काठमाडौं, ११ वैशाख । चार वटा साना कम्युनिस्ट घटकले कार्यगत एकता गरेर अघि बढ्ने निर्णय गरेका छन् । मोहन वैद्य (किरण) देखि ऋषिराम कट्टेलसम्मका साना पार्टीले कार्यगत एकताको घोषणा गरेका हुन् ।

केपी शर्मा ओली नेतृत्वको सरकारले विभिन्न मुद्दामा राष्ट्रघात तथा जनघात गरेको उनीहरुको आरोप छ । त्यसैले कार्यगत एकता गरेर सरकार विरुद्ध लड्न वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), ऋषिराम कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, गोपाल किराती नेतृत्वको नेकपा (माओवादी केन्द्र) र सुलभ नेतृत्वको अर्को नेपाल कम्युनिष्ट दलले कार्यगत एकता गरेको जनाएका छन् ।

उनीहरुले अंगीकृतका सन्तानलाई नागरिकता वितरण गर्ने सरकारको निर्णयको तिब्र आलोचना गरेका छन् । ति पार्टीले अंगीकृतका सन्तानलाई दिइएको नागरिकता रद्द गर्न माग गरेका छन् ।

विप्लव समूहमाथि राजनीतिक पूर्वाग्रहका आधारमा प्रतिबन्ध लगाइएको भन्दै ४ दलले विरोध जनाएका छन् । ‘राजनीतिक पूर्वाग्रहका आधारमा नेकपामाथि जुन प्रतिबन्ध लगाइएको छ, त्यसलाई तुरुन्त खारेज गर्न माग गर्दर्छौं’, कार्यगत एकताको सहमतिबारे जानकारी दिन जारी गरिएको विज्ञप्तिमा लेखिएको छ ।

वाइडबडी जहाज खरीद, ललितानिवास जग्गा बिक्री प्रकरण तथा एनसेल कर छलीबारे पनि ४ दलले चासो राखेका छन् । उनीहरुले यी प्रकरणमाथि छानबिन गरी दोषीमाथि कारबाही गर्न भनेका छन् । ३३ किलो सुन तस्करी र निर्मला पन्तको हत्या छानबिनमा सरकारले उदासीनता देखाएको निष्कर्ष निकाल्दै उनीहरुले संलग्नमाथि कारबाही गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

तपाईको प्रतिक्रिया