कपिलवस्तु । चलचित्र क्षेत्रमा महानायकको उपाधी पाएको अभिनेता राजेश हमाल ‘बच्चाको बाबु’ बनेका छन् । उनी आफ्नै सन्तानको बाबु नभएर बुद्धभूमी नगरपालिका २ गोरुसिंगे कपिलवस्तुका एक बालकको विद्यालय भर्ना गराएर अभिभाकत्व लिएका हुन् ।

नायक हमालले बुद्धभुमी नगरपालिका २ गोरुसिंगे स्थित गौतम बुद्ध उच्च मा.वि.मा ५ बर्षिय राज थारुलाई कक्षा १ मा भर्ना गरेका हुन् । हमालले बुद्धभूमी नगरपालिका तथा जिल्ला प्रशासन कार्यालय शिक्षा विकास तथा सम्मन्वय ईकाई कपिलवस्तुको समन्वयमा अभिभावक बनी भर्ना गरेका हुन ।

नायक हमालले यो आफ्नो जीवनको पहिलो अनुभव भएको बताए । ‘मेरो पहिल्यै देखि चाहना पनि थियो । यसपटक नेपाल सरकारको नीतिले आफूलाई ठुलो अवसर जुटायो’ हमालले भने । ‘राजप्रति मेरो धेरै चासो हुनेछ , म उसलाई पटक पटक विशेष महत्वका साथ हेर विचार गर्नेछु’ हमालले भने, ‘उसले पिता गुमाएको रहेछ, गरिब परिवारमा जन्मिएको छ, म उसलाई असल अभिभावकत्व प्रदान गर्नेछु ।’

विद्यालयको भर्ना रजिस्टरमा अभिभावकको रुपमा हस्ताक्षर गर्दै उनले बालक राजलाई झोला, पाठयपुस्तक र स्टेश्नरी सामाग्री वितरण गरेका थिए । बालकको लालन पोषणको लागि केही रकम समेत प्रदान गरेका थिए ।

तपाईको प्रतिक्रिया