सम्माननीय प्रधानमन्त्री केपी ओलीज्यू, नमस्कार हुन त तपाईँ अहिले भर्खरै भारत भ्रमण गरेर आउनुभएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगका अन्तरंग भेट र कुराकानी ताजै होलान् । अँ साँच्ची तपाईँ त धेरैले मानेका ‘विकासप्रेमी’ र ‘राष्ट्रवादी’ प्रधानमन्त्री । त्यसमा पनि तीनचौथाइ बहुमतप्राप्त । यसर्थ, अहिले तपाईँ पक्कै दार्चुलादेखि काठमाडौं हुँदै ताप्लेजुङसम्म रेल कसरी कुदाउने, पानीजहाज कसरी चल चलाउने, घर–घरमा पाइपलाइन कसरी बिछ्याउने भन्ने सोचाइमै मग्न हुनुहुन्छ ।

यीभन्दा ठूलो कुरा त अहिले तपाईँलाई ‘भारत भ्रमण अत्यन्तै उपलब्धिमूलक रह्यो’ भनेर नेपाली मिडियालाई ब्रिफिङ गर्नु छ । आजको नयाँपत्रिकामा छापिएको छ–यसका लागि तपाईँलाई अझै एक साता समय लाग्ला । सायद, अन्य खुद्रा–मसिना कुरा सुन्ने फुर्सद नहोला ।

हो, तपाईँलाई खुद्रा–मसिना लागेको कुरा अरूका लागि जीवनकै सबैभन्दा गम्भीर लाग्न सक्छ । प्रधानमन्त्रीज्यू म नयाँ प्रकाशन प्रालिमा कार्यरत पत्रकार हुँ । अहिले नयाँ पत्रिकाको न्युजरुमको एउटा कुनामा बसेर केही लेखिरहेको छु । अन्य दिन अरूको स्टोरी तयार पार्ने मलाई आज आफ्नैबारे लेख्नुपर्दा मन भारी छ । मसँग एउटा गम्भीर र संवेदनशील विषयको जीवन भोगाइ छ । एकैछिन पढ्ने धैर्य गरिदिनुहुन्छ भन्ने आशामा छु ।

गत असारमा म बाबु बन्ने पक्का भयो । म पहिलोपटक बाबु बन्दै थिएँ । बिहे भएको छोटो समयमै हामी (श्रीमान्–श्रीमती)ले कुनै प्यान नै नगरी बच्चा बस्न पुग्यो । ‘अलि चाँडै भयो कि १’ भनेर एकपटक त संगीता (श्रीमती) र म झस्कियौँ । तैपनि सोच्यौँ ठीकै छ ‘आखिर दुवैजना म्याचुअर्ड भइसकेका छौँ । के नै बिग्रियो र । अहिलेको जमानामा धेरै बच्चा पाउने होइन एउटा भए पुगिहाल्यो । छिटै हुर्किन्छ । ‘लेठै साप्’ भनेर चित्त बुझायौँ । हाम्रो बच्चा बसेको कुराले दुवैतिरको परिवारमा खुसी छायो । ‘जन्माउन त प्रसूतिगृहमै राम्रो हुन्छ’ भन्ने दिदी ९लीला०को सल्लाह र आफ्नो सहमतिबमोजिम नियमित चेकअप थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा लाने तय भयो ।

थापाथलीसँग मेरो विशेष सम्बन्ध विकास भएको करिब १५ वर्ष भइसकेको थियो । उपत्यकाका दर्जनभन्दा बढी ठाउँमा कोठा लिएर बसेको भए पनि थापाथली मेरो फेभरेट ठाउँ थियो । म पहिले काठमाडौं आएर मैतीदेवी (घट्टेकुलो)मा बसेँ । त्यहाँ करिब चार–पाँच वर्ष बिताएपछि बुद्धनगर सरियो । त्यहाँ एक–दुई वर्ष बिताएपछि थापाथली सरियो । म अहिले अनामनगर बस्छु । तैपनि, थापाथली म जन्मिएको पाँचथरको यासोकस्थित पुवाँ गाउँजस्तै प्रिय लाग्ने गथ्र्यो । कारण थिए– मैले पत्रकारिताको पहिलो खुड्िकलो नै थापाथलीबाट टेकेको हुँ । त्यहीँको नेपाल प्रेस इन्स्टिच्युट (एनपिआई)मा १० महिने पत्रकारिता तालिम लिएँ ।

