डेकोचाबाट केही तल झरेपछि आउँछ उनको दुःखी मकान । हामी पुग्दा सोनिश शान्त र क्लान्त मुद्रामा थिए । जस्तै– ३ वर्षअगाडि थिए, सुतिरहेकै । “घर बनाउन सकेका छैनौँ त !” शुरूमै पीडा पोखिन् सोनिशकी आमा रश्मिला अवालले ।

त्यसपछि भित्तातिर आँखा पुर्‍याइन्, जहाँ भूकम्पको २२ घन्टाको त्रासदीपछि सोनिशलाई सकुशल उद्धार गरिएको फोटो मुसुक्क हाँसिरहेको थियो । त्यसपछि छोरातिर फर्किइन्, स्निग्धवत् ।

०७२ को भूकम्पको चिनारी बनेका छन् सोनिश । उनका लागिमात्रै होइन, देशकै निम्ति पनि । भग्नावशेषमा पुरिएको बच्चालाई सेनाले उचालिरहेको तस्बिर ०७२ को आधाआधीसम्म चर्चाको विषय बनिरह्यो ।

पुरिएको २२ घन्टापछि छोरो त सहीसलामत भेटियो । तर, त्यसको कहर अझै मेटिएको छैन । १२ वैशाख ०७२ को भूकम्पले उठिबास लगायो उनीहरूलाई ।

“अहिले त सुकुम्बासी पो बनेका छौँ हामी । अरूको घरमा आश्रय लिइराख्नु परेको छ,” बोल्दाबोल्दै आँखा भरिए र गुड्दै उनको गुजुल्टोमा पुगेर ठोकियो ।

ओछ्यानतिर हेरौँ, भूकम्पले फिर्ता दिएको छोरो खुट्टा फालेर निदाइरहेको छ । सिलिङतिर हेरौँ, अर्कैको घर ! धेरैबेर भक्कानिइन् उनी । केही बेरपछि आफैँ सम्हालिइन् । “श्रीमान्को मिहिनेत राम्रै छ, यो जुनीमा कसो नठडिएला त घर ?,” त्यसपछि उनको अनुहारमा फुत्त जून चिहायो ।

कुराकानी गर्दैगर्दा छोरी सोनिया आइपुगिन् । “यसलाई पनि तीन घन्टापछि निकालिएको हो नि, घरसँगै झन्डै छोराछोरी पनि निलेको, पापी भूकम्प !,” छोरीतिर फर्किइन् उनी । भूकम्प जाँदा सोनिश पाँच महिनाका थिए । अहिले साढे तीन वर्षका भइसके । नर्सरीमा पढ्छन् पनि । उनीहरूको खण्डहर घर उस्तै हालतमा छ, कहिले बन्छ कुनै टुंगो छैन ।

शायद सोनिशले बास भनेर चिन्ने पहिलो संरचना नै त्यही भत्केको घरको थुप्रो हुनेछ । किनभने सरकारबाट आजसम्म कुनै सहयोग आएको छैन । लालपूर्जाविहीन परिवारलाई कसले दिनु राहत अनुदान ? राहत पाइहाले पनि कुन जग्गामा बनाउनु घर ? अघिल्तिरको समस्याको पहाड आँखाले नाप्छिन् उनी ।

भूकम्पको त्राशद कथा वैशाख १२ गते सदाझैं रश्मिला छोरालाई दूध चुसाएर र छोरीलाई खाना खुवाएर आफू किनमेलका लागि पसल निस्किएकी थिइन् । घरबाट उनी केही परमात्र पुगेकी थिइन्, सारा जमिन हल्लाउँदै भूकम्प गयो । सबैजना भागदौड गर्न थाले । कुहिरिमण्डल धूलो । हेर्दाहेर्दै पुराना घरहरू गल्र्यामगुर्लुम ढले । आँखै अगाडि सिंगै भक्तपुर माटोमय भयो ।

उनले झल्याँस्स सम्झिइन्, “बलिया देखिएका घरहरूले त धर्म छाडे भने आफ्नो त वर्षौंअघि बनाएको पुरानो माटाको घर, के बाँकी रह्यो होला र ?”

