क्यालिफोर्निया- फेसबुकका सह संस्थापक तथा सीईओ मार्क जुकरबर्गले गत वर्ष पुरै वर्षभरीको तलब जम्मा १ डलर मात्रै लिएका छन् । तर गत वर्ष उनले निजी सुरक्षा तथा निजी जेटको प्रयोगका लागि ८९ लाख डलर खर्च गरेका थिए । यो रकम २०१६ को तुलनामा ५३.५ प्रतिशतले बढी हो । सुरक्षाको खर्चमा भएको वृद्धिका कारण ३३ वर्षिय अर्बपति मार्क जुकरबर्गको अन्य खर्चमा पनि वृद्धि भएको हो ।

२०१७ मा मार्क जुकरबर्गको घरको सुरक्षामा ७३ लाख डलर तथा निजी उपयोगको निजी विमानको प्रयोगमा १५ लाख डलर खर्च भएको थियो । २०१६ मा जुकरबर्गको निजी सुरक्षामा ४९ लाख डलर खर्च भएको थियो ।

फेसबुकको लोकप्रियतालाई मध्यनजर गर्दै कम्पनीको प्रमुख भएका कारण जुकरबर्गको सुरक्षामा पनि खतरा देखिन थालेको छ । यसैलाई आधार मानेर आफ्नो कम्पनीको सीईओको सुरक्षाकाम लागि कम्पनीले समग्र सुरक्षा कार्यक्रमको स्वीकृति दिएको थियो ।

ब्लुमबर्गको विलिनिरको सूची अनुसार ६६ अर्ब ७० करोड डलरका साथ जुकरबर्ग विश्वकै सातौ धनी व्यक्ति रहेका छन् । उनीसँग फेसबुकको ४०.१५ करोड सेयर छ । फेसबुकका सीईओ जुकरबर्गले २०१३ देखि वार्षिक १ डलर मात्रै तलब लिदै आएका छन् । तर विगत १ वर्षको अवधिमा फेसबुकमा उनको मताधिकारमा सामान्य मात्रै वृद्धि भई ५९.९ प्रतिशत पुगेको छ ।

तपाईको प्रतिक्रिया