काठमाडौं । पूर्व प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष प्रचण्डलाई पक्राउको माग गर्दै अमेरिकामा उजुरी परेको छ । अमेरिकी विश्वविद्यालयमा अध्ययनरत नेपाली तिलक बहादुर श्रेष्ठले अमेरिकी गुप्तचर संस्था एफबिआईमा उजुरी दिँदै पूर्व प्रधानमन्त्री प्रचण्डलाई पक्राउ गर्न भनिएको छ ।

उजुरीमा प्रचण्डलाई परिचित आतंकवादी भनिएको छ । उनले जनयुद्धको समयमा १७ हजार नेपालीको ज्यान लिएको र उनको नाम अमेरिकाको आतंकवादीको सूचीमा समेत रहेकोले उनलाई पक्राउ गरी कारबाही गर्नको लागि आग्रह गरिएको छ ।

श्रीमती सीता दाहालको उपचारको लागि अमेरिका पुगेका प्रचण्ड जोन हकिङ्स अस्पतालमा रहेको बताउँदै उजुरीकर्ता श्रेष्ठले नैतिक मूल्य र मान्यता, अन्तराष्ट्रिय कानून र अमेरिकाले आतंकवाद विरुद्ध लिएको प्रतिवद्धताको आधारमा उनलाई पक्राउ गर्नुपर्ने उल्लेख गरेका छन्। प्रचण्ड अमेरिकामा पत्नि सीताको उपचारका लागि १० दिन बस्ने पूर्वनिर्धारित कार्यक्रम छ ।

अमेरिका सवैभन्दा वढी नेपाली समुदायले स्थायी रुपमा बसोवास गर्ने देश हो । नेपालले प्राप्त गर्ने रेमिट्यान्समा अमेरिकाको सवैभन्दा वढी हिस्सा छ । गत आर्थिक बर्षमा मात्र अमेरिकावाट १ सय ७० अर्ब रुपैंया नेपाल गएको थियो । प्रचण्डले यस अघि अमेरिकाको विरुद्ध र भेनेजुयलाको पक्षमा सार्वजनिक गरेको विज्ञप्तीलाई लिएर अमेरिकामा बस्ने नेपालीहरुले सामाजिक सञ्जाल मार्फत अहिले प्रहार गरिरहेका छन् । उनीहरुले गाली गरेकै देशमा औषधी उपचारका लागि श्रीमतीलाई किन ल्याउनु पर्यो भन्दै सामाजिक सञ्जालमा लेखेका छन् ।

तपाईको प्रतिक्रिया