त्यहीँ रहेको आर्थिक अभियान ९राष्ट्रिय दैनिक०मा फोटो पत्रकारका रूपमा केही महिना काम गरेँ । लामो समयसम्म थापाथलीमै कोठा लिएर बसेँ । प्रसूतिगृहबाट जन्माएर घर फर्काइएका बच्चाहरू दैनिक देखिन्थ्यो । यी र यस्तै कारणले गर्दा थापाथलीमै आफ्नो बच्चा जन्मियोस् भन्ने चाहन्थेँ । तर, केही साथीले थापाथलीमा भन्दा पाटन अस्पतालमा राम्रो नभनेका होइनन् । म मोटरसाइलमा यात्रा गर्ने भएकाले नियमित चेकअपका लागि अनामनगरदेखि पाटनसम्म टाढा लाग्नु स्वाभाविकै थियो । डेलिभरीका वेला मोटरसाइकलमा टाढासम्म यात्रा गराउन हुँदैन भन्ने मैले राम्ररी बुझेको थिएँ । प्रसूतिगृहसम्म पैदलै पनि हिँडेर पुग्न सकिन्थ्यो ।

मेरो बुझाइमा थापाथलीको प्रसूतिगृह डेलिभरी गराउनका लागि हरेक हिसाबले सबैभन्दा उपर्युक्त ठाउँ थियो । मेरा धेरै आफन्तका बच्चा त्यहाँ जन्मिएको देखेको थिएँ । फेरि, राजधानीमा डेलिभरी गराउने ‘स्पेसलाइजेसन’ भएको हस्पिटल अरू कुन नै थियो र रु जसरी मुटुरोग लागेको मान्छे गंगालाल र टिबी लागेको मान्छे भक्तपुरस्थित क्षयरोग केन्द्र जान्छ, त्यसरी नै डेलिभरीका लागि उपर्युक्त त आखिर प्रसूतिगृह नै हुनुपर्ने होइन र रु यही सोचाइका साथ मेरो रोजाइमा प्रसूतिगृह प¥यो । त्यस्तै, प्रसूतिगृहप्रति भरोसा हुनुको अर्को कारण हामीले त्यहाँ चेकअप सुरु गर्दा गगन थापा स्वास्थ्यमन्त्री थिए । उनले सरकारी अस्पतालमा सुधार गरेको मिडियामा बढी नै कुरा आइरहेको थियो । लाइन बस्न नपर्नेलगायत केही सुधारका कुरा पनि भएका थिए, सायद । तर, मैले भने साँच्चै स्वास्थ्य क्षेत्रमा कायापलट नै भएको बुझेँ कि १

हरेक शुक्रबार नियमित चेकअपका लागि प्रसूतिगृह गइन्थ्यो । बीचबीचमा काठमाडौंका विभिन्न क्लिनिक तथा श्रीमतीको माइती धरानमा पनि चेकअफ गराइन्थ्यो । सबै डाक्टरको प्रतिक्रिया ‘वा क्या राम्रो बच्चा’ भन्ने नै हुन्थ्यो । पछिल्लोपल्ट बच्चा सात महिना भएपछि लीला दिदी संगीतालाई लिएर मैतीदेवीको एपोलो क्लिनिकमा भिडियो एक्सरेका लागि जानुभयो । बच्चा दुई केजीको रहेछ । एकदमै स्वस्थ । डा। मीना झाबाट थाहा भयो छोरा रहेछ ।

डेलिभरीको डेट चैत १ गते दिइएको थियो । तसर्थ, एक महिना पूरै होसियारीसाथ बिताइयो । बच्चाको आमालाई केहीको कमी हुन दिइएन ।

