काठमाडौँ — हामी १२ जना ट्राभल एजेन्सीका पर्यटन व्यवसायी र यूएस बंगलाका २ जना प्रतिनिधिहरु बंगलादेशको कोक्स बजारमा हुन गइरहेको कस्टमर सक्सेस समिट भनेर ९ तारिखमा त्यसतर्फ प्रस्थान गरेका थियौं ।

ल्यान्ड गर्ने बेला जहाजले सामान्यभन्दा बढी समय लगायो। काठमाडौंमाथि दुई–तीन चक्कर लगाएपछि आज आकाशमा धेरै ट्राफिक रहेछ भन्ने हामीले बुझ्यौं। यसले नेपाल आउने पर्यटक बढेको संकेत दिन्छ। एक पर्यटन व्यवसायीका रूपमा यो हाम्रा लागि खुसीको कुरा थियो।

केही बेरमै हामी जिन्दगीकै कहालीलाग्दो क्षणतर्फ बढ्दै थियौं।

जब जहाज कम उचाइमा झर्यो, मलाई असामान्य अनुभूति भयो। मसँग धेरैपटक धेरै खाले जहाज चढेको अनुभव छ। काठमाडौंमा अवतरण गर्दा पहाडमा ठोक्किएला जस्तो अनुभव कहिल्यै भएको थिएन।

आज भने त्यो जहाज पहाडको एकदमै नजिकबाट तल झरेको थियो। जहाजका पांग्राले धावनमार्ग छुनुअघि नै हामीले सिटमै एक किसिमको कम्पन महशुस गरेका थियौं। जहाज अस्वाभाविक रूपमा थर्रर हल्लियो। अवतरण हुन लागेको जहाज जमिनमा यस्तरी बजारियो, मानौं कुनै पहाडमा ठोक्किएको होस्।

जहाज घुइँय्य गरेर घिस्रिँदै कतै बजारिएको हामीले अनुभव गर्यौं। कोलाहल मच्चियो। यात्रुहरू सिटबाट लडे। कोही सिटमै अड्किए। कोही सिटैले थिचिए। सिटमाथिको सामान राख्ने डब्बा खुलेर झोलाहरू छरपस्ट झरेका थिए।

जहाज कुनै कारणले आकस्मिक अवतरण गर्दा धावनमार्गबाट बाहिर खसेको हामीले बुझ्यौं। अब एउटै चुनौती कसरी सकुशल निस्कने भन्ने थियो।

हामी आ–आफू च्यापिएका ठाउँबाट उठ्न खोज्यौं, सकेनौं। त्यहीबेला सबैलाई अत्याउने गरी जहाजको पछिल्लो भागबाट धुवाँको मुस्लो उड्यो। त्यही मुस्लो पछ्याउँदै आगोको लप्का छुट्यो। आगोको लप्कासँगै जहाजलाई यात्रुको चित्कारले छोप्यो।

तपाईको प्रतिक्रिया