काठमाडौं, २१ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रवार नीति तथा कार्यक्रम प्रस्तुत गर्दा मेरो सरकार भनेर सम्बोधन गरेपछि काँग्रेस नेता गगनकुमार थापा कटाक्ष गरेका छन् । उनले राष्ट्रपतिले नेपाल सरकारलाई मेरो सरकार भनेकोमा आपत्ती जनाउँदै कटाक्ष गरेका हुन् ।

थापाले आफू जनताको सरकारको नीति तथा कार्यक्रम सुन्न संसदमा आएको भए पनि राष्ट्रपतिले आफ्नो नीजि सरकारको कार्यक्रम घोषणा गरेको भन्दै व्यङ्ग्य गरे । उनले संसदमा सरकारको नभएर राष्ट्रपतिको नीति तथा कार्यक्रम सुन्न आएजस्तो भान भएको बताउँदै नेपाल सरकारको नीति कार्यक्रम सुन्न कहाँ र कहिले आउने हो ? भनेर प्रधानमन्त्रीलाई प्रश्न गरेका छन् । ‘म त नेपाल सरकारको (जनताको सरकार) नीति तथा कार्यक्रम सुन्न संसदमा उपस्थित भएको, यहाँ त राष्ट्रपतिज्यूबाट महामहिमज्यू को निजी सरकारको कार्यक्रमको पो घोषणा भइरहेको छ’, थापाले ट्वीट गर्दै भनेका छन्, प्रधानमन्त्री ज्यू,नेपाल सरकारको नीति तथा कार्यक्रम सुन्न कहाँ, कहिले आउँ होला ?’

राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दा नेपाल सरकारलाई ‘मेरो सरकार’ शब्दले सम्बोधन गरेकी थिइन् । यसअघि काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पनि उक्त विषयलाई लिएर राष्ट्रपतिको आलोचना गरेका थिए । उनको सो शब्दवारे अहिले सामाजिक सञ्जालमा पनि चर्काे आलोचना भइरहेको छ ।

तपाईको प्रतिक्रिया