हुन त नेपालमा पछिल्लो समयमा अत्यधिक सिजेरियन डेलिभरी गराइन्छ । तर, म यस प्रणालीको विपक्षमा थिएँ । अपे्रसन गरेर बच्चा जन्माउनु सीधा मार्ग नभएर वैकल्पिक मात्र हो भन्ने मेरो बुझाइ थियो । आजकल इन्टरनेट एक्सेसले गर्दा होला म विदेशी लाइफस्टाइल (खासगरी पश्चिमाको) बढी पछ्याउने गरेको छु । युरोप र पश्चिमा देशका विकसित समाजमा सकेसम्म नर्मल डेलिभरी गराउने गरेको मैले थाहा पाएको थिएँ । नर्मल डेलिभरी भयो भने आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्ने मेरो बुझाइ थियो । प्रायः भेटिएका साथी, पत्रकारिकाका सिनियर दाइहरू र आफन्तजनले पनि नर्मल नै उपर्युक्त भन्ने सुझाउँथे । यसै बुझाइले गर्दा मैले संगीतालाई हरेक बिहान करिब एक घन्टाजति हिँडाउने गर्थेँ । भ्याएसम्म बेलुका पनि ।

यसैबीच, डेलिभरीको दिन पनि आयो चैत १ गते । श्रीमतीलाई ट्याक्सीमा राखेर प्रसूतिगृहको इमर्जेन्सीमा लगियो । पुरुषलाई भित्र छिर्न नदिने भएकाले बाहिरै थिएँ । संगीतालाई भित्र पठाएँ भर्नाका लागि । यसैबीच, अफिस पनि बिदा नलिएका कारण अकस्मात् मेरो अन्तै जाने काम पर्‍यो । पछि आउँछु प्रक्रिया गर्दै गर्नु भनेर संगीता र भाउजूलाई छोडेर मोटरसाइकलमा हुइँकिएँ ।

उता हस्पिटलले भने ‘बच्चा जन्मिने वेलै भा’छैन सोमबार नियमित चेकअपका लागि आउनू’ भनेर फर्काएछ । त्यो दिन बिहीबार मात्र भएको थियो । तैपनि, अब डाक्टरले नै वेला भएको छैन भनेर घर फर्काएपछि के गर्ने रु यो मामलामा डाक्टरभन्दा जान्ने त को होला र भनेर मैले पनि सहज रूपमा लिएँ । यदि मेरो न्युजरुममा पनि कुनै डाक्टर आएर ‘समाचार यसरी लेख’ भनेर सिकायो भने मेरो पनि त कान तात्ला नि ।

भोलिपल्ट आफन्तसँग सल्लाह भयो । डेट आइसकेपछि घरमा राख्नुहुन्न भन्ने निष्कर्ष निस्कियो । भोलिपल्ट लगत्तै संगीतालाई अस्पताल पुर्‍यायौँ । इमर्जेन्सीमा भर्ना गरियो । लगत्तै बेडमा लगियो । त्यहाँ डाक्टरले ‘तपाईँको बच्चा त कति हेल्दी र ठूलो रहेछ’, भन्ने गरेको संगीताले सुनाउँथिन् ।

बच्चा जन्मिनका लागि पाठेघर १० सेमी खुल्नुपर्दो रहेछ । तसर्थ, संगीतालाई घर खुलाउनका लागि लगातार सिरिन्ज हानियो । त्यो रात त्यतिकै बित्यो । त्यहाँ पुरुषलाई बस्न नदिने भएकाले म भने म्यानेजमेन्टतिर लागेँ । बच्चा जन्मिसकेपछि आनन्दले बिदा लिन्छु भन्ने हिसाबले अफिसमा गएर नियमित काम पनि गरिरहेको थिएँ ।

यसैबीच, भोलिपल्ट (चैत ३ गते) संगीतालाई लेबररुम सार्‍यो । लेबररुम भनेको अप्रेसन या नर्मल डेलिभरी के गर्ने भन्ने डिसिजनको अन्तिम खुड्किलो थियो । पुरुषलाई लेबररुमभित्र बस्ने अनुमति नभएकाले म बाहिरै बसेर नर्मल गर्नेतिर लग्ला कि अप्रेसनतिर भनेर नियालिरहेको थिएँ । यसैबीच, एकजना बच्चा स्याहार्ने दिदी आएर सुनाइन्, ‘संगीताको श्रीमान् तपाईँ नै होइन रु यता आउनुहोस् । उहाँ ९संगीता० को नर्मल बच्चा जन्मिने अवस्था भएकाले त्यहाँ लान सहयोग मागिन् । नर्मल बच्चा जन्मिने भयो भनेर खुसी हुँदै संगीतालाई लिएर गएँ । बच्चा जन्मिने अन्तिम अवस्थामा सकेसम्म बाबुलाई त्यही राख्दो रहेछ । करिब १५ मिनेट बसेँ । धेरैबेर बस्न नसकिने जस्तो भयो । अनि, पालो दिनू भनेर नम्रता भाउजू र लीला दिदीलाई फोन गरेँ । उहाँहरू खाना बनाउन भनेर कोठामा भर्खरै जानुभएको थियो । हतार–हतार आउनुभयो । एकछिनमा भिनाजु (राम अर्याल) पनि आउनुभयो ।

