सोल । नेपालमा ब्युटी पार्लर चलाएर मासिक ३५ हजार कमाइ गरिरहेकी महिला अहिले कोरियाको साग बारीमा नंग्रा खियाउँदै छिन्। कैंची र कपाल मुसार्ने सुकिला हातहरू अहिले सागको फेंद नाप्न तल्लीन छन्। उनको अहिले मासिक कमाइ भने नेपालको भन्दा तीन गुना बढी छ। ईपीएसमार्फत कोरिया आउन पाएपछि राम्रै चलेको पार्लर बेचेर उनी कोरिया आएकी हुन्। ३० देखि ४० डिग्रीको तापक्रममा प्लास्टिकको फिनेल हाउसभित्र पसिनाले आँखा बिजाउँदा, टुक्रुक्क बसेर खुट्टा सार्दै, निहुरिएर कुप्री पर्दै साग टिप्दा, ‘किन आएँछु नि कोरिया’ भन्ने मनमा उब्जिन्छ। बैंक खातामा तलब देखेपछि त्यो मनमा मलहम लागे झैं हुन्छ। ‘यसो गर्ने उसो गर्ने भन्ने योजना बुन्नतिर लाग्छ मन,’ योगिताले सुनाइन्।

सागबारीमा भन्दा अलिक सजिलो हुने सुनेपछि काम परिवर्तन गरी च्याउ हाउसमा पुग्दा चिसोले पिनास र टन्सिलको सिकार हुनुपरेको अर्की महिलाको अनुभव छ। थरीथरीको च्याउ खेती गरिने कोरियामा समस्या पनि थरीथरीकै छन्। कहीँ दिनभरि एकहोरो च्याउका जरा काटेकाकाटै गर्दा नाडी सुन्निएर हैरान। कहीँ च्याउले भरिएका बक्सा उचाल्ने र राख्ने गर्दागर्दै पाखुरा सुन्निएर हैरान। कतै सिन्काजस्ता त कतै छाताजस्ता च्याउ टिप्नलाई पनि त्यत्तिकै सकस, भाँच्चिएला की भन्ने डर अनि छिटोछिटो गर्नुपर्ने अर्डर सुनाउँछन् कार्यरत महिलाहरू।

सुन्दा सजिलो लाग्छ टमाटर टिप्ने। तर, ५ फिटभन्दा अग्ला थांग्रामा फलेका टमाटर टिप्न सानो मोटरको प्रयोग गर्नुपर्ने हुन्छ। यसो दायाँ–बायाँ फर्किंदा सानो सुरिलो अग्लो मोटर पल्टिने पो हो कि डर छ, अर्की महिलालाई। नेपालमा प्रयोगविहीन सिलमको पात टिप्ने काम छ कोरियामा। झट्ट सुन्दा अनौठो लागे पनि नेपालबाट यही कामका लागि साहुले भिसा लगाइदिएको हुुन्छ। पात टिप्दा बोट लाछिनु भएन, भाँच्चिनु भएन, अनि पातको साइजअनुसार मिलाएर प्याकिङ गर्नुपर्छ। दिनभरिमा साहुले भनेअनुसारको प्याकिङ नपुगे अप्रिय कामदार ठहरिन्छ।

काँक्रा र फर्सी बारीमा काम गर्ने प्रमिलाको अनुभव फरक छ। साहुसाहुनी अत्यन्तै मायालु र तलब पनि भनेजति पाए पनि काँक्रा र फर्सीको झुसले एलर्जी भएर छालामै समस्या देखिएपछि काम छाडेर निस्कनुपरेको तितो अनुभव छ उनीसँग। फाफ्रिका (भेंडे खुर्सानी) को काम गर्दा दिनभरि बोटलाई माथि उठाउँदै डोरीले कस्दा औंलाहरू सुन्निएर महिना नपुगी काम छाड्नुपरेको सुनाउँछिन अर्की महिला।

