एजेन्सी ताइवान र हङकङमा भइरहेका गतिविधिविरुद्ध चिनियाँ राष्ट्रपति सी जिनपिङ क्रुद्ध

चीनका राष्ट्रपति सी जिनपिङले चीनमा विभाजनको प्रयत्न गर्नेको विनाश हुने चेतावनी दिएका छन् । चीनको नाम मात्रको संसद् नेसनल पिपुल्स कंग्रेसलाई सम्बोधन गर्दै राष्ट्रपति सीले सो चेतावनी दिएका हुन् ।

चीनको राष्ट्रिय एकता नै आमचिनियाँ नागरिकको सामूहिक आशा भएको बताउँदै विखण्डनको प्रयास गर्नेले विनाशको सामनाका लागि पनि तयार हुनुपर्ने उनले बताए । ताइवान र हङकङबाट भइरहेका ‘विखण्डनकारी’ गतिविधिविरुद्ध सीको कडा चेतावनी आएको हो ।

एक इन्च भूमि पनि अतिक्रमण हुन्न ग्रेट हल अफ दी पिपुल्समा मंगलबार सम्बोधन गर्दै राष्ट्रपति सीले बारुद र कन्फ्युसियसको लेखनको आविष्कार चिनियाँ इतिहासको महत्वपूर्ण उपलब्धि भएको बताए । आफ्नो दृष्टिकोण सार्वजनिक गर्दै राष्ट्रपति सीले समाजवादले मात्र चीनको रक्षा गर्ने विषयलाई इतिहासले प्रमाणित गरेको बताए । उनले भने, ‘हाम्रा शत्रुविरुद्ध रक्तपातपूर्ण युद्ध लड्न चिनियाँ नागरिकमा उत्साह छ ।’ चीनको विश्वव्यापी महत्वाकांक्षालाई औँल्याउँदै उनले चीन विश्वमै शक्तिशाली हुने तर आक्रामक रूपमा प्रस्तुत नहुने बताए । समुन्नतिका लागि चीनमा एकता कायम गर्नुपर्ने बताउँदै उनले भने, ‘हाम्रो महान् देश चीनको भूमिबाट एक इन्च पनि अलग गर्न असम्भव छ । देशलाई टुक्र्याउन गरिने तिकडमको विनाश हुनेछ । विभाजनको चिनियाँ जनताले तिरस्कार गर्ने र इतिहासले सजाय दिनेछ ।’

ताइवान र हङकङविरुद्ध रुष्ट राष्ट्रपति सी ताइवान र हङकङका ‘स्वायत्त’ गतिविधिविरुद्ध आक्रोशित बनेको चिनियाँ सञ्चारमाध्यमहरूले जनाएका छन् । ताइवानले आफूलाई स्वायत्त क्षेत्रको रूपमा लिएको छ तर बेइजिङले विद्रोही क्षेत्रको रूपमा हेर्दै आवश्यक परे बलपूर्वक चिनियाँ मूलभूमिमा एकजुट हुनुपर्ने बताउँदै आएको छ । पछिल्लो समयमा ताइवान मुद्दा चीनको विवादको मुख्य केन्द्र बनेको छ । गत साता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एक नयाँ कानुनमा हस्ताक्षर गर्दै अमेरिकी उच्च अधिकारीको समूह ताइवान पठाउन सक्ने र आवश्यक परेमा ताइवानी अधिकारी अमेरिका जान पाउने नयाँ व्यवस्था लागू गरेका थिए । सो नयाँ व्यवस्थाप्रति बेइजिङ क्रुद्ध छ । पछिल्ला वर्षमा हङकङमा अझै बढी स्वायत्तता र स्वतन्त्रताको आवाज बढेको छ । स्वतन्त्रताको माग गर्दै हङकङवासीले सडक आन्दोलन चर्काएका छन् ।

शक्तिशाली राष्ट्रपति सन् २०१३ मा राष्ट्रपतिमा निर्वाचित भएका सी जिनपिङको अनन्त कालसम्म चीनको नेतृत्व गर्ने सम्भावना बढेको छ । वर्षमा एकपटक मात्र बस्ने नाम मात्रको संसद् नेसनल पिपुल्स कंग्रेस (एनपिसी)ले एक साताअघि राष्ट्रपतिलाई दुई कार्यकालमा मात्र सीमित गर्ने व्यवस्थालाई हटाएसँगै उनी अनिश्चित कालसम्म सत्तामा रहने संकेत देखिएको छ । राष्ट्रपति सी माओत्सेतुङपछिकै शक्तिशाली राष्ट्रपति बनेका छन् । एनपिसीको बैठकमा आफ्ना प्रमुख सहयोगीलाई नेतृत्वमा राखेर राष्ट्रपतिले आफ्नो शक्ति अझै बढी सुदृढीकरण गरेका छन् ।नयाँ पत्रिकाले छापेको छ ।

सवा करोडलाई रोजगारी दिइने लक्ष्य चीन सरकारले यस वर्ष करिब एक करोड ३० लाख नयाँ रोजगारी सिर्जना गर्ने जनाएको छ । मंगलबार बेइजिङमा आयोजित एक पत्रकार सम्मेलनमा चिनियाँ प्रधानमन्त्री ली खछ्याङले सो जानकारी दिएका हुन् । ‘चीनले सन् २०१८ मा चीनको सहरी क्षेत्रमा एक करोड ३० लाख नयाँ रोजगारी सिर्जना गर्नेछ,’ उनले भने । रोजगारी कुनै व्यक्ति वा परिवारका लागि मात्र नभई सरकार र देशका लागि नै महत्वपूर्ण भएको उनले बताए । यस वर्ष ३० लाख मानिस रोजगारी पाउने आशामा गाउँबाट सहर पसेको उनले बताए । चीनको सहरी क्षेत्रमा ग्रामीण क्षेत्रबाट रोजगारीका लागि आउने कामदारहरूकोे संख्या २८ करोड छ । उनीहरूले चिनियाँ सहरी क्षेत्रमा आवश्यक कामदारको खाँचो टार्ने मात्र नभएर देशको अर्थतन्त्रमा पनि ठूलो योगदान पुर्याएको अनुमान सरकारको छ ।

खछ्याङले व्यापारमा विश्वव्यापी सहकार्यप्रति चीन प्रतिबद्ध रहेको बताए । चीनले देशको अर्थतन्त्र अझै बढी एक्सपोज गर्ने र घरेलु तथा चीनमा रहेका विदेशी कम्पनी चीनको बृहत् बजारमा प्रतिस्प्रर्धा गर्न सक्षम रहेको उनले बताए । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाबाट निर्यात हुने स्टिलका सामग्रीमा भारी कर लगाउने घोषणा गरिरहेकै वेला चिनियाँ प्रधानमन्त्रीको सो अभिव्यक्ति आएको हो।

तपाईको प्रतिक्रिया