त्यही वेला संगीतालाई ग्लुकोज खुवाउनुपर्ने भयो । अनि, मैले भाउजूलाई पालो दिएर ग्लुकोज ल्याएर दिएँ । भाउजूले बच्चा जन्मिने ठाउँमा आफू बस्छु भन्नुभयो । मैले पनि बाहिर म्यानेजमेन्टको काम नै गर्नु ठीक हो भन्ने ठानेँ ।

म म्यानेजमेन्टमा गएकै वेला कुरो बिग्रिएछ । एउटी सिकारु नर्स आइछिन् । अनि, बच्चा जन्मिने वेला भयो भनेर संगीतालाई घोप्टो परेर बल गर्न (कन्न) भनिछिन् । संगीतालाई धेरै गाह्रो भएछ । तैपनि, बच्चा जन्मिएला एकछिन त हो नि गाह्रो भनेर ती नर्सले भनेजस्तै गरिछिन् । त्यो क्रम करिब १५ मिनेटसम्म बितेपछि सिनियर डाक्टर आइछिन् । (उनको नाम थाहा भएन, थरचाहिँ मण्डल हो) ती डाक्टरले ती नर्सलाई हप्काउँदै भनिछिन्, ‘उहाँको भर्खर पाँच घर (सेमी( मात्र पाठेघर खुलेको छ किन्न कन्न लगाएको ? १० घर नखुलेसम्म कन्न लगाउँन हुँदैन भन्ने थाहा छैन रु’

यतिवेला म बच्चा जन्मिने पर्खाइमा बाहिर बेन्चमा बसिरहेको थिएँ । भाउजूले भित्रको सबै विवरण सुनाउनुभयो । म तत्कालै भित्र गएँ । हेलचेक्र्याइँ गरेकोमा एक्सन लिएँ । म मिडियाको मान्छे हुँ भनेँ । त्यहाँ भएका दुई–चारजना सिनियर नर्स काला–नीला भए । उनीहरूले तत्कालै सिनियर डाक्टर (डा. मण्डल(लाई बोलाए । उनी आइन् । बच्चाको धड्कन चेक गरिन् । उनी आत्तिइन् । अनि, हतारहतार डेलिभरी गराइन् । उनको टिमले निकै गाह्रो गरी बच्चा निकाल्यो । मैले झट्टै भित्ताको घडी हेरेँ ८.२५ भएको रहेछ । बच्चा निस्कियो । तीन केजी दुई सय ग्रामको निकै ठूलो । संगीताले विजयी मुस्कान छाडिन् । तर, बच्चा रोएन । मैले आत्तिएर भनेँ– ‘बच्चा त रोएन त ?’ उनले अहिले रुन्छ बरु छोरा हो कि छोरी हो हेर्नु भनेर दुवैजनालाई देखाइन् । मैले र संगीताले एकैपटक हेर्‍यौँ । अनि, संगीताले भनिन्, ‘छोरा रहेछ ।’

मैले त बरु अनुहार हेर्न पाएँ । संगीतालाई अनुहार पनि हेर्न नदिई कुदाए । बाहिर रहेका दिदी–भिनाजुले जन्मिएको थाहा पाउनुभयो । परिवारलाई सुनाउने काम गर्नुभयो । तर, मेरो मनमा चाहिँ बच्चा नरोएकोमा चस्स परिहेको थियो । खुसी हुन सकिरहेको थिइनँ ।