कृषि भिसामा कोरिया आएका महिलाहरूले गर्ने कामहरूमध्ये केही उदाहरणहरू हुन् माथिका। विषेशगरी कृषि भिसामा आएका महिलाहरू खेतबारीमा खेती गरिने हरिया तरकारी, फलफूल, जडीबुटी तथा कुखुरा, बंगुर र गाई फर्ममा काम गर्ने गर्छन्। कोरियनहरूले खाने (विषेशगरी मासुलाई पोको पारेर काँचै खाने सागहरू) धेरै प्रकारका सागको खेती गर्छन्। धेरैजसो सागको खेती जमिनमै गरे पनि मिनारी नामक साग भने पानीमा गरिन्छ। पानीमा काट्ने काम पुरुषले गरे पनि त्यसको प्याकिङ गर्ने काम महिलाहरूले गर्छन्। कोरियनहरूले हरियो सागपात धेरै खाने भएकाले खेती पनि धेरै गरिन्छ। स्ट्रबेरी, स्याउजस्ता फलफूल खेतीमा काम गर्ने महिलाहरूको संख्या पनि धेरै छ।

उत्पादन क्षेत्रमा काम गर्ने महिलाहरू प्लास्टिक, फलाम र सिसा, काष्ठ उद्योग, छापाखाना, खाद्यान्न र विभिन्न सामग्री उत्पादनलगायत कम्पनीमा काम गर्छन्। दिन रात प्लास्टिकको धूलो, फलाम र विभिन्न केमिकलसँग खेल्नु उनीहरूको दैनिकी बन्छ।

कोरियामा धेरै प्रकारका च्याउको खेती गरिने भएकाले धेरै नेपाली महिलाहरूले काम गर्ने थलो च्याउ खेती पनि एक हो। साहुअनुसारको आफ्नै नियम हुन्छ। छोटो समयमै च्याउ बढ्ने र त्यही बेला नटिपे बिग्रने भएकाले पनि साँझ, बिहान वा रात केही नभनी काम गर्नुपर्ने हुन्छ। कतै तातो र चिसो तापक्रम र विभिन्न औषधिको प्रयोग गरिने र निहुरिएर काम गर्नुपर्ने भएकाले विशेषगरी ढाड दुख्ने, टाउको दुख्ने जस्ता विभिन्न स्वास्थ्य समस्या देखिने गर्छ। बंगुर फर्ममा काम गर्ने कल्पना बंगुरको खुट्टाले लागेर घाइते भएपछि लामो समय अस्पतालमा बस्नुपरेको थियो।

उत्पादनमूलक क्षेत्रमा काम गर्न आउने महिलाहरू पनि त्यत्तिकै जोखिम मोलेर काम गरिरहेका हुन्छन्। धेरैजसो महिलाहरू पार्टपुर्जा बनाउने कम्पनीमा काम गर्न रुचाउँछन्। खाद्यान्न कम्पनीमा काम गर्दा तातो पानीमा खुट्टा डुबेर औषधि गर्नुपरेको अनुभव मायाको छ। कोरिया आएको चार महिनामै कुखुराको मासुसम्बन्धी कम्पनीमा मेसिनमा चेपिएर गोर्खाकी र्सिजना पन्थीको ज्यान गयो।

उत्पादन क्षेत्रमा काम गर्ने महिलाहरू धेरैजसो मेसिनसँग तालमेल मिलाएर काम गर्नुपर्ने हुन्छ। छिटो र सतर्क भएर काम गर्नु यो क्षेत्रको मुख्य चुनौती हो। फलामको धूलो र विभिन्न कडा केमिकलसँग काम गर्नु अर्को जोखिम हो। त्यसैगरी लगातार १२ घण्टा अनिवार्य जस्तै हो भने १६ घण्टासम्म काम गर्नुपर्ने हुन्छ। अझ दैनिक र साप्ताहिक दिनमा र रातमा काम गर्नुपर्दा स्वास्थ्यमा पर्ने असर अर्को जोखिम हो। आजको कान्तिपुर दैनिकले खबर छापेको छ।

त्यसैगरी जहाज बनाउने कम्पनीमा तलब बढी पाउने लोभले केही महिलाहरू खोजी खोजी जाने गर्छन्। मासिक तलब नै अरू ठाउँमा भन्दा केही बढी हुन्छ भने एक वर्ष काम गरेपछि मासिक ६ लाख वन (झन्डै ६० हजार रुपैयाँ) बोनसका रूपमा थप दिने भएकाले पनि महिलाहरू बढी आकर्षित हुने गर्छन्। तर, काम भने अत्यन्तै जोखिमपूर्ण हुने गर्छ। किनकि त्यहाँ गरिने काम पानी जहाजमा रङ लगाउने हो।

तपाईको प्रतिक्रिया