्राष्ट्रिय समुदायले प्रतिबन्ध लगाउँदै आएका छन् । संयुक्त राष्ट्रसंघको चेतावनीका बाबजुद पनि उसले आणविक परीक्षणलाई निरन्तरता दिएको छ । केही महिनाअघि मात्र उसले शक्तिशाली आणविक परीक्षण र अमेरिकासम्म पुग्ने ब्यालिस्टिक मिसाइल परीक्षण गरेको थियो । उत्तर कोरियामाथि थप दबाब दिन, राजस्वका स्रोत कटौती गर्न र उसका आणविक कार्यक्रमका लागि इन्धन कटौती गर्न नाकाबन्दी लगाइएको अमेरिकाले जनाएको छ । नाकाबन्दीले उत्तर कोरियाको आणविक कार्यक्रमलाई अप्रत्यक्ष रूपमा प्रभाव पारे पनि उत्तरले आणविक गतिविधिलाई झन् तीव्र पार्न सक्ने विज्ञहरूले बताएका छन् ।

उत्तर कोरियामाथि थप दबाब दिन, राजस्वका स्रोत कटौती गर्न र उसका आणविक कार्यक्रममा उपयोग हुने इन्धन अभाव गर्न नाकाबन्दी लगाइएको अमेरिकी भनाइ

१६ कम्पनीविरुद्ध नाकाबन्दी अमेरिकाले नाकाबन्दी लगाएका ५० कम्पनीमध्ये १६ कम्पनी उत्तर कोरियाली हुन् । अन्य कम्पनीमा पाँचवटा कम्पनी हङकङमा दर्ता भएका हुन् भने दुईवटा चीनको मूल भूमिमा, एउटा पानामामा र एउटा सिंगापुरमा दर्ता भएका हुन् । शुक्रबार पत्रकार सम्मेलनमा बोल्दै राष्ट्रपति ट्रम्पले पछिल्लो चरणको प्रतिबन्धले राम्रो परिणाम नल्याए गम्भीर परिणाम सामना गर्नुपर्ने चेतावनी दिए । ‘प्रतिबन्धले काम नगरे हामी दोस्रो चरणमा कारबाही गर्नेछौँ, जुन विश्वका लागि दुर्भाग्यपूर्ण हुनेछ,’ उनले भने । उत्तर कोरिया धूर्त राष्ट्र« भएको ट्रम्पले बताए । ‘उत्तर कोरिया आफैँमा धूर्त राष्ट्र हो । उत्तरसँग सम्झौता भए राम्रो विषय हो, तर सम्झौता नभए अप्रिय घटना हुनेछ,’ उनले भने ।नयाँ पत्रिकाले छापेको छ ।

८ वर्षदेखि नाकाबन्दी अमेरिकाले सन् २००८ देखि उत्तरविरुद्ध नाकाबन्दी लगाउँदै आएको छ । पछिल्लो प्रतिबन्धलाई अमेरिकाले गत नोभेम्बरमा घोषणा गरेको प्रतिबन्धका सूचीमध्ये सबैभन्दा माथि राखेको थियो । डिसेम्बरमा संयुक्त राष्ट्रसंघले अमेरिकी अनुरोधमा प्रतिबन्ध लगाएको थियो । उत्तर कोरियामाथिको प्रतिबन्धलाई सुरक्षा परिषद्का सम्पूर्ण १५ सदस्यले समर्थन गरेका थिए । प्रतिबन्धपछि उत्तर कोरियाको पेट्रोल निर्यातमा ९० प्रतिशतले कटौती आएको थियो । अमेरिकाले उत्तर कोरियाली नागरिकमाथि पनि प्रतिबन्ध लगाएको थियो । नयाँ प्रतिबन्धले उत्तर कोरियाले ठूलो मूल्य चुकाउनुपर्ने अमेरिकी अधिकारीहरूले बताएका छन् । प्रतिबन्धले उत्तर कोरियालाई बर्सेनि अर्बौं डलर घाटा लाग्ने अमेरिकाको अनुमान छ ।

तपाईको प्रतिक्रिया