सियोल – दक्षिण कोरियाका होटलहरूमा सानो क्यामेरा जडान गरेर स्पाइ क्यामेरामार्फत मानिसहरूको संवेदनशील विषयको गोप्यरूपमा भिडियो खिच्ने चार जनालाई प्रहरीले बुधबार गिरफ्तार गरेको छ । उनीहरूले होटलका रुममा रहेका १ हजार ६ सय जना मानिसको गोप्य विषयको भिडियो खिचेर एउटा वेबसाइटलाई बेच्दै आएको बताइएको छ । यो समाचार आजको सौर्य दैनिकमा प्रकाशित छ ।

उनीहरूले टिभी, हेयर ड्रायर होल्डर, सकेट लगायतका स्थानमा मिनी क्यामेरा जोडेर यस्ता गतिविधि सञ्चालन गर्दै आएका थिए । दोषी साबित भएमा उनीहरूलाई १० वर्ष जेल सजाय तोकिनुका साथै २६ हजार ५ सय ७१ डलर जरिवाना तिराइनेछ ।यौन र नग्नताको गोप्य ढंगले भिडियो खिच्ने कार्य दक्षिण कोरियामा बढ्दै गएकोले सर्वत्र आलोचना भइरहेको छ । यस्ता गतिविधि बढ्दै गएकाले केही समयअघि त्यहाँ महिलाहरूले विरोध प्रदर्शनसमेत गरेका थिए ।

प्रहरीका अनुसार गएको अगस्ट महिनामा प्रहरीले १० वटा दक्षिण कोरियाली सहरका ३० वटा होटलमा १ एमएम लेन्सको क्यामरा जोडेर भिडियो खिचेको पाइएको थियो ।पोर्नोग्राफीको उत्पादन र वितरण दक्षिण कोरियामा अवैध रहँदै आएको छ । दक्षिण कोरियामा यो विषय निकै ठूलो समस्या रहँदै आएको छ । सन् २०१७मा यस खालका ६ हजार मुद्दा दर्ता भएका थिए । यस्ता घटनामा संलग्न भएको आरोपमा प्रहरीले ५ हजार ४ सय मानिसलाई पक्राउ गरेको छ । तर २ प्रतिशतभन्दा कम मात्रै जेल गएका छन् ।

तपाईको प्रतिक्रिया