पहिलो पटक मलेसिया गएर कमाएको पैसाले मानबहादुर तामाङले सदरमुकाममा घडेरी किन्नुभयो । त्यसले मानबहादुरलाई विदेश गए कमाइन्छ नै भन्ने पर्यो । त्यस्तै आशामा दोस्रो पटक मलेसिया नै पुगेका मानबहादुरले यो पटकको पैसा जोगाउन पाउनुभएन ।

उहाँ विदेश गएपछि श्रीमती क्यान्सरले थलिनुभयो । श्रीमतीकै उपचारमा दोस्रो पटक कमाएको झण्डै ३ लाख सकियो । तर श्रीमतीलाई बचाउन सक्नुभएन् । आफूसँगै दुई छोरा अनि एक जना छोरी बेसाहारा जस्तै हुने भए भन्ने लागेपछि मानबहादुरले २०७३ माघमा दोस्रो बिहे गर्नुभयो ।

बिहेपछि एक तले घर पनि बनाउनुभयो । घर बनाउँदा ऋण लाग्यो । त्यही ऋण तिर्ने अनि कमाएर अर्को तला थप्ने सल्लाह भयो मानबहादुरका श्रीमान श्रीमतीको । एक जनाको कमाइले तला थप्न नसक्ने निष्कर्षमा पुगेपछि मानबहादुर २०७४ मंसिर २८ गते मलेसिया जानुभयो अनि एक महिना पनि नबित्दै शुष्मा कुवेत ।

मानबहादुरलाई गाडीको पाटपूर्जा बनाउने काम भनेर एजेण्टले एक लाख ५० हजार रुपैयाँ लिएपनि त्यहाँ पुगेपछि फर्निचरको काम गर्नुपर्यो । शुष्मा सिन्धुपाल्चोककै सिम्पालकाभ्रे ८ का ङ्यालु तामाङले फ्रि भिसा फ्रि टिकटमा पठाइदिने भनेपछि केही नसोची उसकै पछि लाग्नुभयो ।

उनले शुष्मालाई भारत पुर्याए । त्यहाँबाट भने भारतमै रहेका सिन्धुपाल्चोक कातर्चेका ह्याङलाल तामाङले पाँच हप्तापछि कुवेत पुर्याए । ‘सित्तैमा जाने भएँ भनेर फोन गरेकी थिइन्’ मानबहादुर भन्नुहुन्छ । शुष्माले कुवेत पुगेपछि पनि श्रीमानलाई फोन गर्नुभयो ।

काम राम्रै छ भनेपछि मानबहादुर ढुक्क हुनुभएको थियो । श्रीमतीले राम्रो छ भनेर सुनाएको एक पनि नबित्दै मानबहादुर चाहिँ मेडिकलमा फेल हुनुभयो । कमाउने सपनामा पूर्ण विराम लागेपछि मानबहादुर डेढ महिनामै घर फर्किनुभयो । ‘जाने बेलामा गौशालाको लालुपाते स्वास्थ्य संस्थामा चेक गराएको हो त्यहाँ पुगेपछि टिभी छ भनेर फर्काइदियो’ मानबहादुर भन्नुहुन्छ ।

घरेलु कामदारमा कुवेत पुगेकी शुष्माले पाँच जना बच्चा हेर्नुपर्ने, खाना पकाउने र सरसफाई पनि गर्नुपथ्र्यो । श्रीमानलाई राम्रो छ भनेको एक महिनासम्म त शुष्माले कुनै अप्ठ्यारो महसुस गर्नुभएन ।

तर एक महिनापछि साहुले दिनमा एक पटक मात्रै खान दिन थाले । ‘बेलुकीको ५/६ बजेतिर एक छाक मात्रै दिन्छ रे अनि अहिले त कुट्न पनि थालेको छ रे’ मानबहादुर भन्नुहुन्छ ।

एक दिन अचानक शुष्माको नाक र मुखबाट रगत बग्न थाल्यो । जसले गर्दा रिंगटा लागेर ढल्यो । विरामी भएको हुँदा साहुले कुवेतमा रहेको एजेण्टकोमा पुर्याईदियो । शुष्माको ठाउँमा अर्को कामदार मगायो । शुष्मालाई एजेण्टले सामान्य उपचार गरेपछि त्यही घरमा पुर्याइदियो ।

कि साढे तीन लाख, कि अर्की महिला यस्तो खबर सुनेदेखि नै मानबहादुरले श्रीमतीलाई घर फर्काउने सोच्नुभयो । उहाँले ङ्यालु तामाङलाई श्रीमतीलाई नेपाल झिकाइदिन आग्रह गर्नुभयो । तर ङ्यालुले शुष्मामा फर्काउन ह्याङलालले पैसामा मागेको जवाफ दिए ।

‘धेरै पैसा खर्च भइसकेकाले घर फर्काउनलाई पैसा चाहिन्छ भन्यो रे’ मानबहादुर भन्नुहुन्छ । एजेण्ट शुष्मालाई पैसा नतिरी फर्काउन मिल्दैन भनिरहेको छ तर शुष्माले चाहिँ फोन गरेर आफू त्यहाँ (कुवेतमा) बस्न नसक्ने भन्दै तत्कालै फकाउन भनिरहनुभएको छ ।

एजेण्टले पैसा दिन नसके शुष्माको ठाउँमा अर्की महिला पठाउनुपर्ने सर्त राखेपछि मानबहादुरलाई समस्यामा पारेको छ । एजेण्टका सर्त पुरा गर्न नसक्ने भएपछि मानबहादुरले श्रीमतीलाई नेपाल फकाईदिन आग्रह गर्दै सुरक्षित आप्रवासन सूचना तथा परामर्श केन्द्रमा निवेदन दिनुभएको छ ।

उज्यालो अनलाइनका लागि रीना श्रेष्ठ/सिन्धुपाल्चोक

तपाईको प्रतिक्रिया