बागलुङ । लामो समय बन्द रहेको बागलुङको बलेवा विमानस्थल चैत ९ गतेदेखि नियमित उडान भर्ने गरी सञ्चालनमा आउने भएको छ । तारा एअरको विमानले आज सफल परीक्षण उडान गरेसँगै बलेवा विमानस्थल पुनः सञ्चालनमा आउने निश्चित भएको हो ।

बागलुङ नगरपालिका–१४ मा रहेको २०४८ सालदेखि बन्द विमानस्थल सञ्चालनका लागि यसअघि पनि पटक पटक पहल र प्रयास भए पनि सफल हुन सकेको थिएन ।

यद्यपि बागलुङ नगरपालिकाको बिशेष पहलमा यात्रु अभाव हुँदाको खर्च व्यहोर्ने सुनिश्चिततासहितको निर्णय गरी विमानस्थल सञ्चालनमा आएको हो । जसको लागि तत्काल नगरपालिकाले ४० लाख बजेट समेत विनियोजन गरिएको बागलुङ नगरपालिकाका मेयर जनकराज पौडेलले बताउनु भयो ।

विमानस्थलमा २६ वर्ष पछि विमान आउदा स्थानीयहरु खुसी भएका छन् । विमान सञ्चालन हुँदा धौलागिरी अञ्चलका मुस्ताङ, म्याग्दी, पर्वत र बागलुङ लाभान्वित हुनेछन् भने कालीगण्डकी करिडोरको कारण गुल्मी जिल्लाले समेत सेवा लिन मिल्ने छ ।

विमानस्थल सञ्चालनमा आउनु सुखद् पक्ष हो तर आवश्यक भौतिक संरचनाको पूर्व तयार नै नगरी सञ्चालन हुदा यात्रुले समस्या भोग्नु पर्ने बताइएको छ । २६ वर्ष पछि नियमित उडान भर्नु अगाडि तीन पाइलटहरुले तारा एअरलाईन्सको जहाजको परीक्षण उडान भरेका हुन ।

परीक्षण उडान पछि उडान सफल भएको भन्दै क्याप्टेन सन्तोष शाहले नियमित उडान भर्नलाई समस्या नरहेको बताउनु भयो ।

हाल .तारा एयर र नेपाल वायुसेवाले हप्तामा एक–एक पटक उडान भर्ने गरी तयारी थालिएको छ । हाल बलेवा विमानस्थलबाट काठमाण्डौंका लागि मात्र उडान भरिने छ जसको भाडादर ६ हजार ५ सय कायम गरिएको छ ।

तपाईको प्रतिक्रिया