विराटनगर – उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले राष्ट्र र समाजका लागि गरिने योगदान कहिले पनि खेर नजाने बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) जिल्ला समिति मोरङद्वारा पूर्वउपप्रधानमन्त्री एवं नेपाली वाम लोकतान्त्रिक आन्दोलनका शिर्षस्थ नेता भरतमोहन अधिकारीको स्मृतिमा आज यहाँ आयोजित श्रद्धाञ्जलिसभामा उहाँले अधिकारी व्यक्ति एक तर व्यक्तित्व अनेक भएकाले कम्युनिष्ट पार्टीलाई जहिले पनि एकजुट गराएर लैजाने पक्षका हुनुहुन्थ्यो भन्नुभयो । उपप्रधानमन्त्री पोखरेलले निकै खारिएका र परिपक्व अधिकारीको सपना, योगदान र विचारले पार्टीलाई कालान्तरसम्म फाइदा भइरहने विचार व्यक्त गर्नुभयो ।

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले अधिकारी वाम आन्दोलनका सफल, सक्षम, दक्ष र सहज नेता हुनुहुन्थ्यो भन्नुभयो । अधिकारीको योगदानले राज्यबाट प्राप्त हुने सेवा र सुविधामा जनताको पहुँच पुगेको उहाँको भनाइ थियो । सफल अर्थमन्त्रीको रुपमा चिनिनुभएका अधिकारीले २०५१ सालमा बजेटमार्फत नेपाली जनता माझ ल्याउनुभएको ‘आफ्नो गाउँ आफैँ बनाऔँ’ नारा अहिलेसम्म लोकप्रिय रहेको मुख्यमन्त्री राईले बताउनुभयो ।

नेकपाका केन्द्रीय सदस्यद्वय गुरु बराल र देवराज घिमिरेले नेपाल कम्युनिष्ट पार्टीका एक इमान्दार, मेहनती र कर्मठ व्यक्तित्व अधिकारीले समाज विकासका निम्ति अनुकरणीय योगदान गरेको चर्चा गर्नुभयो । उहाँकी धर्मपत्नी सविताले अधिकारीले संकल्प लिएका विषय पार्टीले पूरा गराउनतर्फ ध्यान जानुपर्नेमा जोड दिनुभयो । नेकपा मोरङका सदस्य ऋषिराज पोखरेलको अध्यक्षतामा भएको सो कार्यत्रममा प्रा डा भेषप्रसाद धमला र डा प्रमोद झाले अधिकारीको योगदानले मजदुर र किसानको जीवनस्तर उकास्न निकै मद्दत पुगेको विचार व्यक्त गर्नुभयो ।

तपाईको प्रतिक्रिया