डोटीमा विहिवार परेको हावाहुरी र चट्यागंले गोठमा रहेका गाई मरेका छन् । डोटीको सायल गाउँपालिका–१ छपालीमा चट्याङ लागेर दुई गाई मरेका हुन् । बिहीबार दिउँसो करीब ४ बजेतिर छपालीको बिनेवाडा टोलका किशन नेपालीको गोठमा चट्याङ परेको हो । गोठमा खसेको चट्याङले उनको गोठमा रहेका दुई गाई मरेको बताइएको छ । इलाका प्रहरी कार्यालय मौवा डोटीले कमजोर आर्थिक अवस्थाका कृषक नेपालीका ब्याउने तयारीमा रहेका दुई गाई मरेपछि ठूलो क्षति व्यहोर्नुपरेको जनाएको छ ।

घटनाबारे स्थानीय प्रहरीलाई खबर गरिसकेको भए पनि भौगोलिक हिसाबले अलि टाढा रहेकाले प्रहरी विहिवार पुग्न सकेन । शुक्रवार पुगेर मात्र प्रहरीले स्थलगत मुचुल्का तयार गर्ने जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक लालबहादुर धामीले बताए । चट्याङबाट गोठको भित्तासमेत भत्किएको र मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । बिहीबार जिल्लामा ठूलो हावाहुरीसँगै वर्षात् भएको थियो ।

तपाईको प्रतिक्रिया