त्यसपछि उनी हतार–हतार आफ्नो घरतर्फ अघि बढिन् । जताततै ढलेका घर, मानिसहरूको रूवावासी, उनका गोडाहरूले ठाउँ ठम्याउन छाडे । बाटैमा जेठाजुको घर थियो । उनको तीन तलाको माटोको घर जगैसम्म भत्किएको थियो । जेठाजुको परिवार पुरिएका आफ्ना दुई छोरी खोज्दै रहेछन् । उनी त्यहाँ अल्झिइनन्, उनलाई केवल चिन्ता थियो, आफ्ना तामाका टूसाजस्ता दुई छोराछोरीको ।

धुवाँको कुहिरोबीच मथिङ्गलमा छोराछोरीको आकृतिबाहेक केही देखिनन् । भन्छिन्, “जेठाजुका छोरीहरू पुरिएको सुनेपछि मेरो होस हवासै उड्यो ।”

भूकम्पको धक्का आउने क्रम रोकिएको थिएन । जति जमिन हल्लन्थ्यो, उति नै भत्कन बाँकी घरहरूका इँटा र माटोहरू बाटामा बुङ्बुङ झर्थे । त्यसको उनलाई रतिभर पर्वाह थिएन । छोराछोरी भेट्छु भन्ने आशले उनी घरतर्फ सोझिइरहिन् ।

तीन तलाको घर इँटा र माटोको थुप्रोमात्रै बनेको थियो । अर्काको घरमा टाँसिएको भागको थोरै अंश बाहेक घरको कुनै संकेत बाँकी थिएन । तर, खण्डहर बनेको घरपट्टि उनको ध्यानै गएन । चिन्ता थियो त सिवाय छोराछोरीको ।

सोचिन्, “छोराछोरी बाँचे भने त यस्तो घर फेरि बनाइहालिन्छ नि !”

धुलो उड्न कम्ती भएको थिएन । धुलैधुलोको बीच घरको भत्किएको थुप्रोमा चिहाइन् । उनले छोरीको खुट्टा देखिन् ।

खुट्टा चलमलाई रहेको देखेर उनले ठानिन्, “छोरी जिउँदै छे ।”

त्यसपछि उनले हारगुहार गरिन् । उनको याचना सुनेर वरिपरिका मानिसहरू भेला भए । करिब दुई घण्टाको प्रयासपछि छोरीको सकुशल उद्धार भयो ।

त्यतिञ्जेलसम्ममा उनका श्रीमान् पनि आइपुगे । ट्रिपर चलाउने श्रीमान् भूकम्प जाँदा पेप्सिकोलामा रहेछन् । बाटोमै भएकाले र त्यस वरपरका घरहरू पनि नभत्किएकाले आफ्नो अकल्पनीय क्षतिको आँकलन उनले पनि गरेका थिए । तर छोराछोरी पुरिएहोलान् भनेर कसरी सोच्नु ? घरको हालत देखेपछि उनको नौनाडी गल्यो । लल्याकलुलुक भए ।

छोरी त जिउँदै भेटिएकी थिई तर छोराको अझै अत्तोपत्तो थिएन । त्यतिञ्जेल अपराह्न भइसकेको थियो । भेटिन्छ की भनेर श्रीमान् श्रीमती भत्किएको तला चढे । इँट्टाको छस्याकछुसुक आवाजका बीच मसिनो श्वरमा छोरो रोएको आवाज रश्मिलाको कानमा पर्यो । त्यसपछि उनले हारगुहार गरिन्, छिमेकीहरूलाई अनुरोध गरिन्, “मेरो छोरो जिउँदै छ, लौन खोतलीदिनु पर्‍यो ।”