यता बच्चाकी आमालाई ड्रेसिङ गर्ने काम सकियो । भित्रबाट बच्चा लिएर आए । मलाई बाहिर बोलाए । बच्चालाई भेन्टिलेटरमा राखिएको रहेछ । एउटी अलि कलिलो उमेरकी डाक्टरले आत्तिएर भनिन्, ‘साँच्ची थाहा पाउनुभो ? तपाईंको बच्चाले जन्मिनुभन्दा अघि नै दिसा खाएछ । कि, यो बच्चा बाँच्दैन र बाँचिहाल्यो भनेँ पनि छारेरोगी या सुस्त मनिस्थितिको हुन्छ ।’ यसो भन्दै उनीहरू बच्चा लिएर एनआइसियुतर्फ गए । मलाई पनि सँगै लगे । बच्चाको बाबु हुँदाको खुसी पनि मनाउन नपाई मेरो पूरै होस–हवास उड्यो । म अर्थचेतजस्तै भएँ । भावनामा धेरै नै बगेँ । कहाँ गल्ती भयो सोच्नै सकिनँ । संगीतालाई वार्डमा सारियो । त्यहाँ छोरोमान्छे राति बस्न नपाउने नियम भएकाले त्यो रात कोठा (अनामनगर( नै गएर सुतेँ । निद्रा लागेन । अनेक तर्कना खेले ।

भोलिपल्ट बिहान कन्सल्टका लागि डाक्टरले बोलाएका थिए । एउटी लेडिज डाक्टर थिइन् । उनलाई बच्चालाई के भएको रहेछ भनेर सोधेँ । उनले रिपोर्ट हेर्दै युरिनमा समस्या रहेछ भनिन् । यत्ति मात्रै हो भने त ठीकै छ भनेर म अलि ढुक्क भएँ । बच्चा हेर्न जान दियो । बच्चा मेसिनमा राखिएको थियो । छुन नपाए पनि वरिपरिबाट नियालेँ । आफ्नो भएर हो कि किन हो यति राम्रो बच्चा यसअघि मैले देखेको थिइनँ । खुट्टा हेरेँ, हात हेरेँ, अनि नाक हेरेँ । ठ्याक्कै मेरैजस्ता रहेछन् । अनि, डाक्टरसँग बच्चाको अवस्थाबारे सल्लाह गरेँ । पहिलो दिन दिसा खाएको र युरिनमा मात्र समस्या भनेका डाक्टरले भोलिपल्टदेखि बोली फेर्दै गए । डाक्टरै पिच्छेका कुरा हुन्थे । कसैले दिमागमा समस्या भएको, कसैले फोक्सोले काम नगरेको त कसैले मुटुले काम नगरेको बताउन थाले । उनीहरूले अन्त्यमा बच्चालाई ‘एबनर्मल’को ट्याग दिए । यही कुरा भिनाजुलाई डाक्टरले कन्भिन्स गर्न सफल भए । तर, म भनेँ कन्फ्युजनमा थिएँ । यत्रो ठूलो बच्चालाई कसरी एबनर्मल हुन्छ भनेर ।

भोलिपल्ट (५ गते) राति दुई–तीन दिनदेखि निद्रा नपुगेकाले सुत्न भनेर घरमै गएँ । साथमा सोल्टी रुद्र दाहाल पनि थिए । करिब एक–दुई घन्टा जति थापाथलीमा जन्मिएर भेन्टिलेटरमा राखेर पनि बाँचेका बच्चाका आफन्तहरूसँग कन्सल्ट गरेँ । सबैले नआत्तिनु बाँच्छ भन्ने आश्वासन दिए ।

तर, दुर्भाग्य त्यही राति अन्तिमपटक बच्चाको जीवित अनुहार हेर्न भनेर मलाई बोलाइयो । म गएँ । बच्चा निलो भइसकेको रहेछ । मेरो होसहवासै उड्यो । अर्धचेत भएँ । बदलाको भावना नै आएन । म देशको मुलधारको पत्रिकाको एउटा रिपोर्टर हुँ । विदेशमा गएर डिग्री हासिल गरेको एउटा सचेत नागरिक हुँ भन्ने कुरा पनि बिर्सिएँ । १५ वर्षभन्दा बढी काठमाडौं बसेको म । त्यसमाथि पत्रकारिता पेसामा लागेको मान्छे । मसँग ब्याकअपमा यत्रो मिडियाहाउस थियो । पत्रकार महासंघ थियो । नेतादेखि प्रहरी सबैसँग राम्रै सम्बन्ध बनाएको थिएँ ।

