चितवन । वर्ष २०१८ को इण्डियन प्रिमियर लिग (आईपीएल)मा दिल्ली डेयरडेभिल्सबाट खेल्नका लागि बोलकबोलबाट छानिएका नेपाली उदयीमान क्रिकेटर सन्दीपका बाबु आमाले उनको कडा मिहिनेत नै सफलता भएको छन् ।

उनको रत्ननगरको सौराहा नजिक रहेको बाघमारा टारमा पुगेर कुराकानी गर्दा चन्द्रनारायण ती दिन सम्झिदै भन्छन्, “उसले देखेका सपना र चाहना पूरा भएको छ, यसले हाम्रो खुसीको सीमा छैन ।” सन्दीपको चर्चा यसपालिको बोलकबोल (अक्सन) मा परेदेखि नै हुन थालेको थियो । दिल्लीले किनेपछि झनै बढेर गयो । यसकै कारण उनका परिवार मात्रै होइन, सारा नेपालीले उनको प्रशंसा गर्दै गौरव महसुस गरिरहेका छन् ।

पढाइभन्दा बढी लगाव उनले क्रिकेटमा दिन्थे पहिलेदेखि नै । तर, पढाइमा पनि बाबुआमालाई जनाएको प्रतिबद्धता भन्दै बढी नै अंक सन्दीपले ल्याउँथे । “सानो उमेर भएकाले पढाइलाई बढी प्राथमिकता दिनुपर्छ भनेर केही हस्तक्षेप गथ्र्यौं”, बाबु चन्द्रनारायणले भने, “तर क्रिकेटमा बढी लगाव रहेकाले हामीले कहिल्यै उसको विपरीत गरेनौं, पढाइसँगै क्रिकेटलाई पनि अघि बढाउँदै लैजान्थ्यो ।”

स्याङ्जाको आरुचौरमा जन्मिएका सन्दीप करिब चार पाँच वर्ष त्यहीं बसे । बाबुको जागिर भारतमा रहेकाले पछि उनका परिवार उतै लाग्यो । सन्दीपका बाबु भारतीय रेल्वे स्टेशनमा काम गर्थे । सन्दीपले सात कक्षासम्म भारतमै अध्ययन गरे । भारतमा रहँदा पनि क्रिकेटलाई आफ्नो जीवन ठान्दै लगाव झनै बढाउँदै लगे । “भारतमा विद्यालयस्तरीय प्रतियोगितामा सन्दीपले सहभागिता जनाउँथ्यो, एकेमेडीबाट पनि खेल्थ्यो”, चन्द्रनारायणले सम्झे । सन्दीपको चाहनाबमोजिम उनी भारत छाडेर स्वदेश फर्किए । दिदी भिनाजुको घर नवलपरासी देवचुलीमा आएर अध्ययन सुरु गरे । यहाँ आएपछि अध्ययन भन्दा बढी क्रिकेटमा उनको रुचि बढ्दै गयो । दिदी भिनाजुले पनि साथ दिए ।

सन्दीप प्लस टु उत्तीर्ण छन् । अध्ययनकै क्रममा देवचुलीबाट नारायणगढ आई उनले प्रशिक्षण लिन सुरु गरे । नारायणगढमा चितवन जिल्ला क्रिकेट संघ र अध्यक्ष कैलाश प्रधानको सहयोगमा चितवन क्रिकेट एकेडेमीमा प्रशिक्षण सुरु गरे । प्रशिक्षक राजु खड्काले उनलाई सिकाउन थाले ।

सन्दीपको खेललाई नियालेका नेपाली क्रिकेटका तत्कालीन प्रशिक्षक पुवुदु दसानायकेले काठमाडौं लगी अभ्यास गराए । सुरुमा अण्डर नाइन्टिनमा सहभागिता जनाएका सन्दीपले चामत्कारिक प्रदर्शन गर्दै गए । उनले सन् २०१६ मा राष्ट्रिय टोलीमा सहभागिता जनाउने मौका पाए ।

क्याम्पमा रही उत्कृष्ट बलिङ प्रदर्शन गरेपछि बंगलादेश यु–१९ विश्वकप २०१६ खेल्ने टिममा सन्दीप छनौट भएका थिए । यु–१९ विश्वकप २०१६ मा सन्दीप प्रतियोगिताकै सर्वा्धिक विकेट लिने सूचीमा १४ विकेटसहित दोस्रो स्थानमा थिए । आईसीसीले सन्दीपलाई उक्त यु–१९ विश्वकपको उत्कृष्ट ११ क्रिकेटरको सूचीमा समेत परेका थिए । सन्दीपले बंगलादेश यु–१९ विश्वकप २०१६ मा आयरल्याण्डसँग ह्याट–ट्रिकसहित ५ विकेट लिएका थिए ।

कम उमेरमा राष्ट्रिय टोलीमा पर्ने सन्दीप कान्छा खेलाडी हुन् । राष्ट्रिय टोलीमा परेर अन्तर्रा्ष्ट्रियस्तरको प्रतियोगितामा समेत उनले आश्चर्यजनक प्रदर्शन गर्दै गएका छन् । हेरौँ उनका बुबा र आमासगँ गरिएको विशेष कुराकानी :

तपाईको प्रतिक्रिया