सत्तारुढ नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) विरुद्ध अमेरिकाले कुनै एक्सन लिने स्थिति नरहेको बताएका छन्।

पत्नी सीता दाहालको उपचारको सिलसिलामा आइतबार अमेरिका प्रस्थान गरेका प्रचण्ड विरुद्ध तिलकबहादुर श्रेष्ठ नामका व्यक्तिले अमेरिकाको आतंकवादी सूचीमा रहेको व्यक्ति भन्दै निवेदन दिएका थिए।

प्रचण्ड नाम गरेको व्यक्ति अमेरिकी आतंकवादी सूचीमा रहेको व्यक्ति भएको दावी गर्दै श्रेष्ठले ‘आतंकवादविरुद्ध अमेरिकी अडान, नैतिक मूल्य र आतंकवादका सम्बन्धमा आन्तरिक र अन्तर्राष्ट्रिय कानूनलाई ख्याल गर्न’ भनेका छन्। यस सम्बन्धमा कहाँ उजुरी गर्ने हो, त्यो आफूलाई जानकारी नभएको बताउँदै श्रेष्ठले आफ्नो उजुरी सम्बन्धित निकायमा अघि बढाउन आग्रह समेत गरेका छन्।

अमेरिकाको केन्टुकी स्टेट युनिभर्सिटीमा कार्यरत भनिएका श्रेष्ठले प्रचण्डविरुद्ध यस्तो उजुरी दिएपछि के होला भन्ने तीब्र जिज्ञाशा नेपालमा उत्पन्न भएको छ। तर, पूर्व परराष्ट्रमन्त्री समेत रहेका प्रवक्ता श्रेष्ठले उजुरीकर्ता श्रेष्ठको दावी नै गलत तथ्यमा आधारित भएको दावी गर्दै प्रचण्डविरुद्ध अमेरिकाले एक्सन लिने स्थिति नै नभएको दावी गरे।

‘जनयुद्धको क्रममा अमेरिकाले तत्कालिन माओवादीलाई आतंककारी सूचीमा राखेको हो’ श्रेष्ठले भने, ‘शान्ति प्रक्रियामा आएपछि पार्टी र अध्यक्षको नाम त्यो सूचीबाट हटिसकेको छ। त्यसैले, उहाँलाई केही हुँदैन।’ ‘जसले पार्टी अध्यक्षविरुद्ध उजुरी दिएका छन्, उनले दावी गरेको तथ्य नै गलत छ, गलत तथ्य पेश गरेकाले त्यो त्यत्तिकै निष्क्रिय भएको छ’ उनले थपे, ‘बरु द्विपक्षीय मामिलामा छलफल हुनेगरी अमेरिकी उच्च अधिकारीहरुसँग छलफल हुने सम्भावना छ।’

आइतबार अमेरिका प्रस्थान गर्नुअघि प्रचण्डले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र मन्त्रालयले आफ्नो अमेरिका भ्रमणबारे जानकारी गराएको बताउँदै उच्चस्तरीय भेटघाटको सम्भावना रहेको बताएका थिए। दक्षिण एसिया मामिला हेर्ने उपविदेशमन्त्री स्तरका अमेरिकी अधिकारीसँग सहज रुपमा भेट हुने स्थिति रहेको स्रोतले बतायो। स्रोतले भन्यो, ‘अझ उच्चस्तरको भेटघाटको प्रयास जारी छ।’ श्रोत नेपाल खबर

तपाईको प्रतिक्रिया