वासिंगटन – अमेरिकी इन्जिनियरिङ कम्पनी बोस्टन डाइनामिक्सलाई विश्वकै उत्कृष्ट राबोट निर्माणकर्ता मानिन्छ । यो समाचार आजको सौर्य दैनिकमा प्रकाशित छ।उनीहरूले लामो समयदेखि नयाँ प्रविधिका रोबोटहरू बनाइ तिनीहरूको एक्सन भिडियो बनाउने गर्छन् जुन सामाजिक संजालमा भाइरल हुने गरेका छन् । यसै कम्पनीमा निर्मित रोबोट कुकुर, ‘स्पटमिनी’ को पनि गत मार्चमा अत्याधिक चर्चा भएको थियो । ट्वीटरमा एमेजोनका मालिक, विश्वका सर्वा्धिक धनी जेफ बेजोसले बाहिर घुमाउँदै गरेको एउटा तस्बिर राखिएपछि स्पटमिनी सबैको केन्द्रबिन्दु बनेको थियो ।

तर कम्पनीका प्रमुख कार्यकारी अधिकृत मर्क रेइबर्टका अनुसार अब यी रोबोटहरूको सामाजिक संजालबाट बाहिर आएर वास्तवमै समाज कल्याणका निम्ति केही गर्ने समय आइसकेको छ । आराम गराएर राख्नु भन्दा उनीहरूलाई धेरै काममा लगाउनु आफ्नो लक्ष्य रहेको उनले संचार माध्यम सिएनएनसँग बताएका हुन् । त्यसैले अहिले निर्माण कार्य, सुरक्षा, डेलिभरी, घरको काम, वृद्धहरूको हेरविचार गर्ने जस्ता काममा यी रोबोटलाई लगाउन उनी विभिन्न अवसरको खोजीमा रहेको बताइएको छ । अर्को वर्ष सम्ममा कम्पनीले १००० वटा भन्दा बढी स्पटमिनी जस्तै रोबोटहरू निर्माण गरिसक्ने उनको भनाइ छ ।

तर यिनीहरू अत्याधिक महङ्गो र हाइ–टेक प्रविधिको हुने हुँदा तिनलाई सञ्चालन गर्ने काम धेरैका लागि सहज नहुने बताइएको छ । यस्तोमा अत्याधिक मूल्य पर्ने यी आधुनिक रोबोटहरूको प्रयोजन धेरै ठूला कामका लागि मात्र उपयुक्त मानिएको हो जसकारण तिनलाई सामान्य कामहरूमा लगाउन समस्या भइरहेको बताइएको छ ।स्पटमिनी आफैँ सञ्चालित हुन सक्ने अटोमेटिक रोबोट हो जसले दुई भन्दा बढी खुट्टाको प्रयोग गर्न सक्छ र ससाना वस्तुहरू टिप्न पनि सक्छ । तरपनि मानिसहरूले डेलिभरि जस्ता कामका लागि खुट्टा भएको जटिल एवम् मूल्यवान् रोबोट भन्दा अरु नै सस्तो र साधारण रोबोटको खरिद गर्न रुचाउने बताइएको छ ।

त्यसैगरी तिनलाई वृद्धहरूको ख्याल राख्नका लागि पनि त्याति उपयुक्त मानिएको छैन किनकी जोकोहीलाई पनि बाहिरी रूपमा हेर्दा पहिलोपटक यो निकै भयानक वस्तु लाग्न सक्छ । यस्तोमा बूढाबूढी मान्छेहरूले तिनीहरूसँग सजिलै अन्र्त्क्रिया गर्न समस्या हुने बताइएको छ । त्यसकारण पनि यसलाई दिइएका खुट्टा व्यवहारिक रूपमा अनुपयुक्त रहेको प्राविधिक विज्ञहरूको भनाइ छ । रोबोटको इतिहासलाई हेर्दा पनि अहिलेसम्मका सफल रोबोटहरू सामान्य प्रविधिको नै भएको पाइएको छ ।

प्रविधिमा धेरै सुधार आइसके पनि तिनीहरूको जटिलता अझै कम गराउन नसक्दा यिनको राम्रो प्रयोग हुनेमा शंका व्यक्त गरिएको हो । कतिपयले भने यिनलाई खोजी गर्ने र उद्धार कार्यमा लगाउन जोड दिइरहेका छन् तर त्यसमा पनि रोबोटिक सर्प र किराहरू जस्तो देखिने ससाना रोबोट कुकुर भन्दा बढी प्रभावकारी हुने बताइएको छ ।

स्पटमिनीको आधिकारिक मूल्य अहिलेसम्म सार्वजानिक नगरिएको हुँदा जोकोहीका लागि पनि सामान्य काम गर्न महंगो रोबोट खरिद गर्नु सहज हुनेछैन । कम्पनीले पनि स्वीमिङ पुल सफा गर्ने जस्तो सामान्य कामका लागि यिनको निर्माण नभएको बताउने गरेका छन् ।यस्तोमा जसरी हाम्रो मोबाइललाई उपयोगी बनाउन एपहरूको ठूलो हात हुन्छ त्यसरी नै रोबोटिक कुकुरका लागि पनि यसको क्षमता बढाउने सफ्टवेयर र हार्डवेयरको निर्माण गर्नुपर्ने हुन्छ । त्यसैले पनि यी कृत्रिम आधुनिक कुकुरहरूको संख्या वृद्धि हुँदै गएपनि यिनीहरू बेरोजगार हुने सम्भावना रहेकोप्रति विश्लेषकहरूले चिन्ता व्यक्त गरेका छन् ।

तपाईको प्रतिक्रिया