बार्सिलोना । अर्जेन्टिनाका चर्चित खेलाडी तथा बार्सिलोनाका सुपर स्टार लियोनल मेस्सीले अचानक फुटबल खेलबाट सन्यास लिने संकेत गरेका छन् । उनले रसियामा हुने विश्व कप जित्न नसकेमा आफुले सन्यास लिन सक्ने संकेत गरेको अन्तराष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । ३० वर्षे सुपर स्टार मेस्सीले क्लबबाट सबै खाले अन्तर्राष्ट्रिय उपाधि जितेपनि राष्ट्रिय टोलीका लागि भने उनले महत्वपूर्ण उपाधि दिलाउन नसकेका बेला यस्तो संकेत गरेका हुन् ।

सन् २०१४ को विश्व कपमा फाइनल पुगेको अर्जेन्टिना उपाधिबाट विमुख भएपछि मेस्सीलाई हेर्ने नजरमा फरक आएसँगै अहिलेको खेलमा उनीबाट विशेष अपेक्षा गरिएका बेला ला कोनिसासँगको अन्र्तवार्ताका क्रममा मेस्सीले भनेका छन्, ‘यदि हामीले रसिया विश्व कप जित्न सकेनौं भने हामीले राष्ट्रिय टोलीबाट अलग हुनु ठिक हुन्छ । हामी त्यस्तो सच्छौं । रसियामा उपाधि जित्ने सपना मैले देखेको छु ।’

सन् २०१४ मा थप समय सम्म पुगेको विश्व कप फाइनलमा अर्जेन्टिना जर्मनीसँग १–० ले पराजित भएको थियो । विश्व कपको समूह डीमा अर्जेन्टिनाले आइल्यान्ड, क्रोएसिया र नाइजेरियाको सामना गर्नेछ । राष्ट्रिय टोलीबाट १ सय २३ खेल खेलेका मेस्सीले ६१ गोल गरेका छन् । उनी विश्वका चर्चित खेलाडीहरुको सूचिको शीर्ष स्थानमा पर्छन् ।

तपाईको प्रतिक्रिया