काठमाडौं । आसन्न एकदिवसीय विश्वकप क्रिकेटको उद्घाटन खेलमा घरेलु टोली ईङल्याण्ड र साउथ अफ्रिका भिड्ने भएका छन् ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्शिल आईसीसीले आज सार्वजनिक गरेको ड्र अनुसार प्रतियोगिताको उद्घाटन खेलमा आयोजक र साउथ अफ्रिका भिड्ने तय भएको हो । विश्वकप क्रिकेट सन् २०१९ को मे ३० देखि १४ जुलाईसम्म हुनेछ । दि ओभल क्रिकेट मैदानमा उद्घाटन हुने प्रतियोगिताको फाईनल भने लर्ड्समा हुने छ ।

लड्समा यसअघि चारवटा विश्वकप क्रिकेटको उपाधि भिडन्त भईसकेका छन् । आईसीसीको बरियतामा रहेका आठ र छनोटबाट २ गरी १० टोलीले एकदिवसीय विश्वकपमा प्रतिस्पर्धा गर्नेछन् ।

लिग चरणका खेलहरु आईसीसीले सन् १९९२ मा निर्माण गरेको सबैले सबैसँग प्रतिस्पर्धा गर्ने फर्मेटमै खेलाइने भएको छ । ईङल्याण्ड र वेल्सले संयुक्त रुपमा आयोजना गर्ने एकदिवसीय विश्वकप क्रिकेट ११ स्टेडियममा हुने आइसीसीले जनाएको छ ।

वरियताको शीर्ष आठमा रहँदै अष्ट्रेलिया, ईण्डिया, साउथ अफ्रिका, ईङल्याण्ड, पाकिस्तान, न्युजिल्याण्ड, श्रीलंका र बंगलादेशले स्वत विश्वकपको टिकट काटेका थिए भने वेष्ट ईण्डिज र अफगानिस्तानले छनोट चरण पार गरी विश्वकपमा स्थान बनाएका हुन् । ४६ दिनसम्म चल्ने विश्वकप क्रिकेटमा ९ जुलाईबाट सेमिफाईनल चरण सुरु हुनेछ । यसपटकको विश्वकप क्रिकेटमा कुल ४८ खेल हुने आईसीसीले जनाएको छ ।

तपाईको प्रतिक्रिया