काठमाडौं । चलचित्र निर्माता संघले नक्कली नेपाली रुपैयाँ सहित पक्राउ परेका फिल्म निर्माता एवम् वितरण माधवराज वाग्लेलाई बचाउन चलखेल सुरु गरेको छ । विशेष गरेर निर्माता संघका महासचिव सरोज थापा उर्फ रोज राणा वाग्लेलाई बचाउन सक्रिय भएका हुन् । रोजले अदालतमा सेटिङ मिलाई वाग्लेलाई जोगाउन लागि परेको थाहा पाएपछि प्रहरीले रोजमाथि पनि निगरानी बढाएको छ । विभिन्न आपराधिक काण्डमा नाम जोडिएका कारण बेला–बेलामा पक्राउ पर्ने गरेका रोजले वाग्लेलाई जोगाउन शक्ति केन्द्र धाउन थालेको स्रोतले जनाएको छ । रोजले तत्कालीन एमाले र माओवादी केन्द्रका नेताहरूलाई भेटेर प्रहरीमा सेटिङ मिलाउन दवाव दिने गरेका छन् ।आफै प्रहरी प्रशासनको निशानामा रहेका राणाको क्रियाकलापले प्रहरी समेत हैरान बनेको छ । रोजले विज्ञप्ति जारी गरेर रङ्गेहात पक्राउ परेका वाग्ले निर्दोष रहेको दाबी गरिसकेका छन् ।

वाग्ले सहित ६ जनालाई प्रहरीले २ करोड ६० लाख नक्कली नेपाली नोटसहित पक्राउ गरेको थियो । उनीहरू प्रहरीको हिरासत छन् । प्रहरीले वाग्लेसहित महेन्द्र वोगटी, सुजित तामाङ, साजन तामाङ, प्रकाश सुवेदी, विकेश नापितलाई पक्राउ गरेको थियो । उनीहरूलाई काठमाडौंको कमलपोखरी, ललितपुरको लुभु, चारढुङ्गे, चावहिल, बागबजार र गोंगबुबाट पक्राउ गरिएको थियो । काठमाडौं महानगरपालिका १ चारढुङ्गेस्थित प्रिनसेस मुभिज प्रालिका सञ्चालक वाग्लेको कोठाबाट मात्र १ हजार दरका २ करोड ५२ लाख नक्कली नेपाली रूपैयाँ बरामद भएको हो ।

होटल रेष्टुरेन्टमा पैसा तिर्न, यौनकर्मीलाई प्रयोग गर्न, जुवा खेल्न, लागूऔषध कारोबार गर्न तथा सक्कलीमा मिसाएर उनीहरूले बजार पु-याउने गरेको काठमाडौं प्रहरीका प्रमुख विश्वराज पोखरेलले बताएका थिए ।कुनै समय प्रहरी इन्काउण्टरमा मारिएका दिनेश अधिकारी ‘चरी’का सहयोगी जोदा लामाले सिक्किमबाट सुपारी दिएर रोजमाथि आक्रमण गरेका थिए । त्यसको कारण थियो, चरीसँग लिएको झण्डै ३० लाख रकम रोजले फिर्ता नगर्नु । जोदा चरीका सहयोगी थिए । गुण्डाहरुलाई अदालतमा सेटिङ मिलाउने नाममा रकम असुल्ने रोजले चरी पछि रमेश बाहुनसँग पनि पैसा असुलेको प्रहरी रेकर्डमा उल्लेख छ । यूनाइटेड पोष्ट साप्ताहिकले समाचार छापेको छ ।

कुनै समय गुण्डागर्दीमा समेत संलग्न रोज पछिल्लो समय नेपाली कांगे्रसको राजनीतिमा लागेका छन् । डान्स रेष्टुरेन्ट सञ्चालकबाट चलचित्र निर्माता हुँदै नेपाली फिल्मका नायक बनेका रोज राजधानीमा गुण्डाको एजेन्टका नामले चिनिन्छन ।रोजले प्रहरीको सूचना गुण्डालाई र गुण्डाका सूचना प्रहरीलाई दिंदै आएका छन् । डान्स रेष्टुरेन्ट सञ्चालन गर्दा युबतीलाई नाङगो नृत्य जर्वजस्ती गर्न लगाएपछि रमेश खरेल काठमाडौं प्रहरी प्रमुख छँदा रोजलाई चेलीबेटी बेचविखनमा मुद्दा चलाएका थिए । त्यतिखेर रोज ८ महिना जेल बसेका थिए ।

तपाईको प्रतिक्रिया