उद्धारका लागि नेपाली सेनाको एक टुकडी पनि उनको घर नजिकै पुगेको थियो । उनले ती उद्धारकर्मीलाई पनि आग्रह गरिन्, “मेरो छोरो पुरिएको छ हजुर, झिकिदिनुहोस् न ।” उनले त्यति आग्रह गरेपछि नेपाली सेनाको टोली तत्कालै घरको भग्नावशेष पन्छाउन थाल्यो । बच्चा रोएको आवाज उनीहरूले पनि सुने । तर, यहीँ पुरिएको छ भन्ने निष्कर्ष निकाल्न सकेनन् ।

रातको १२ बजेसम्म सेनाले अथक प्रयास गरे । र पनि बच्चा यहाँ छ भन्ने सुइँको पाउन सकेनन् । फेरि हल्ला भयो, राति अझैं ठूलो भूकम्प आउन सक्छ । सेनालाई पनि आदेश आयोे, “राति भग्नावशेष पन्छाउँदा जोखिम हुनसक्छ, टोली तुरुन्तै ब्यारेक मुभ हुनु ।”

उनले त बच्चा नभेटिई सुरक्षाकर्मीलाई जान दिएकी थिइनन् । उनले भनिन्, “म पछिपछि दौडँदै गएर सुरक्षाकर्मीलाई आग्रह गरेँ । उहाँहरूलाई पनि आफ्नो ज्यानको माया थियो ।” उनलाई सुरक्षाकर्मीले नै उल्टै सम्झाए, “तपाईंको बच्चा जिउँदै छ, चोट पनि लागेको छैन, यदि घाउचोट लागेको र थिचिएको भए बच्चा रुन सक्दैन ।”

तर, उनको मनले मानिरहेको थिएन । मानोस् पनि कसरी ? बामेसमेत नसरेको प्राणभन्दा प्यारो छोरा भग्नावशेष भित्रै थियो । लोग्ने, स्वास्नी र छोरी रातभर भत्किएको घरमाथि नै बसे । उनीहरूलाई साथ दिन छिमेकीहरू पनि उनीहरूसँगै थिए ।

वर्ष दिन बिताउन भन्दा गाह्रो भयो त्यो रात काट्न । झिसमिसे नफाट्दै उनीहरू भत्किएको घरको इँटा पन्छाउन थाले । पन्छाउँदै जाँदा पुनः छोरो रोएको आवाज उनीहरूको कानमा पर्‍यो । ढुक्क त भयो तर अत्यास अझै बढ्यो र उनले छिमेकीलाई थप हारगुहार गरिन् । उज्यालो भएपछि हिजोकै नेपाली सेनाको टोली पनि आइपुग्यो र बच्चा रोएको आवाज भएतिरकै भाग खोस्रन थाल्यो ।

भग्नावशेष पन्छाउनेमा सेनामात्र थिएनन्, उनका टोलछिमेकका मानिसहरू पनि थिए । टाढाटाढाबाट इष्टमित्र पनि आइपुगेका थिए । सबैको अनवरतको प्रयासपछि बिहान १० बजे सोनिश सकुशल फेला परे ।

० ० ० नेपाली सेनाका दीपक राईको टोलीले हो उनलाई भग्नावशेषबाट सकुशल निकालेको । पुरिएका सोनिशको शरीरमा कुनै चोट थिएन, अनुहारमा धुलोमात्रै लागेको थियो । जब सेनाका एक जवान हातमा छोरो लिएर उनको नजिक आए, उनका लागि सबैभन्दा खुसीको क्षण नै त्यही भयो । भन्छिन्, “पुरिएको ठाउँबाट बाहिर निकाल्नेबित्तिकै बाबु त हाँसेनमात्रै, हात पनि दियो । सोचेँ– बाबुलाई केही पनि भएको रहेनछ, भगवानले बचाइदिनुभएछ मेरो बाबुलाई ।”

