काठमाडौँ । समयमा ठेक्का पुरा नगरेर सरकारलाई झुलाउने ठेकेदारलाई पक्राउ गरेर गृहमन्त्री थापाले आफ्नो बोलीको प्रमाण दिएका छन् । थापाले ठेक्का लिएर समयमा काम सम्पन्न नगर्ने ठेकेदारलाई कारवाही गर्ने बताएको भोलीपल्टै एक्सन थालेका छन् । प्रहरीले शुक्रवार ठेक्का लिएर काम सम्पन्न नगर्ने एक जना निर्माण ब्यवसायीलाई पक्राउ गरेको छ । सिरुवा कन्सट्रक्सन कम्पनीका व्यवसायि सुरेन्द्र बस्नेतलाई प्रहरीले शुक्रवार पक्राउ गरेको हो ।

पृथ्वी राजमार्गको कास्कीस्थित गगनगौँडा देखि लेखनाथ नगरपालिकासम्मको १४ सय ७४ मिटर सडक १५ महिनामा सम्पन्न गर्नुपर्ने भए पनि उनले सो समयमा सम्पन्न नगरेका कारण उनलाई पक्राउ गरिएको हो ।

उनलाई जिल्ला प्रशासन कार्यालयको निर्देशनमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

बस्नेतले सडक स्तरउन्नतिको लागि २ करोड ४४ लाख रुपैयाँमा ठेक्का लिएका थिए। गृहमन्त्रालयले विकासका काममा लापरवाही गर्ने ठेकेदारलाई कारवाही गर्न देशभरका जिल्ला प्रशासन कार्यालयलाई ठेकेदारको नामलिस्ट पठाउन निर्देशन समेत दिएको छ ।

पक्राउ परेका बस्नेतलाई समयमा नै काम सक्ने लिखित कागज गराएर छोड्ने तयारी भइरहेको छ। समयमा नै ठेक्का सम्पन्न नगर्ने ठेकेदारलाई पक्राउ गर्न गृहमन्त्री रामबहादुर थापाले निर्देशन दिएका थिए।

 

तपाईको प्रतिक्रिया