काठमाडौ –तस्करीको ३३ किलो सुनसम्बन्धी विवादमा नेपाल प्रहरीका पुर्व आईजीपी प्रकाश अर्याल तानिएका छन । पछिल्लो समय चर्चामा रहेको उक्त सुनकाण्डमा प्रहरीका बहालवाला र अवकाश प्राप्त उच्च अधिकारीको नाम जोडिएर आएको छ ।

हालसम्म २० जना पक्राउ परिसकेको उक्त प्रकरणमा विकसित घटनाक्रमले ४ जनाको ज्यान गइसकेको छ भने बहालवाला एसएसपीहरु दिवेश लोहनी, श्यामबहादुर खत्री डीएसपीहरु प्रजित केसी, सञ्जयबहादुर राउत, पूर्वआईजीपी प्रकाश अर्यालसमेत अनुसन्धानको दायरामा तानिएका छन् । पूर्वआईजीपी अर्यालको २/३ दिनभित्रै बयान लिने तयारी गरिएको स्रोतको दाबी छ । गत फागुन १८ मा धरानमा हत्या गरिएका सनम शाक्यको मृत्यु प्रकरणसँग जोडिएका नेपाल प्रहरीका नायब निरीक्षक (सई) बालकृष्ण सञ्जेल प्रहरी नियन्त्रणमा रहेको खुलासा भएको छ । उच्च स्रोतका अनुसार गृह मन्त्रालयबाट गठित विशेष अनुसन्धान टोलीको निर्देशनमा सञ्जेललाई नक्सालस्थित प्रहरी मुख्यालयसँगै रहेको एक नम्बर गणमा थुनामा राखिएको छ ।

घटना अनुसन्धानका लागि करिब एक हप्तादेखि सञ्जेललाई थुनामा राखिएको अनुसन्धानमा संलग्न एक अधिकारीले बताए । ती अधिकारीका अनुसार अनुसन्धानको क्रममा सनम शाक्य हत्यामा सहयोगीको भूमिका देखिएपछि सञ्जेललाई मुद्दामा प्रतिवादीको रुपमा पेश गर्ने तयारी गरिएको छ ।

सो प्रकरणका मुख्य फरार आरोपी गोरे भन्ने चूडामणि उप्रेतीसँग सुनतस्करीमा लगानीकर्ताको रुपमा साझेदारी गरेको आरोप लागेपछि चर्चित चेन रेस्टुरेन्ट बाजेको सेकुवाका मालिक चेतन भण्डारी समेत अनुसन्धानमा तानिएका छन् । पछिल्लो समय भण्डारीको बैंकखाता, लकर र सम्पूर्ण सम्पत्ति रोक्का गरेर अनुसन्धान थालिएको छ । उक्त तस्करी काण्डमा विमानस्थल भन्सारका उच्च अधिकारीहरुको मिलेमतोसमेत देखिएको अनुसन्धानमा संलग्न अधिकारीहरुको दाबी छ ।

सुन तस्करी र हत्याको घटनामा प्रहरीका उच्च अधिकारीको नाम जोडिएर आएपछि सरकारले गत महिना ९ सदस्यीय विशेष अनुसन्धान अनुसन्धान टोली गठन गरेको थियो । गत चैत २० को मन्त्रिपरिषद्को बैठकमा उक्त विषयमा समेत छलफल भएको थियो । छलफलको क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले आरोपी जुनसुकै दर्जा अथवा तहको भए पनि कठोर कारबाही गर्न निर्देशन दिएपछि गृह मन्त्रालयका सहसचिव ईश्वर पौडेलको संयोजकत्वमा विशेष अनुसन्धान टोली गठन गरिएको थियो ।

‘सङ्गठित अपराध निवारण गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन २०७०’ को ‘दफा १२’ बमोजिम गठित ९ सदस्यीय उक्त टोलीमा राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक हुतराज थापा, गृह मन्त्रालयका उपसचिव भावेश्वर पाण्डे, कानुन अधिकृत भोजराज दाहाल, महान्यायाधिवक्ताको कार्यालयका उपन्यायाधिवक्ता हरि रेग्मी, नेपाल प्रहरीका एसएसपी बसन्तकुमार लामा, डीएसपी सुदीपराज पाठक, इन्स्पेक्टर भीष्म हुमागाईं र सई सुमन कार्की सदस्य छन् ।

