– विश्वास हमाल

नेपाल रहँदा मुस्किलले दुई/तीन पटक कफी खाइयो होला । तर,विदेश छिरेपछि एक–दुई कप भन्दाभन्दै कफी खाने लत लाग्यो । चिसो मौसम, सधैँको काम अनि थाकेको शरीरलाई कफीले केही मात्र भए पनि राहत दिने रहेछ । अहिले त काठमाडौं नै कफी संस्कृतिमा चुर्लुम्मै डुब्न थालिसकेछ । केही महिनाअघि नेपाल जाँदा लाजिम्पाट वरपर घुम्दै थिएँ । एउटा सामान्य कफी पसलमा छिरेर कफी मगाएँ । कडा र स्वादिलो थियो, कफी । तर, बिल भने पत्याउनै नसकिने पो आयो । एक कफ कफीको तीन सय रुपियाँ !

बिलमा केही गल्ती भएको हो कि भन्ने लाग्यो । गल्ती बिलमा होइन, मेरो बुझाइमा रहेछ । देशमा महँगीले आकाश छोइसकेछ । विश्वका सबैभन्दा महँगा भनिने सहरहरू नर्वेको ओस्लो, स्वीट्जरल्यान्डको ज्युरिक, बेलायतको लन्डनमा पनि त्यति पैसामा राम्रै कफी पाइन्छ । यो बेग्लै कुरा हो कि कफी हामी नेपालीका लागि दैनिक उपभोग्य वस्तु नहुन सक्छ । यसकै मापनमा जीवनशैली कति सस्तो र महँगो छ भन्नु उचित पनि नहोला ।

महँगो कफीको स्वाद चाखेपछि साथीहरूलाई भेट्ने कार्यक्रम भएकोले दुई/तीन वटा छोटो कल गरँे । पाँच मिनेट इमेल र फेसबुक चलाएको मात्र थिएँ, बिहान भर्खर राखेको मोबाइलको ब्यालेन्स सकिएछ । गएको दस दिनमा मैले सायद यस्ता रिचार्ज कार्ड किनिसकेको रहेछु । बेलायतमा मैले महिनाको १२ पाउन्डमा हजार मिनेट टकटाइम, अनलिमिटेड एसएमएस र १२ जीबीको इन्टरनेट चलाउँछु । हिसाब गर्दा त कफी मात्रै होइन, फोन पनि महँगो पर्न गयो । युरोपतिर आफू बसेको स्थानीय ठाउँमा हिँड्दा पनि गोजीमा २० युरो वा पाउन्ड छ भने ढुक्क भइन्छ । किनकि, त्यो ठूलो पैसा हो । तर, काठमाडौंमा हजार रुपियाँको एउटा नोट साट्ने बित्तिकै कहाँ जान्छ, पत्तै पाइँदैन । आम्दानी र खर्चको तुलनामा काठमाडौं मेरा लागि विश्वकै महँगो सहर हो ।

दैनिक उपभोग्य वस्तुहरू एकदमै महँगा छन् । युरोप र अमेरिकाभन्दा पाँच/छ गुणा महँगा । एक किलो खसीको मासुलाई लन्डनमा आठ पाउन्ड पर्छ भने नेपालमा एकहजार रुपियाँ । जबकि, हाम्रो कमाइ उनीहरूको भन्दा दसौँ गुणा कम छ । यस अर्थमा एउटा बेलायतीले आफ्नो एक घन्टाको कमाइले एक किलो मासु खरिद गर्न सक्छ भने हामीलाई त्यसकै लागि एक दिनको कमाइ खर्च गर्नुपर्छ । पहिले नेपाल आउँदा सस्तो लागेर धेरै लुगा किनिन्थ्यो । तर, नेपालमा ढाका टोपी र गोल्ड स्टार जुत्ताबाहेक सबै विदेशमा भन्दा महँगो लाग्छ । नेपालमा शिक्षा पनि उत्तिकै महँगो छ । युरोपलगायत अरू देशमा मुख्यत: १२ कक्षासम्म पूर्णत: निशुल्क हुन्छ । तर, नेपालमा जन्मिनेबित्तिकै नर्सरी, प्ले ग्रुप, एलकेजी, युकेजी भन्दै नानाथरी उपाय अपनाएर पैसा लुट्न लागिपरेका छन्, शैक्षिक माफियाहरू । नेपाल साप्ताहिकले छापेको छ ।

बंगलादेशको ढाका र चटगाउँमा एक साता बस्दा खानेकुरादेखि दैनिक उपभोग्य वस्तुहरू हामीले अनुमान गरेभन्दा निकै सस्तो पायौँ, सायद आफँैले उत्पादन गर्ने भएकोले होला । भारतको त कुरै नगरौँ, नेपालको भन्दा जे कुरा पनि आधा नै सस्तो छ । सात समुन्द्रपारिका देशहरू मात्र होइन, कमजोर आर्थिक स्थिति भएका छिमेकीहरूको जीवनशैली पनि हाम्रो जस्तो महँगो छैन । वर्षौवर्षसम्म सार्वजनिक सवारीमा कोचिँदा–कोचिँदा दिक्क भएर बल्ल मोटरसाइकल किनेको कथा सुनाउँथ्यो साथीले । छिमेकी भारत र संसारको जुनसुकै ठाउँमा ५०/६० हजार रुपियाँमा पाइने ‘सेकेन्ड

ह्यान्ड’ मोटरसाइकललाई उसले एक लाख पचास हजार रुपियाँ हाल्यो ।

त्योभन्दा सस्तो मूल्यमा मैले विश्वकै महँगो देशमा काम चलाउ कार किनेको थिएँ । यहाँनेर फेरि एकपटक तुलना गर्न मन लाग्यो । एउटा औसत नेपालीलाई काम चलाउ कार किन्न वर्षभरिको कमाइ खर्चिनुपर्छ । किनकि, नेपालको कर प्रणाली विश्वमै अचम्मको मानिन्छ । अन्य देशमा दुई महिनाको कमाइले काम चलाउ कार किन्न सहजै सकिन्छ । अब कसरी भन्ने कि नेपाल विश्वका सस्तो देशमध्ये पर्छ भनेर । युरोप–अमेरिका बराबरको कमाइ हुने हो भने त ठीकै होला । तर, काठमाडौंमै बसेर नेपालको औसत कमाइले कुनै पनि हालतमा यो सम्भव छैन । मेरो अनुभवमा काठमाडौं त लन्डन र पेरिसभन्दा निकै महँगो सहर हो ।

तपाईको प्रतिक्रिया