लाहान । प्रदेश–२ सरकारले चलाएको बेटी पढाउ, बेटी बचाउ अभियानलाई सरकारकै एक राज्यमन्त्रीले चुनौती दिँदै आफ्नै खर्चमा वालविवाह गरिदिएका छन् । आफैँ उपस्थित भएर डोम समुदायको बालिकाको विवाह गराइदिएका ती राज्यमन्त्रीको अधिकारकर्मीहरूले राजीनामा माग गरेका छन् । यो समाचार आजको सौर्य दैनिकमा प्रकाशित छ।

मधेसका दलित समुदायमा चेतनाको अभाव हुँदा आफ्ना कलिला सन्तानहरूको विवाह गरिदिने चलन रोगको रूपमा रहेको छ । यस्तैमा प्रदेश–२ का एक राज्यमन्त्रीले नै दलित समुदायमा ठूलो समस्याको रूपमा रहेको बालविवाह रोक्नुको साटो आफ्नै खर्चमा स्वयं उपस्थित भएर दलित किशोरीको विवाह गराइदिएपछि खैलाबैला मच्चिएको छ ।

प्रदेश–२ का उद्योग पर्यटन, वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डलले सम्पूर्ण खर्च तिरेर सिरहामा डोम समुदायका १४ वर्षीया किशोरीको विवाह गराएका हुन् । राज्यमन्त्री मण्डलले कल्याणपुर नगरपालिका–३ प्रसाहीका कुशे मल्लिक डोमकी छोरी राधा मल्लिकको विवाह आफ्नै खर्चमा यही मंगलबार राती गराएका हुन् । आर्थिक अवस्था कमजोर रहेको र जन्तीलाईसमेत स्वागत गर्न नसक्ने अवस्थाका कारण सम्पूर्ण खर्च तिरेर विवाह गराइदिएको राज्यमन्त्री मण्डलका सहयोगी रमेश मण्डलले जानकारी दिएका छन् ।

राज्यमन्त्री मण्डलले विवाहमा दुलही राधाको अविभावकको जिम्मेवारी निभाए । वडाध्यक्ष अशोक मण्डलको संयोजकत्वमा भएको उक्त विवाहमा दुलहा–दुलहीलाई राज्यमन्त्री मण्डलले आर्शिवाद दिँदै आफूले गरिब–धनी र छुवाछुतको अन्त्यको सन्देश दिन राधाको विवाहको खर्च बेहोरेको बताए । सिरहा–५ बाट प्रदेश सभासद्को चुनाव जितेका मण्डल राजपाको सहमाहासचिव पनि हुन् ।

‘२० वर्षभन्दा कम उमेरमा विवाह गराइदिनु कानुन विपरीत हो । नियम कानुनको कार्यान्वयन गर्नुपर्ने मन्त्रीले कानुनको खिल्ली उडाउँदै बालविवाह गराउँदै हिँड्नु लज्जास्पद हो,’ दलित अधिकारकर्मी तथा पुराना वामपन्थी नेता शिवकुमार महराले भने, ‘ती बालिकाको विवाहमा गरेको खर्च उनको पढाइलेखाइ वा कुनै सीपमूलक तालिममा लगानी गरिदिएको भए राम्रो हुन्थ्यो ।’

मन्त्रीको राजीनामा माग – यसैबीच सिरहाका अधिकारकर्मीले दलित बालिकाको विवाह गराइदिने राज्यमन्त्री मण्डलको राजीनामा माग गरेका छन् । अधिकारकर्मी बिनोद बिशुंखेले जानाजान बालविवाह गराइदिने मन्त्री मण्डलले तत्काल राजीनामा दिनुपर्ने बताए । बिशुंखेले भने, ‘बालविवाहलाई कानुनले स्वतः गैरकानुनी भनेको छ, गैरकानुनी काम गर्दै हिँड्ने राज्यमन्त्रीसँग प्रदेश सरकारले तत्काल राजीनामा माग्नुपर्छ । र, पार्टीले पनि उनलाई तत्काल कारबाही गर्नुपर्छ ।’

कारबाही हुन्छः माहासचिव – राज्यमन्त्री मण्डलले वालविवाह गराइदिएको आफ्नो जानकारीमा आए पनि केटीको उमेर आधिकारिक रूपमा पुष्टि नभएको राजपाका माहासचिव मनिष सुमनले बताए । यदि केटीको उमेर २० वर्ष नकटेको भए पार्टीले छानबिन गरेर मण्डललाई कारबाही गर्छ, यसमा सबैजना ढुक्क भए हुन्छ, सञ्चारकर्मीसँग कुरा गर्दै माहासचिव सुमनले बताए ।

तपाईको प्रतिक्रिया