अनुसन्धान टोलीले गत चैत २० र २१ गते महानगरीय अपराध महाशाखाका तत्कालीन एसएसपी दिवेश लोहनी, डीएसपी प्रजित केसी र सई बालकृष्ण सञ्जेललाई गृह मन्त्रालयमा बोलाएर बयान लिएको थियो । प्रारम्भिक अनुसन्धानमा अपराध महाशाखाका प्रहरी अधिकारीहरुको भूमिका शंकास्पद देखिएपछि गृहसचिव स्तरीय निर्णयबाट एसएसपी लोहनी, डीएसपी केसी र सई सञ्जेललाई जिम्मेवारीबाट हटाएर अनुसन्धानमा सहयोग गर्न भन्दै पत्राचार गरिएको थियो । गृहको पत्राचारपछि उनीहरु तीनैजनालाई प्रहरी मुख्यालयको मानव स्रोत विकास विभागमा हाजिर गराइएको थियो ।

लोहनी नेतृत्वको महानगरीय अपराध महाशाखाले कार्यक्षेत्र नाघ्दै धरान र विराटनगर पुगेर अपरेशन गरेको र अपराधी उम्काएको आरोप लागेको छ । ‘फागुन १९ गते बिहान ३ बजे धरानको भानुचोकमा प्रहरीले सेटिङमा बरामद गरेको शाक्यको शवलाई दिउँसो विराटनगरको पोखरियामा लगेर नाटकीय कथा बुनेको छानबिन समितिको अनुसन्धानमा खुलिसकेको छ । उक्त घटनाको मुख्य कारक मानिएको तस्करीको ३३ किलो सुन बरामद हुन नसक्नु र मुख्य अभियुक्त ‘गोरे’ भन्ने चूडामणि उप्रेती प्रहरीको सम्पर्कमा रहँदारहँदै भागेको भनिनुलाई शंकास्पद तरिकाले हेरिएको छ,’ गृहस्रोत भन्छ ।

प्रहरीले उक्त घटनामा बारदातस्थल नै परिवर्तन गर्ने प्रयास गरेको भेटिएको छ । धरानमा बरामद गरेको शवलाई जिल्ला कटाएर विराटनगरमा बरामदी मुचुल्का गरिनु अत्यन्तै शंकास्पद मानिएको छानबिनमा खटिएका अधिकारीहरुको दाबी छ । कानुनतः बारदात स्थल परिवर्तन गर्न र मृतकको शव बरामद भएको स्थलबाट यताउता सार्न पाइँदैन ।

बहालमा रहँदा आफूविरुद्धको प्रमाण नष्ट गर्न सक्ने हुनाले विशेष अनुसन्धान टोलीले आरोपी प्रहरी अधिकारीलाई जिम्मेवारीबाट हटाउनको लागि गृहसचिवलाई सिफारिस गरेको थियो । अनुसन्धानको क्रममा ‘गोरे’ भनिने चूडामणि उप्रेतीले करिब ३ वर्षदेखि तस्करीको सञ्जाल चलाउँदै आएको र उनलाई उच्च पदका कर्मचारी तथा प्रहरीहरुले साथ दिएको खुल्न आएको र उनीहरुमाथि पनि कारबाहीको तयारी भइरहेको स्रोतले जानकारी दिएको छ । अनुसन्धानको क्रममा आरोपीमध्येका सई सञ्जेल र मुख्य अभियुक्त उप्रेतीबीच घटना हुनुभन्दा अघि र पछि पटकपटक टेलिफोनमार्फत सम्पर्क स्थापित भएको देखिएको छ । अभियुक्त ‘गोरे’ भन्ने उप्रेती नेपाली सेनाका भगौडा हुन् । गोरेले सञ्जेललाई ‘मामा’ भनेर सम्बोधन गर्ने गरेको अनुसन्धानमा खुल्न आएको छ । अनुसन्धानको क्रममा संजेलले सनम शाक्य हत्याको घटनामा सहयोगीको भूमिका निभाएको र लुटिएको भनिएको सुनसमेत उनकै योजनामा लुटिएको खुल्न आएपछि उनलाई प्रहरी नियन्त्रमा लिइएको अनुसन्धानमा खटिएका एक उच्च अधिकारीले बताए । मुलधार न्युज बाट

तपाईको प्रतिक्रिया