लामो काठमाडौं बसाइका कारण मेरा व्यक्तिगत रूपमा साथीहरू पनि उत्तिकै धेरै छन् । पढेको पनि यहीँका कलेजमा । त्यो रात हस्पिटलको सिँढीमा विक्षिप्त भएर सुतेँ । तर, पटक्कै निदाउन सकिनँ । खाली भावनामा मात्र बगिरहेँ । हस्पिटलको लापरबाहीले मेरो छोरा मरेको हो भन्ने थाहा हुँदाहुँदै पनि बाहिर एक्सन लिन सकिनँ । हुन पनि यो मेरो मात्र समस्या होइन सबैको हो । संसारमा सन्तान गुमाउनुजस्तो पीडा अरू के नै हुन्छ र रु गुरु द्रोणाचार्यलाई पनि पाण्डव पक्षले एउटा छल गरेको थियो नि १ महाभारतको युद्धका समयमा छोरा अस्वस्थामा मरेको झुटो समाचार फैलाएर । परमवीर द्रोणाचार्य छोराको मृत्युको खबरले लल्याकलुलुक भए । असह्य शोकमा परे । अन्ततः युद्ध हार्न पुगे । त्यस्तै, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ छोरा प्रकाशको निधन हुँदा कति निरीह भएर रोएका थिए । त्यत्रो जनयुद्ध हाँकेका र दुस्मनको सफाया गर्न आदेश दिने मान्छे । द्रोणाचार्य र प्रचण्डहरूको त यो हालत भयो भनेँ म त साधारण मान्छे ।

भोलिपल्ट बिहानै १५–२० जना आफन्त हस्पिटलमा भेला भए । मलाई लास बुझ्न लगाए । म त्यतिबेला के गरिहेको छु भन्ने पत्तै भएन । कसैको फोन रिसिभ गर्ने अवस्था पनि थिएन । त्यही भएर कसैबाट सल्लाह पाउने स्थिति भएन । अर्धहोसमै ‘डेड बडी’ बुझ्ने कागजमा मैले साइन दच्काएछु । त्यसभन्दा अघि मलाई अफिसका साथी र अन्य मिडियाका साथीहरूको याद आयो । तर, आफैँले फोन गरेर सुनाउने चेतना आएन । अरूकै माध्यमले अफिसका सरहरूलाई थाहा दिन लगाएँ । जब लास भेन्टिलेटरबाट बाहिर निकालियो । त्यसपछि सबैका आँखा रसाए । किनकि, बच्चा एबनर्मल थिएन । भिनाजुकी आमाले रुँदै भन्नुभयो, ‘यति राम्रो बच्चा त मैले कहिल्यै देखेकी थिइनँ ।’ तर, कोही आफन्तहरूले नै बच्चा लापरबाहीले मर्‍यो भनेर प्रोटेस्ट गर्ने र प्रशासनसम्म जानुपर्छ भन्ने सोचेनन् । किनकि, धेरैलाई लापरबाहीले बच्चा मर्‍यो भन्ने पनि थाहा थिएन । जसलाई थाहा थियो । सबैको एउटै सोचाइ रहेछ, ‘डेलिभरी केसमा जे गरे पनि पार लाग्दैन । बरु, अब आमाको स्वास्थ्यतिर ध्यान दिऊँ ।’ त्यतिवेला घर ९उर्लाबारीरमोरङ०बाट बुवा (कृष्णचन्द्र)ले एक्सन लिन नखोज्नुभएको होइन । तर, एकजना नजिककै आफन्तले डाक्टरको भनाइ उद्धृत गर्दै ‘बच्चा एबनर्मल’ भएको विश्वास दिलाएपछि बुवा रोकिनुभएछ ।

मैले पनि संगीतालाई सम्झिएँ । उनी हस्पिटलको बेडमा सुतिरकेकी थिइन् । मैले नै प्रोटेक्ट गर्न थालेँ र प्रक्रिया लम्बियो भने उनको के हालत होला,’ सायद, त्यतिवेला यस्तै तर्कना गरेँ होला । अन्ततः संगीतालाई घटना भएको सुनाइयो । धेरैबेरको रुवाइपछि बच्चाको लास आफूले हेर्न नसक्ने बताइन् । अनि, उनलाई लास देखाइएन ।

