काठमाडौ – फागुन पहिलो हप्ता एकाएक काठमाडौका एसएसपी रबिन्द्र धानुकको सरुवा भयो। धानुकको सरुवा भएपछी काठमाडौ प्रहरीको कमाण्ड सम्हाल्न एसएसपी विश्वराज पोखरेल आए। धानुकले काठमाडौको कमाण्ड सम्हाल्दा सम्म एकाद घटना बाहेक राजधानीको मुख्य पर्यटकीय हब मानिने ठमेल र दरबारमार्ग क्षेत्रका रात्रीकालिन ब्यबसाय नियन्त्रणमै थिए। तर धानुकको बहिर्गमन र पोखरेलको आगमनको पहिलो हप्तामै ठमेल र दरबारमार्ग क्षेत्रका रात्रीकालिन ब्यबसायीहरुले स्थानीय प्रहरी युनिटका प्रमुखको सेटिंगमा बिहान ४ बजेसम्म डिस्कोहरु संचालन गर्ने गरेको थुप्रै गुनासो महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा आउन थाले।

महानगरीय प्रहरी वृत लैनचौर सोह्रखुट्टेका प्रमुख डीएसपी दीपक पोखरेल र महानगरीय प्रहरी वृत दरबारमार्गका डीएसपी दानबहादुर मल्लले आर्थिक प्रलोभनमा केहि रात्री क्लबहरुलाई जिल्ला प्रशासन कार्यालयको निर्देशन बिपरित निर्वाध रुपमा संचालन गर्न दिएको भन्दै पटक पटक उजुरी परेपछि महानगरीय प्रहरी कार्यालय रानीपोखरीले गत हप्ता मध्यरातमा छड्के चेकजाँचको लागि सादा पोशाकमा एक बिशेष टोली परिचालन गर्यो।

उक्त टोलीले मध्यरात १२ बजेदेखि ४ बजेसम्म गरेको गोप्य अनुगमनमा दरबारमार्गको आइक्लब, भिक्ट्री, ठमेलको इबिज्जा क्लब, फेसेज लाउन्ज बार, टर्टल क्लब, सीएनआई क्लब, सिनेट क्लब, फायर क्लब, रकर्स म्याजिक क्लब,ओजी लाउन्ज र क्लब ओएमजी लगायतका दर्जनबढी डिस्कोहरु बिहान साढे तिन बजेसम्म संचालन गरेको भेटियो। त्यतिमात्र नभई तेस्रोलिंगी तथा यौनकर्मी महिलाहरुले खुल्लम खुल्ला ग्राहकसंग बार्गेनिंग गरेको भेटिएपछी उक्त बिशेष टोलीले दरबारमार्गका डीएसपी मल्ल र सोह्रखुट्टेका डीएसपी पोखरेललाई विभागीय कारबाही गर्नुपर्ने रायसहितको प्रतिबेदन पेश गरेको स्रोत बताउँछ ।

उच्च स्रोतका अनुसार बिशेष टोलीको प्रतिवेदनपछी महानगरीय प्रहरी कार्यालयका प्रमुख एआइजी जयबहादुर चन्दले दरबारमार्गका डीएसपी मल्ललाई टेलिफोन गरेर सचेत भएर काम गर्न निर्देशन दिए भने सोह्रखुट्टेका डीएसपी पोखरेललाई कारबाही नहुने कुनै आधार भए प्रमाण पेश गर्न भन्दै स्पष्टीकरणको पत्र थमाए। पत्र प्राप्त भएपछी डीएसपी पोखरेलले आफ़्नो एरियामा त्यस्तो केही नभएको र आफु आर्थिक प्रलोभनमा नफसेको भन्दै स्पष्टीकरणको जवाफ लिएर एआइजी चन्दलाई भेट्न गए। चन्दसंगको भेटमा डीएसपी पोखरेलले आफुलाई कारबाहीबाट बचाइदिन अनुनय बिनय गरे। जवाफमा एआइजी चन्दले उक्त बिषय धेरै पत्रकार र मिडिया हाउसलाई थाहा भएकोले उनीहरुलाई ब्यालेन्स गर्न पाँच लाख रुपैयाँको ब्यबस्था गर्न निर्देशन दिए।

“ हस हजुर, म ल्याउछु ” भन्दै त्यहाँबाट निस्केका डीएसपी पोखरेलले ३र४ बित्दापनि पैसा नबुझाएपछी रुष्ट भएका एआइजी चन्दले अर्को पत्र काटे। “ सोधिएको स्पष्टीकरणको जवाफ चित्त नबुझेकोले कारबाही नहुने थप कुनै आधार भए पेश गर्न निर्देशानुसार अनुरोध छ। ” उच्च स्रोतका अनुसार करिब एक महिनामा अनिवार्य अवकाशमा जान लागेका एआइजी चन्दले विभागीय नीति र आचरण बिपरित काम गर्ने डीएसपीलाई कारबाही गर्नुको सट्टा पाँच लाख रुपैयाँ लिएर कारबाहीबाट बचाउन खोजेको र पैसा नापाएपछी कारबाही थालेको खबरले नेपाल प्रहरीमा खैलाबैला मच्चिएको छ। आर्थिक रुपमा बदनाम एआइजी चन्द आगामी चैत २८ गते तिस बर्षे सेवाहदका कारण अनिवार्य अवकाशमा जाँदैछन्।

तपाईको प्रतिक्रिया