लन्डन — एक वृद्ध भूपूगोर्खा सैनिकको हत्या अभियोगमा एक महिलालाई ब्रिटेनको अदालतले जेल सजाय सुनाएको छ । सेन्ट्रल क्रिमिनल कोर्ट, ओल्ड बेलीले सुनमाया तामाङलाई बिहीबार ८ वर्षको जेल सजाय सुनाएको हो ।

बेलायत भिक्टोरिया रोड, अल्डरसट निवासी ५१ वर्षीया तामाङले गत वर्ष मफलर प्रयोग गरेर ७५ वर्षीय मान लिम्बूको हत्या गरेको प्रहरीले जनाएको थियो । तामाङले त्यसपछि लिम्बूको घरमा गएर उनकी श्रीमतीलाई धम्क्याउनुका साथै उनको गाला टोकिदिएकी थिइन् ।

हयाम्पसायर प्रहरीका अनुसार लिम्बू गत मार्च १०, २०१७ मा भिक्टोरिया रोडस्थित फ्ल्याटमा साँझ साढे ५ बजेतिर अचेत अवस्थामा भेटिएका थिए । प्रहरी र एम्बुलेन्स कर्मचारी घटनास्थल पुगेलगत्तै वृद्ध मृत घोषित गरिए । ‘जब ती वृद्ध भुइँमा ढले, सुनमायाले उनलाई घिसार्दै भान्सामा लगिन् र टाउकोमुनि प्लास्टिक झोला राखिदिइन् जसले गर्दा रगत बगेर कार्पेटमा जान रोकिन्थ्यो,’ ओल्ड बेलीले भनेको छ ।

त्यसपछि सुनमाया खुकुरी बोकेर लिम्बूको घर गएकी थिइन् । घर गएर उनले लिम्बूकी ४८ वर्षीया श्रीमती गायत्रीदेवीसँग वादविवाद गरी टोकेर मारिदिने धम्की दिँदै गाला टोकेकी थिइन् । गतवर्ष नोभेम्बरमा विनचेस्टर क्राउन कोर्टमा सुनुवाइपछि अदालतले सुनमायालाई अपराधमा दोषी ठहर गरे पनि लिम्बूको नियतवश हत्या नगरेको ठहर गरेको थियो ।

अभियोजन पक्षका स्टेफेन हार्भेले भनेका छन्, ‘तामाङले किन अपराध गरिन्, कहिल्यै नखुल्न सक्छ तर उनले अपराध गरेकामा शंका छैन ।’ तामाङका छोराछोरीले आफूहरुले मान लिम्बूको शव आफ्नै घरको भान्सा कोठामा भेट्टाएको बताएका थिए ।

तामाङले एउटा कागजमा नेपाली भाषामा ‘यो मानिस मेरो घरमा आयो, उसले ढोका ढकढक गर्‍यो र मलाई हमला गर्‍यो । त्यसपछि मैले पनि त्यसको जवाफ दिएँ । यसमा मेरा छोराछोरीको कुनै दोष छैन’ लेखेर छाडेकी थिइन् ।

वरिष्ठ अनुसन्धान अधिकारी गुप्तचर निरीक्षक साइमन बेकरले भने, ‘मैले आशा लिएको छु कि आजको फैसलाले मान लिम्बूको परिवारलाई केही सान्त्वना मिल्नेछ र उनीहरु त्यो दिनको घटनाबाट अघि बढ्न सक्नेछन् ।’ प्रहरीले यस घटनालाई ‘अपरेसन डोभ’का रूपमा अनुसन्धान अघि बढाएको थियो । कान्तिपुरमा खबर छ ।

तपाईको प्रतिक्रिया