काठमाडौँ– शुक्रबार साँझ नक्खुको एनसेल कार्यालयमा भएको बम बिस्फोटमा घाइते तीनजनामध्ये एकको निधन भइसकेको छ। बम बिस्फोटनमा घाइते दुईजनाको नेपाल मेडिसिटी अस्पताल नक्खुमा उपचार भइरहेको छ। उनीहरु दुवैलाई शुक्रबार राति अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियाे। उनीहरुको स्वास्थ्य अवस्थाको पछिल्लो अवस्था यस्तो छ।

२६ वर्षकी प्रतिक्षा खड्काको दाहिने पातोमा चोट लागेको हो। दुर्घटनास्थलभन्दा झण्डै १०० मिटर टाढा उनी मोटरसाइकलमा आफ्नो श्रीमान्‌काे पछाडि बसेकी थिइन्। ‘म नक्खुमा एकोरियममा हाल्ने माछा किन्न गएर फर्कदै थिए। ड्वाङ्ग आवाज आयो। मलाई पछाडि के आयो जस्तो लाग्यो। तर हामी त्यहाँबाट हिड्यौ’ खड्का भन्छिन्, ‘घर पुगेर बाइकबाट झर्दा त सिटभरी रगत देखियो।’ उनको घर बागडोल हो। सामान नपाइएपछि उनीहरु बिष्णुदेवी पुगेका थिए। उनको ढाडमा घाउ भएको महशुस नै भएको थिएन।

प्रतीक्षाका श्रीमान् रितेसले सिलिण्डर केही पड्केको हो की भनेर हेरेका अनि आफू घर गएको बताए। श्रीमतिलाई चोट लागेको थाहा उनलाई पनि भएन। त्यसपछि उनीहरु अल्का अस्पताल गए, ‘मेडिसिटी जाने बाटो जाम छ भन्ने थाहा थियो’, बेडमा ढलिरहेकी प्रतिक्षा भन्छिन्, ‘त्यहाँ एक्स-रे गर्दा भित्र केही क्लिप जस्तो सामान देखियो।’

तपाईको प्रतिक्रिया