काठमाडौं, ५ चैत । खानेपानी तथा सरसफाइ मन्त्रालयका सचिव गजेन्द्रकुमार ठाकुरसहित एक दर्जनभन्दा बढी कर्मचारी छड्केमा परेका छन् । खानेपानी तथा सरसफाइमन्त्री विना मगरले आइतबार १० बजे मन्त्रालयमा छड्के जाँच गर्दा ती कर्मचारी अनुपस्थित थिए ।

मन्त्री मन्त्रालय पुग्दा सचिव ठाकुर, सहसचिव अनिल खनाल, ज्योतिकुमार श्रेष्ठसहित एक दर्जनभन्दा बढी कर्मचारी अनुपस्थित भएको मन्त्रालय स्रोतले बतायो । नागरिक दैनिकले समाचार छापेको छ ।

‘पहिलो दिनमै सचिव, सहसचिवसहित दर्जनभन्दा बढी कर्मचारी अनुपस्थित हुनु राम्रो होइन’, मन्त्रीको भनाइ उदृत गर्दै एक कर्मचारीले भने, ‘भोलिदेखि कार्यालय समयमा उपस्थित नहुने र तोकिएको काम नगर्ने कर्मचारीमाथि कारबाही अघि बढ्छ ।’ उनले अनुपस्थित हुने कर्मचारीको नाम टिपेर लगेकी छन् ।

मन्त्रालयका प्रवक्ता शंकर सुवेदीले भने मन्त्रीले छड्के गरेको सम्बन्धमा आफूलाई कुनै जानकारी नभएको बताए । ‘खै मन्त्रीले छड्के गरेको भन्ने त मैले थाहै पाइनँ’, सहसचिव सुवेदीले भने ।

तपाईको प्रतिक्रिया