काठमाडौं, वैशाख २० । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्यवृद्धि गरेको छ । हवाई इन्धन र खाना पकाउने एलपी ग्यासको हकमा खुद्रा बिक्री मूल्य यथावत् राखिएको निगमले जनाएको छ ।

निगमकाअनुसार बिहीबार राति १२ बजेदेखि बढेको मूल्य लागू हुनेछ । पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ ५० पैसा तथा डिजेल र मट्टितेलमा १/१ रुपैयाँ मूल्य बढेको छ ।

काठमाडौंको नयाँ खुद्रा बिक्री मूल्य पेट्रोल प्रतिलिटर १११ रुपैयाँ ५० पैसा तथा डिजेल र मट्टितेलको मूल्य रु ९८ कायम भएको निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए ।

अन्तर्राष्ट्रिय बजारमा पट्रोलियम पदार्थको मूल्य उल्लेख्यरुपमा बढेकाले मूल्य बढाउनुपरेको गोइतले बताए । अमेरिकी डलरको तुलनामा नेपाली र भारतीय मुद्राको अवमूल्यन भएकाले इन्डियन आयल कर्पोरेसनबाट १ मे २०१९ मा मूल्य बढेर आएको निगमले जनाएको छ ।

तपाईको प्रतिक्रिया