काठमाडौं । छोरा बेपत्ताको पीडा सहन बाध्य भएकी मात्रिकाले पति वियोगको पीडालाई स्वीकार्नु परेको छ । धन कमाउने सपना बोकेर बिदेशिएका श्रीमानबारे अप्रिय समाचार सुन्नु पर्ला भन्ने कत्ति लागेको थिएन उनलाई । कमजोर आर्थिक अवस्था, छोराछोरीको लालनपालनका लागि पनि उनले श्रीमानलाई रोक्न सकिनन् । तर, अकस्मात श्रीमान बितेको खबरले मात्रिकाको संसार गर्लाम्मै ढलेको छ ।

भद्रबहादुर खतिवडा एक वर्ष अगाडि साउदी अरेबियाको जेद्दाहमा रहेको ग्यास फ्याक्ट्रीमा काम गर्न गएका थिए । जम्माजम्मी दुई वर्षको भिसामा खाडी पसेका उनी एक वर्षमै भगवानको प्यारो भएको खबर मात्रिकाले पाएकी छन् । तर, उनलाई यसमा कत्ति विश्वास लागेको छैन ।

गत फागुन २७ गते राती खाना खाएर सुतेका भद्रबहादुर फेरि कहिल्यै नउठ्नेगरी अस्ताएको खबर उनका साथीले मात्रिकालाई सुनाएका छन् ।अघिल्लो दिनमात्रै उनको र मात्रिकाबीच फोनमा कुराकानी भएको थियो । पछिल्ला केही महिनादेखि पैसा पठाउन नसेका उनले श्रीमतीलाई धेरै चिन्ता नगर्न भन्दै ढाडस दिएका थिए । धेरै चिन्ता नगर, कसैलाई दुःख देखाएर नहिँड, म सबै मिलाउँछु, श्रीमानको भनाइ उदृत गर्दै मात्रिका भन्छिन् ।

तर, भोलिपल्ट उहाँको साथीको फोन आयो, सोच्दै नसोचेको खबर सुन्नुपर्यो, मात्रिकाका आँखा रसाए । हृदयघातबाट निधन भएको भनिएका पर्सा जिल्लाको बिरुवागुठी निवासी भद्रबहादुरको शव भने अझै नेपाल आइपुगेको छैन । त्यो खबरपछि उनको मोबाइलमा सम्पर्क नभएको र उनको फेसबुक समेत निष्क्रिय रहेको मात्रिका बताउँछिन् ।

निधन भएको भए श्रीमानको सव झिकाइदिन गुहार माग्दै मात्रिका यतिबेला काठमाडौं आएकी छन् । तर, सरोकारवाला निकायको त्यति बलियो साथ उनले पाएकी छैनन् । उनी अहिले आशा एचफोर फाउण्डेसनको शरणमा पुगेकी छन् । फाउण्डेसनकी संस्थापक आशा लामा मात्रिकाको श्रीमानको मृत्यु भएको पुष्टि भए सव झिकाउन पहल गर्ने बताउँछिन् ।

तपाईको प्रतिक्रिया