काठमाडौं । भारतको पूर्वी तटतिर बढ्दै समुद्री आँधी फानी, ले कहर मच्चाउने डरसंगै भारतले उच्च सतर्कता बढाएको छ । फानीले नेपालमा पनि प्रभाव पर्न सक्ने भएको छ । शक्तिशाली समुद्री आँधी फानीले भारतको तटवर्ती राज्य ओडिशामा शुक्रवार बिहान प्रहार गर्ने भएको छ । बङ्गालको खाडीमा बनेको सो समुद्री आँधी झन्डै २०० किलोमिटर प्रतिघण्टाको वेगले अघि बढिरहेको छ ।

आँधीको प्रभावले त्यहाँ वर्षा हुन थालेपछि उच्च सतर्कता बढाइएको हो । भारतको मौसम विभागका अनुसार स्थानीय समयानुसार बिहान आठ बजेदेखि १२ बजेभित्र फानीले ओडिशाको पुरीमा हान्नेछ। फानीको सम्भावित मार्गमा पर्ने स्थानबाट झन्डै आठ लाख मानिसलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ ।

नेपालको मौसम पूर्वानुमान महाशाखाले सो समुद्री आँधी नेपालनजिकै पूर्वोत्तर भारतबाट बाङ्ग्लादेशतिर जाँदा कमजोर हुने भए पनि त्यसको केही प्रभाव नेपालमा पर्न सक्ने भएकाले उच्च सतर्कता बढाउन आग्रह गरेको छ । सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । ओडिशाको तटीय क्षेत्रमा बिहीवार रातिदेखि विमान उडान र रेलसेवा बन्द गरिएको छ।

समुद्री आँधीबाट प्रभाव पर्ने स्थानका दुईवटा ठूला बन्दरगाह पनि बन्द गरिएको छ। आन्ध्र प्रदेश र तामिलनाडूमा उच्च सतर्कता अपनाइएको छ। सन् २०१७ मा त्यस क्षेत्रमा आएको समुद्री आँधीका कारण २०० जनाको ज्यान गएको थियो। अहिलेको आँधि २० वर्ष यताकै ठूलो भनिएको छ ।

भारतीय जलसेनाले उद्धार र राहतकार्यका लागि सो क्षेत्रमा युद्धमा प्रयोग हुने सातवटा पानीजहाज, छवटा विमान र सातवटा हेलिकप्टर तयारी अवस्थामा राखेको छ। फानी र पश्चिमी वायुको प्रभाव शनिवारपछि कमजोर हुने र आइतवारदेखि मौसम सफा हुने मौसम महाशाखाको पूर्वानुमान छ।

तपाईको प्रतिक्रिया