३५ वर्षकी आमाले घरकै कोठामा पंखामा झुण्डिएर आत्महत्या गरिन् । महिलाका ६ वर्षका छोरा पंखामा झुण्रिहेको आमाको लाशसँगै ३ दिनसम्म बसे । उनी त्यहीँ छेउमै सोफामा सुते ।

बालकले आमाको आत्महत्याबारे बाहिर कसैलाई बताएनन् । ३ दिनपछि लाश गलेर दुर्गन्ध आउन थाल्यो । हिजो शुक्रबार छिमेकीले घरबाट दुर्गन्ध आएको थाहा पाएपछि घरमालिकलाई यसबारे जानकारी दिए । उनीहरुले सँगसँगै प्रहरीलाई पनि फोन गरेर यसबारे जानकारी दिए । प्रहरी घरमा पुगेर ढोका खोल्दा भित्र महिलाको लाश पंखामा झुण्डिरहेको थियो ।

घरभित्र प्रहरी पस्दा लासको नजिकै सोफामा मृतक महिलाका ६ वर्षका छोरा अरमान बसिरहेका थिए । प्रहरीले बालकलाई त्यहाँबाट बाहिर लिएर गए । बालकले सानो स्वरमा प्रहरीलाई भने ‘मम्मीले मैले फाँसी लगाउँदैछु कसैलाई नभन्नु भन्नुभएको थियो । मैले मम्मीलाई फाँसी नलगाउनु मर्नुहुन्छ भनेको थिएँ । तर मम्मीले मान्नुभएन ।’ मृतक महिलाको नाम जसपिंदर कौर भएको र उनका पति रणजीत सिंह भारतीइ सेनामा रहेको बताइएको छ ।

बालकले मम्मीले आत्महत्या गरेको दिन पूरै दिनभर केही नखाएको बताए । राती भोक लागेपछि खोज्दा घरमा एउटा बिस्कुटको बट्टा भेटेपछि उनी त्यही बिस्कुट खाएर सुते । अर्को दिन पनि बिस्कुट नै खाए । छिमेकीहरुका अनुसार अघिल्ला दुई दिन अरमान साँझ बाहिर खेल्न आउँथे । लामै समयसम्म पार्कमा साथीहरुसँग खेलेर अँध्यारो हुन लागेपछि घर जान्थे । खेल्न बाहिर आए पनि उनले कसैलाई केही बताएनन् ।

पंखामा झुण्डिएको जसपिंदरको लाश निकै बिग्रिसकेको थियो । लाश पछाडिबाट नराम्रोसँग गलिसकेको थियो । लाशको अनुहार र हातखुट्टा फुटिसकेका थिए । अनुहार र हात खुट्टाबाट रगत निस्किएर जमिनमा खसेको थियो । आश्चर्यको कुरा यति दुर्गन्ध फैलिइसक्दा पनि अरमान आमाको लाशसँगै बसेका थिए ।

शुक्रबार जसपिंदरकी एक साथीले मृतकका दाजुलाई फोन गरेर घटनाबारे जानकारी दिइन् । मृतकका दाजुले प्रहरीलाई फोनमा बालकसँग कुरा गराउन भने । अरमानले फोनमा मामालाई भने ‘मम्मीले फाँसी लगाउनुभयो र मम्मी मर्नुभयो ।’ प्रहरी थाना प्रमुख राजीव कुमारले शवलाई पोष्टमार्टमको लागि पठाइएको र सुसाइड नोट नभेटिएको बताए । उनले घटनाबारे अनुसन्धान भइरहेको बताएका छन् । डिसी नेपाल बाट

तपाईको प्रतिक्रिया