सडक दुर्घटनामा परेर ‘कोमा’ मा गएकी संयुक्त अरब इमिरेट्सकी एक महिला २७ वर्षपछि बौरिएकी छन्। सन् १९९१ मा दुर्घटना पर्दा मुनिरा अब्दुल्ला नामकी ती महिलाको उमेर ३२ वर्ष थियो। उनी आफ्ना चार वर्षे छोरा ओमारलाई स्कुलबाट लिएर घर फर्कंदै थिइन्। बाटोमा उनको कार बससँग ठोक्कियो। लगत्तै मुनिराले छोरालाई लपक्क छातीमा टाँसिन्। यसले ओमार उछिट्टिन पाएनन्। उनको टाउकोमा सामान्य चोट मात्र लाग्यो।

मुनिरा भने मस्तिष्कमा गम्भीर घाउ भएर ‘कोमा’ मा गइन्। जर्मन अस्पतालमा उपचाररत् मुनिराको स्वास्थ्यमा पछिल्लो एक वर्षदेखि सुधार देखिन थालेको थियो। ओमारले हालै संयुक्त अरब इमिरेट्सको ‘द नेसनल’ पत्रिकालाई अन्तर्वार्ता दिँदै उक्त दुर्घटनाको स्मरण गरेका छन्। ‘मैले आमाको स्वास्थ्यलाई लिएर कहिल्यै माया मारिनँ,’ उनले अन्तर्वार्तामा भनेका छन्, ‘एक न एक दिन उहाँ कोमाबाट उठ्नुहुन्छ भन्ने मलाई विश्वास थियो।’

दुर्घटनाको सम्झना गर्दै उनले भने, ‘म आमासँगै कारको पछाडि सिटमा बसेको थिएँ। जब हाम्रो गाडी बससँग ठोक्किन लागेको आमाले चाल पाउनुभयो, उहाँले मलाई अंगालोमा च्याप्प बाँध्नुभयो। कार ड्याम्म ठोक्किएर उलटपुलट हुँदा पनि आमाले मलाई अंगालोबाट फुत्किन दिनुभएन।’

‘उहाँलाई आफ्नोभन्दा मेरो चिन्ता थियो, उहाँले लपक्क समातेर राखेकैले त्यत्रो दुर्घटना हुँदा पनि मलाई केही भएन,’ उनले भने। मुनिरा ‘कोमा’ मा छउञ्जेल मौन रहेका ओमारले यसपालि आफ्नो स्मरण सार्वजनिक गर्नुको कारण पनि खुलाएका छन्।

‘आज यतिका वर्षपछि म आफ्नो कुरा सुनाउन यस कारण तयार भएँ, ताकि कसैले पनि आश नत्यागून्। तपाईं कसैलाई एकदमै माया गर्नुहुन्छ भने आफ्नो मायाको तागतप्रति भरोसा राख्नुस्,’ उनले भने, ‘तपाईंले माया गरेको मान्छे पनि यस्तो हालतमा छन् भने उसलाई मृत सम्झेर माया नमार्नुस्। उसको ख्याल राख्नुस्, कुनै न कुनै दिन तपाईंको मायाको तागतले उसलाई फर्काएर ल्याउनेछ।’

उक्त दुर्घटनापछि मुनिरालाई केही समय स्थानीय अस्पतालमै उपचार गरेर लन्डन लगिएको थियो। त्यहाँ डाक्टरहरूले ‘उनको मस्तिष्कले प्रतिक्रिया जनाउन नसके पनि उनी वरिपरिको घटना अनुभव गर्न सक्ने’ बताएका थिए। त्यसपछि उनलाई युएई नै फर्काइयो। उनी युएई र ओमानको सीमामा पर्ने ‘अल इन’ भन्ने सहरमा बस्छिन्। उनलाई ट्युबबाट खानेकुरा र औषधिहरू खुवाएर जीवित राखियो। लामो समय हलचल नगरी बस्दा मांसपेसी र हड्डीहरू कमजोर नहोऊन् भनेर नियमित रूपमा ‘फिजियोथेरापी’ पनि गराइन्थ्यो।