उनले हेर्दा निधारमा थोरै कोरिएको बाहेक शरीरमा कुनै चोट थिएन ।

त्यसपछि सुरक्षाकर्मीकै आग्रहमा सोनिशलाई अस्पताल पुर्‍याइयो । चिकित्सकहरूले अनुहारको धुलो सफा गरे र स्वास्थ्य परीक्षण गरे, सबै ठीक छ भनेपछि उनले लामो स्वास फेरिन् र दूध चुसाइन् ।

भूकम्प आउनुभन्दा केही बेरअघि मात्रै रश्मिला छोरी सोनियालाई भाइ हेर्न अह्राएर बजारमा किनमेल गर्न निस्किएकी थिइन् । आमा बजार गएपछि सोनिया टीभी हेर्दै थिइन्, अचानक बत्ति झ्याप्पै गयो । बत्ति गएको केही सेकेन्ड पनि बित्न पाएको थिएन, घर पूरै हल्लन थालिहाल्यो । हतार हतार तल झर्न लागेकी उनले सुतिरहेको भाइलाई सम्झिइन् र फर्किएर भाइ भएको ठाउँमा पुगिन् । भाइ के हातमा लिएकी थिइन्, टीभी राखेको ¥याक ढलेर उनको काँधमा लागिहाल्यो ।

त्यसपछि उनले केही पनि देखिनन् । काखको भाइ कता पुग्यो, उनलाई कुनै पत्तो भएन । घर पूरै भत्किइसकेको थियो । उनी एउटा कुनामा च्यापिन पुगिन् । अन्धकार भएकाले उनी बाहिर आउने सम्भावना नै थिएन । उनले जुक्ति लगाइन्, “अब बाहिर खुट्टा निकाल्छु, खुट्टा देखेर मलाई उद्धार गर्न आउँछन् ।”

उनले त्यसै गरिन् । तर सँगै भएको भाइ सोनिशको उद्धारका लागि अर्को २२ घण्टा लाग्यो ।

० ० ० बच्चालाई सकुशल उद्धार गरेको खबर सर्वत्र फैलियो । उद्धार गर्दाकै क्षण पुगेका थिए फोटो पत्रकार अमुल थापा । इँटा र माटोको धुलो पन्छाएर बच्चा निकाल्दाको क्षण स्मरण गर्दै थापा भन्छन्, “त्यस क्षणको कल्पना पनि गर्न सकिँदैन ।”

उनले बिहान पाँच बजेदेखि निरन्तर पाँच घण्टा कुरेर त्यो फोटो खिचेका थिए । २२ घण्टापछि आमा र छोराको अभूतपूर्व मिलन शब्दमा व्याख्या गर्न निकै कठिन हुने भन्दै उनले भने, “आमाको आँखाको आँसु र छोराको हाँसो क्यामेरामा कैद गर्न सकिनँ ।” उनले खिचेको फोटोले निकै चर्चा बटुल्यो । अन्तर्राष्ट्रियरूपमै चर्चा कमाउला भन्ने उनलाई लागेको थिएन ।

ध्वस्त घरको भग्नावशेषबाट बच्चा सकुशल निकाल्न सकिएला भन्ने पनि उनलाई शुरूमा लागेको थिएन तर सामान्य घाउचोट समेत नलागेको बच्चाको उद्धार हुँदा उनले सोचे, “यस्तो घरमा त मानिस जीवित भेटिँदो रहेछ भने अन्यत्रबाट पनि मानिस जीवितै निकाल्न सकिन्छ ।”