पशुपतिको जंगलमा बच्चा सद्गत गर्न लगियो । खाल्डो खनियो । मलाई त्यहाँ हालेर पुर्न लगाइयो । पण्डितले जे अह्राए मैले त्यही गरेँ । तर, पुर्नै लागिएको वेला मान्डु दिदी र भिनाजु (जेठी फुपूकी छोरी–ज्वाइँ) आइपुग्नुभयो । उहाँहरूले चाहिँ ‘बच्चा यति राम्रो छ पक्कै लापरबाहीले मरेको होला ? केही गर्नुपथ्र्यो नि । किन यत्ति हतार गरेको रु’ भन्नुभयो । म झस्किएँ मात्र । केही शब्द निस्किएन ।

बच्चाको सद्गतपछि त्यसैदिन विराटनगरका लागि उडियो । विराटनगर विमानस्थलबाट एम्बुलेन्समा घर ९उर्लाबारी० पुगियो । केहीबेर रुवावासी चल्यो । खाना–साना खाएर म सुतेँ । तीन–चार दिनदेखि अनिदो भएकाले मनमा पीडा हुनका बाबजुद चाँडै निदाएछु । जब बिहान ४ बजेतिर ब्युँझिएँ । अनि, मात्र म पूर्ण होसमा आएँ । अनि, आत्तिएँ । ‘ला‘ मेरो बच्चा त हस्पिटलको लापरबाहीले मरेको थियो । मैले त त्यत्तिकै केही नगरी लासको सद्गत गरेर घर आएछु ।’ परिवार आफन्तले पनि मेरै कुरामा सहमति जनाउनुभयो । त्यसपछि मेरो मन बेचैन भयो । कहिले काठमाडौं फर्किएर एक्सन लिऊँ भन्ने मात्र सोचाइ आयो । मरेकै भए पनि बच्चाको न्वारान गर्नुपर्ने रहेछ । त्यो सब त्यागेर म हतार–हतार काठमाडौं फर्किएँ । प्रहरी अधिकारी भेटेँ, वकिल भेटेँ, नेता भेटेँ ।

कलाकारदेखि मिडियाकर्मी, साथी–भाइ र आफन्तसँग कुराकानी भयो । अनि, थाहा भयो कानुनी रूपमा म चुकिसकेको रहेछु । तैपनि, केही उपाय लाग्ला कि भनेर अस्पतालका निर्देशक डा. जागेश्वर गौतमलाई भेट्न धाएँ । त्यसका लागि साथी सन्तोष भण्डारी, सोल्टी रुद्र दाहाललगायतको साथ रह्यो । त्रिचन्द्र कलेज पढ्दाका दाइ सुदीप न्यौपानेले पनि बलियो साथ दिनुभयो । त्यसपछि, निर्देशक गौतमलाई पटक–पटक भेटेर छानबिन गर्न आग्रह गरेँ । उनले करिब चार दिन जति लिए । अनि, एकतर्फी छानबिन गरेर बच्चालाई पुनः ‘एबनर्मल’को ट्याग दिलाउनेबाहेक केही गरेनन् । मैले कम्तीमा डेलिभरीमा संग्लग्नहरूसँग प्रत्यक्ष भेटाउन भए पनि आग्रह गरेँ । त्यसमा उनले आलटाल गरे । त्यस्तो गर्न नमिल्ने बताए । यसबाट मलाई झन् पूर्ण विश्वास भयो उनीहरूकै लापरबाहीका कारण बच्चा लगभग नबाँच्ने गरी नै जन्मिएको थियो । त्यो कुरा लुकाउन उनीहरूले भेन्टिलेटरमा राखेको नाटक गरे ।

प्रधानमन्त्रीज्यू, तपाईं यदि मेरो जीवन–भोगाइ पढ्दै हुनुहुन्छ भने भनिरहेको हुनुहुन्छ होला, ‘यो मान्छेले त पूरै पुराणै पो लेखेछ ।’ तपाईं उखान–टुक्का भनेर जगत हँसाउने मान्छे यति भन्नुलाई म अन्यथा लिन्नँ । यो मेरो पुराण देशको स्वास्थ्य क्षेत्र सुधारको सञ्जीवनी बुटी बनोस् भन्ने मेरो चाहना मात्र हो ।

