काठमाडौं – अभिनेत्री सोनाली सहगलले बलिउडमा कास्टिङ काउचबारे अचम्मको खुलासा गरेकी छिन् । सन् २०११ मा प्रदर्शन भएको प्यारका पन्चनाम फिल्मबाट डेब्यु गरेकी सोनालीले आठ वर्षमा जम्मा ६ वटा फिल्ममा अभिनय गरेकी छिन् । सोनालीले हालै एक अन्तर्वार्तामा एकजना फिल्म निर्देशकले आफूलाई बडी सर्जरी गर्न सुझाब दिएको बताएकी छिन् । नयाँ पत्रिकामा खबर छ । उनले ती निर्देशकले आफूलाई एउटा सानदार भूमिकाका लागि अफर गरेको, तर त्यसका लागि उनले आफ्नो शरीरको नमिलेका केही भाग सर्जरी गरेर मिलाउनुपर्ने सर्त राखेको उल्लेख गरेकी छिन् ।

‘म निकै भावुक खालकी केटी हुँ,’ उनले भनिन्, ‘म जे छु, त्यसमै हुन्छ भने फिल्म गर्छु । मलाई सर्जरी गरेर काम गर्ने मन छैन भनिदिएँ ।’ आफूले सर्जरी गर्न नमानेपछि ती निर्देशकले फिल्ममा नलिएको उनले बताइन् । फिल्म फुत्किएपछि म धेरै दिन रोएँ,’ उनले भनेकी छिन्, ‘त्यसपछि आफूले आफैँलाई सम्हालेँ । अहिले सम्झँदा लाग्छ, मैले त्यतिवेला सही निर्णय गरेकी थिएँ ।’ धेरै फिल्म नखेलेपछि सामाजिक सञ्जालमा सोनालीका फ्यान भने निकै छन् । फिल्ममा आउनुअघि उनले केही म्युजिक भिडियोमा अभिनय गरेकी थिइन् ।

तपाईको प्रतिक्रिया