० ० ० त्यो फोटो सार्वजनिक भएलगत्तै राष्ट्रिय अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले अवाल परिवारलाई निरन्तर पछ्यायो । अखबारका पंक्ति, टेलिभिजनका पर्दा र अनलाइनका हरफहरूमा सोनिश र उनको परिवार छाइरह्यो । धेरथोर सहयोग पनि प्राप्त भयो । तर जीवन चलाउन भने झन् कठीन हुन थाल्यो । कसैले खाट, कसैले किचन ¥याक, कसैले भाँडावर्तन र दाल चामल सहयोग गरे पनि घर चलाउन त्यो पर्याप्त कसरी हुन्थ्यो र ? भूकम्पलगत्तै श्रीमानको पनि काम भएन । खेतीकमाइ थोरै भएकाले त्यसबाट परिवार पाल्न सम्भवै थिएन । झन् ठूलो दुःख पो आइलाग्यो उनीहरूलाई ।

घर भत्किएकाले आफ्नै साथी कृष्णलक्ष्मी कारञ्जितको घरमा डेरा लिएर बस्न थाले । तर कोठा भाडा तिर्न पनि समस्या हुन थाल्यो । “भूकम्पको केही महिना त दुई हजार मासिक कोठा भाडा तिर्न पनि मुस्किल भयो हजुर हामीलाई,” उनले दुःखेसो पोखिन् ।

सञ्चारमाध्यममा निरन्तर समाचार आइरहे पनि त्यतिबेला सरकारका कुनै मन्त्री र सांसदसमेत उनको परिवारलाई भेट्न पुगेनन् । “नेताहरूलाई त जनताको माया हुँदो रहेनछ,” उनी पीडा पोख्छिन्, “भूकम्प गएको यतिका समयसम्म पनि सरकारका कोही मान्छे हामीलाई भेट्न आएका छैनन् ।”

उनीहरूले मात्र होइन, उनका आफन्त तथा इष्टमित्रले पनि घर बनाउन सकेका छैनन् । भूकम्पमा पुरिएर निकालेका उनका नजिकका ससुराको हालत पनि उस्तै छ । भूकम्पले माइतीको घर पनि भत्काएकाले उनीहरूले पनि सहयोग गर्न सक्ने अवस्था छैन ।

० ० ० छोरी डेकोचानजिकै सात कक्षामा पढ्छिन् । छोरो पनि त्यहीँ शिशु विद्यालयमा नर्सरीमा भर्ना भएको छ । छोरीलाई देशमै रहेका केही सहयोगीले सेवाका हात फैलाएका छन् । छोराको पढाइ खर्च नेपाली सेनाले बेहोर्ने वचन दिएको छ ।

“अस्ति भर्खर पनि भेट्न गएकी थिएँ । अहिले पढाउँदै गर्नूहोस् भन्नुभएको छ,” सुनाउँछिन् रश्मिला ।

भूकम्पले फिर्ता दिएको छोरो, सेनाले राम्रै स्कुलमा पढाउला नि ! हामी सुकुम्वासीले त के सपना देख्नु हजुर ? हातमुख जोर्नै त धौ धौ छ,” फेरि सुँकसुँकाइन् उनी ।

० ० ० “भूकम्पको दुई महिनासम्म बाबु अँध्यारोमा जान डराउँथ्यो,” रश्मिला भन्छिन्, “अहिले त त्यस्तो छैन, दायाँ तिघ्रामा खत बाहेक शरीरमा अरू चोटका खत पनि छैनन् ।”

छोरीमा पनि कुनै समस्या छैन । पुरिँदा खुट्टामा सानो चोट भए पनि त्यो निको भइसकेको छ तर आफ्नै मनमा भने भूकम्पले दिएको चोट र पीडा दूर भएको छैन । अन्तिममा उनले भनिन, “सञ्चारमाध्यमले निरन्तर पछ्याइरहेको र चर्चाको विषय बनेको हाम्रो परिवारको त यस्तो हविगत छ भने दूरदराजका पीडितको अवस्था के होला ? भूकम्पको घाऊ कहिले खाटा बस्लान् ? त्यसकारण सरकारले सबै काम भूकम्पपीडितलाई हेरोस् ।”

१२ खरी डटकम बाट साभार

तपाईको प्रतिक्रिया