प्रधानमन्त्रीज्यू, देशमा तपाईंहरूले कस्तो खालको कानुन बनाउनुभएको रहेछ । कसैको ज्यान अस्पतालका कर्मचारीको लापरबाहीले जान्छ । तर, लापरबाही गर्नेलाई कानुन नलाग्ने, छानबिन पनि गर्न नमिल्ने । अझ, सरकारी अस्पतालमा डेलिभरी हुँदा तल–माथि भयो भने प्रश्न पनि उठाउन नमिल्ने कानुन रहेछ । कानुनको दायरामा पनि बस्न नपरेपछि त लापरबाही हुने नै भयो नि । यस्तो लापरबाही फेरि दोहोरिने भएन र ? म यस्तो कानुन मान्दिनँ । किनकि, यो कानुन बनाउनमा मेरो संग्लग्नता छैन । बरु, तपाईंजस्तै १४ वर्ष जेल बस्न तयार छु । मैले सबभन्दा ठूलो मानेको र विश्वास गरेको भएर नै श्रीमतीलाई प्रसूति गृहमा डेलिभरी गराउन ल्याएको थिएँ । म निम्नमध्यम वर्गको हैसियत भएको शिक्षित परिवारको मान्छे । यदि मेरो विश्वास प्रसूति गृहप्रति नहुँदो हो त म अरू प्राइभेट हस्पिटलमा पनि त जान सक्थेँ । कुनै कुराको कम्प्रमाइज नगरीकन अप्रेसन गराउन सक्थेँ । आज, राजधानीकै मुटुमा रहेको प्रसूति गृहको विश्वास गर्दा म एउटा सचेत वर्गको मान्छेको त सपना टुटेको छ भने दूरदराजका जनताको हालत झन् के होला १ अझ, ती दूरदराजका सरकारी अस्पतालहरूको हैसियत के होला ।

केही दिनअघि मात्र परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालका निर्देशक डा। जागेश्वर गौतमले नयाँ पत्रिकासँगको कुराकानीमा निजी स्वास्थ्य संस्थाले नर्मल डेलिभरी गराएर जोखिम मोल्न नचाहेको बताएका थिए । उनले भनेका थिए, ‘सरकारी अस्पतालमा कसैको मृत्यु भएमा क्षतिपूर्तिको कुरा आउँदैन ।’ तर निजी अस्पतालमा कसैको मृत्यु भए तोडफोड हुने भएकाले उनीहरूले शल्यक्रियाका माध्यमबाट बच्चा जन्माउने गरेका हुन् ।’ गौतमको यही कुराले थाहा हुन्छ, सरकारी प्रसूति गृहहरू आमा र बच्चाको ज्यान जाने कुरामा कति पनि संवेदनशील छैनन् भनेर । उनलाई डेलिभरीको नाममा बच्चा र आमाको ज्यान जाँदा कुनै पछुतो छैन ।

प्रधानमन्त्रीज्यू, मेरो घटना भएपछि थाहा पाएँ । प्रसूति गृहमा त सकुसल बच्चा जन्माउन त ‘पावर’ पो लगाउनुपर्ने रहेछ । मैले पावर नलगाएका कारण एमेच्योर नर्स पठाएका रहेछन् । हाम्रो देशमा यो कस्तो सिस्टम हो रु सुत्केरी गराउन पनि पावर लगाउनुपर्ने । अन्य कुरामा पावर लाग्ने त मलाई थाहा थियो । तर, सुत्केरी गराउन पनि पावर चाहिने मेरो बुझाइभन्दा बाहिरको कुरा थियो । खासमा, मेरो बच्चा ठूलो भएकाले अप्रेसन गराएर जन्माउनुपर्ने रहेछ । त्यतिसम्म डाक्टरले भनिदिएको भए त लगत्तै अर्को हस्पिटल लान्थेँ नि । मैले पूर्णतः हस्पिटल र त्यहाँका स्वास्थ्यकर्मीको विश्वास गरेँ । पावर लगाइनँ । तसर्थ, अन्तिममा मैले आफ्नै गल्ती भएको स्वीकार गर्न बाध्य भएको छु ।

प्रधानमन्त्रीज्यू, हो, मैले सुत्केरी गराउन पावर लगाइनँ अनि छोरा गुमाएँ । सायद, तपाईंहरूले ल्याउने भनेको समाजवाद यही होला है ! समाजवादउन्मुख व्यवस्थामा त जनताले राज्यका निकायहरूको भर गर्नुपर्ने होइन र ? खै, हाम्रो देशमा भने कस्तो समाजवाद आएछ ।

तपाईको प्रतिक्रिया