काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले मालपोत कार्यालय डिल्लीबजारको आकस्मिक अनुगमन गरेका छन्। अकस्मात कार्यालय पुगेका लालबाबुले कार्यालयको काम सन्तोषजनक नभएको बताए । उनले त्यहां सेवाग्राही र केही कर्मचारीको कुरा सुने पछि यस्तो प्रतिकृया दिएका हुन् ।

३० जना कर्मचारी रहेको कार्यालयमा उनी त्यहां पुग्दा सम्म ९ जना अनुपस्थित थिए भने २ जना कार्यालय समय भन्दा निकै ढिलो कार्यालय पुगेका थिए । ९ जना कर्मचारी लामो समय देखि कार्यालयमा नआएको पाइएको थियो ।

मन्त्री पण्डितले कार्यालयका कायम मुकायम प्रमुख केशवप्रसाद न्यौपानेलाई कार्यालयको कार्यशैली सुधार्न निर्देशन दिए । उनले कार्यालयको काम सन्तोषजनक नभएको भन्दै सुधार गर्न निर्देशन दिएका हुन् । उनले कायम मुकाम प्रमुख न्यौपानेलाई काममा लापरवाही गर्ने कर्मचारीलाई आवश्यक व्यवस्थापन र कारबाहीका लागि सम्बन्‍धित मन्त्रालय र विभागमा पत्रचार गर्न निर्देशन दिए । उनले अनुपस्थित कर्मचारीको विवरण उपलब्ध गराउन समेत निर्देशन दिएका छन्।

कार्यालयको काम कारवाहीका विषयमा निकै गुनासो आएकाले आफुले छड्के अनुगमन गरेको बताए । मन्त्री पण्डितले जनतालाई ठगेर खाने जो कोही कर्मचारीलाई कारबाही गरिने चेतावनी दिएका छन् ।

तपाईको प्रतिक्रिया