काठमाडौँ — शत्तिशाली चक्रवात ‘फानी’ नेपाल नआए पनि त्यसको प्रभावबाट शुक्रबार बेलुकीदेखि पूर्वी र मध्य क्षेत्रमा हावाहुरी, मेघ गर्जन र चट्याङसहित वर्षा हुने देखिएको छ । हावाहुरीसँगै भारी वर्षाको सम्भावना भएकाले सतर्क रहन मौसमविद्ले आग्रह गरेका छन् ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलका अनुसार अहिले फानी बंगालको खाडीको मध्य पश्चिमी भागमा अवस्थित छ । यो अहिले बंगालको खाडीबाट करिब दुई सय किलोमिटर प्रतिघण्टाको वेगमा भारतको उडिसातिर बढिरहेको छ । भारतका आन्ध्र प्रदेश र तामिलनाडु राज्यमा पनि उच्च सतर्कता कायम गरिएको छ ।

उडिसास्थित मौसम केन्द्रका अनुसार उक्त राज्यका कम्तीमा ११ जिल्ला फानीबाट प्रभावित हुनेछन् । भारतमा विपद् व्यवस्थापन निकायले परिस्थिति विकराल हुने भन्दै पूर्वी भारतको सबै तटवर्ती क्षेत्रका बासिन्दालाई सतर्क हुन र सुरक्षित स्थानमा बस्न आग्रह गरेको छ ।

‘फानी विस्तारै उत्तर–पूर्वी दिशातर्फ बढिरहेको छ,’ मौसमविद् पौडेलले कान्तिपुरसित भने, ‘शुक्रबारबाट यो प्रणाली उडिसाको तटीय क्षेत्रमा भित्रिने सम्भावना देखिन्छ ।’ त्यो त्यहाँको तट हुँदै बंगलादेशतर्फ फर्कनेछ । फानी फर्कने क्रममा नेपालको पूर्वी भागमा असर पार्ने देखिएको हो । उक्त प्रणाली तटीय क्षेत्र (जमिनमा) आएपछि भने शक्ति घट्नेछ ।

महाशाखाका अनुसार उक्त प्रणाली भारतको विहार हुँदै विराटनगर वा त्यस आसपासबाट शुक्रबार नेपाल भित्रिने देखिएको छ । ‘त्यो प्रणालीसँगै घुमेर आएको बादलले नेपालमा असर निम्त्याउने हो,’ मौसमविद् पौडेलले भने, ‘शनिबारसम्मै हावाहुरीसहित भारी वर्षा र हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ ।’ पूर्वी नेपालको हिमाली भूभागमा पनि मध्यदेखि भारी हिमपातको सम्भावना रहेकाले सतर्क रहन महाशाखाले भनेको छ । भारतको विहार, भुटानमा समेत यसले असर निम्त्याउने देखिएको छ ।

२०७१ को कात्तिकमा भिक्रिएको ‘हुदहुद’ नामको चत्रवातका कारण अन्नपूर्ण संरक्षण क्षेत्रमा ठूलो मानवीय क्षति भएको थियो । त्यसलगत्तै ‘निलोफर’ नामको चक्रवातले पनि नेपालमा असर पुर्‍याएको थियो ।

पोखराबाट सुरु भएको शक्तिशाली हावाहुरीले एक महिनाअघि बारा र पर्सामा ठूलो धनजनको क्षति भएको थियो । शक्तिशाली रूपमा देखा परेको उक्त हावाहुरीलाई जल तथा मौसम विज्ञान विभागले ‘टोर्नेडो’ भनेको छ ।

मुलुकको पश्चिमी क्षेक्रमा शुत्रबार पश्चिमी वायुको प्रभाव हुने भएकाले केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावनासमेत देखिन्छ । महाशाखाले आइतबारदेखि देशभर मौसममा क्रमिक रूपमा सुधार आउने उल्लेख गरेको छ । कान्तिपुर

तपाईको प्रतिक्रिया