सन् २०१७ मा युएई सरकारको सहयोगमा उनलाई थप उपचार निम्ति जर्मनी लगियो। त्यहाँ उनको पटक–पटक शल्यक्रिया गरिएको थियो। करिब एक वर्षपछि गत जुन महिनामा अस्पतालको कोठामै ओमार र त्यहाँका एक कर्मचारीबीच चर्काचर्की भयो। यो घटनाले मुनिराको शरीरमा थोरै हलचल ल्यायो।

‘अस्पतालसँग मेरो केही कुरामा झगडा परेको थियो। आमा त्यहीँ ओछ्यानमा हुनुहुन्थ्यो। उहाँकै अगाडि म ठूल्ठूलो स्वरले कराएको थिएँ, त्यही सुनेर हुनसक्छ, उहाँको जीउ अलिअलि चलमलायो,’ ओमारले भने, ‘उहाँ प्रतिक्रिया जनाउन नसके पनि सबै कुरा अनुभव गर्न सक्नुहुन्थ्यो। सायद त्यो झगडामा आफ्नो छोरालाई जोखिममा देखेर उहाँ तर्सिनुभयो।’ मुनिराले यसरी शारीरिक प्रतिक्रिया नजनाएको २७ वर्ष बितिसकेको थियो।

एकाएक उनको जीउ हलचल गरेको र अचम्मको आवाज निकालेको देखेपछि ओमारले तुरुन्तै डाक्टर डाके। डाक्टरले जाँचेर सबै कुरा सामान्य रहेको जवाफ दिए। त्यसको तीन दिनपछि ओमार आमाकै कोठामा निदाइरहेका थिए। अचानक उनलाई कसैले आफ्नो नाम लिएर बोलाएझैं लाग्यो। उनी झस्केर ब्युँझे। दायाँबायाँ हेरे। कोठामा कोही थिएन। उनलाई बोलाउने अरू कोही होइन, मुनिरा नै थिइन्।

‘त्यो मेरो लागि सपना साकार भएको पल थियो, मेरो अटुट विश्वासले जितेको क्षण,’ ओमारले भावुक हुँदै भने, ‘लगभग २७ वर्षपछि आमाको मुखबाट बोली फुट्यो। उहाँको पहिलो शब्द नै मेरो नाम थियो।’ मुनिराको शरीरले त्यसपछि पहिलेभन्दा बढी प्रतिक्रिया जनाउन थाल्यो। उनी पीडा महशुस गर्न थालिन्। केही शब्दहरू पनि बोल्न थालिन्।

उनीहरू फेरि आबुधाबी फर्के। उनको उपचार र फिजियोथेरापी जारी छ। खासगरी ओछ्यानमा बसाएर राख्दा मासंपेसी बढी तन्किन नपाओस् भनेर उनलाई नियमित फिजियोथेरापी गराउनुपर्छ। उनको अवस्थामा थप सुधार देखिँदै गएको ओमारले बताएका छन्।

मुनिराजस्तो मस्तिष्क चोटले यति लामो समय ‘कोमा’ मा रहेर बौरिएको घटना विरलै हुने चिकित्सकहरूले बताएका छन्। ‘कोमा’ मा रहेका बिरामीलाई कस्तो घटनाले उत्तेजित बनाएर मस्तिष्क बौरिन्छ भन्ने अनुमान गर्न कठिन हुने बेलायतस्थित नेसनल हेल्थ सर्भिसले जनाएको छ।

यसरी बौरिने बिरामीमा कुनै किसिमको शारीरिक अपांगता देखिन सक्ने चिकित्सकहरूको भनाइ छ। यस्तै घटना अमेरिकी नागरिक टेरी वालिसको भएको थियो। उन्नाइस वर्ष उमेरमा सडक दुर्घटनामा परेर आंशिक ‘कोमा’ मा गएका टेरी लगभग १९ वर्षपछि बौरिएका थिए।

(बिबिसी र द नेसनलबाट साभार)

तपाईको प्रतिक्रिया