काठमाडौं – ११ महिना अघि रोजगारीका लागि साउदी अरेरिबया पुगेका ६ नेपाली आइतबार रित्तो हात घर फर्किएका छन् ।

काठमाडौंको प्रिसिस मेनपावरमार्फत साउदी गएका उनीहरूलाई रोजगारदाताले पारिश्रमिक नदिएपछि बाध्य भएर घर फर्केका हुन् । घर फर्कनेमा सोलुखुम्बुका बलबहादुर राई, सुर्खेतका कर्णबहादुर घले, बाँकेका नन्दु बिके, सल्यानका लोकमान कामी, ओखलढुंगाका युवराज दर्जी र सल्यानका रमेश केसी छन् ।

मेनपावरलाई ७२ हजारदेखि एक लाख २० हजार रुपैयाँसम्म बुझाएर साउदी गएका ती युवाले तीन महिनाको मात्र तलब पाएपछि घर फर्कनु परेको बताए । तलब नपाएपछि नेपाली साझा मञ्चमार्फत साउदीको श्रम अदालतमा मुद्दा दायर गरेका उनीहरूलाई घर फर्कने क्रममा हवाई टिकट उपलब्ध गराएको थियो । स्वदेश फर्केका उनीहरूले मेनपावरविरुद्ध मुद्दा दायर गर्ने बताएका छन् ।

वैदेशिक रोजगार ऐन २०६४ मा श्रम सम्झौता अनुसार पारिश्रमिक नपाए त्यस्ता कामदारलाई दावी रकममा ५० प्रतिशत थपेर क्षतिपूर्ति उपलब्ध गराउ पर्ने उल्लेख छ । रोजगारदाताले पारिश्रमिक नदिएर अलपत्र परेका कामदारलाई उद्धारमा सहयोग पुर्‍याएको नेपाली साझा मञ्चकी कार्यबाहक अध्यक्ष शारदा भुसालले पीडितलाई स्वदेशमा आवश्यक पर्ने अन्य सहयोग पनि उपलब्ध गराउने बताइन् ।

तपाईको प्रतिक्रिया